समाचार/लेखलाई सेयर गर्नुहोस् ।

कृपया यो पेज Like गर्नु होला

इलाम। वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका उम्मेदवार सुहाङ नेम्बाङलाई आँखैअघि देखेपछि चुलाचुली गाउँपालिका १ की वृद्धा हर्कमाया लावतीले अँगालो हालिन् । अँगालोमात्र हालिनन्, भावुक बनिन् र बरर्र आँसु झारिन् ।

‘तिम्रो अनुहारमा तिम्रै बुबा झल्झली देखें बाबु,’ सुहाङलाई उनले भनिन्, ‘तिम्रा बुबा (सुवास नेम्बाङ)ले यो गाउँ उज्यालो (बाटो, सडक, पुल, बिजुली, सिँचाइ) बनाउन धेरै दुुःख गर्नुभएको थियो तर पापी कालले उहाँलाई बाँच्न दिएन । उनले लगाएको गुन तिर्न पनि अब सूर्यलाई नै भोट दिन्छौं बाबु ।’

हर्कमायाले सुहाङलाई फेरि भनिन्, ‘सुवास बाबु (सुवास नेम्बाङ)ले हाम्रो गाउँमा बाटोघाटो, बिजुली, हातैमा बोकेर बोल्ने मोबाइल ल्याइदिनुभयो । गाउँमा बाटोघाटो, पुल बनाउनेमात्र होइन, चुलाचुली बस्नेलाई धनीपुर्जासमेत (जग्गाको लालपुर्जा)समेत दिलाइदिनुभयो । अहिले बाबुको गुन तिर्नलाई पनि छोरालाई भोट नहाली कहाँ हाम्रो सास जान्छ त !’

इलाम नगरपालिका–५, बरबोटेकी ७८ वर्षीया अर्की महिलाले सुहाङ मतदातासँग भेट्न घरदैलो पुगेका बेला आफ्नो छात्तीमा टाँसेर भावुक बन्दै भनिन्, ‘तिम्रा बुबा सारै मीठो बोल्ने, हाम्रो गाउँमा चुम्लुङको आपिस (चुम्लुङ भवन) बनाइदिनुभयो, हामी लिम्बूलाई मात्रै होइन, सप्पैलाई माया गर्नुहुन्थ्यो । तर, धेरै बाँच्न लेखेको रहेनछ ।’

एमाले उम्मेदवार सुहाङलाई अहिले गाउँ–गाउँमा उनकै बुबाको झल्को लागेर ‘गुन’ तिर्न तयार ज्येष्ठ नागरिकको ताँती छ । उनी इलाम नगरपालिका, चुलाचुली, गाउँपालिका, देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिका पुग्दा धेरैजसो वृद्धवृद्धाले सुहाङलाई सुवास नेम्बाङलाईझैं माया गरिरहेका छन् । मतदाता सुहाङमा बाबुकै लबज, बाबुकै शैली र स्वभाव सम्झेर सुवासको ‘गुन’ तिर्न खोज्दैछन् ।

सुवास नेम्बाङले करिब २५ वर्षजति यहाँबाट विजयी हुँदा गरेका कतिपय काम पूरा भएका छन् । कतिपय अधुरै छन् । अधुरा काम पूरा गर्न पनि अब सबैभन्दा बढी योग्य उम्मेदवार नै सुहाङ हुन् भन्ने उनको निर्वाचन क्षेत्रका धेरैजासो मतदाता बताउँछन् । उनीहरू गाउँमा विशेषगरी सडक पक्की बनाउन र बर्खामा पनि गाडी चल्ने बनाउन सुहाङलाई सुझाइरहेका छन् ।

‘तिम्रा बुबाले बिजुली नै नबलेको हाम्रो गाउँमा बिजुली ल्याएर उज्यालो बनाइदिनुभयो, पहिला कति दुःख भएको हाम्रो गाउँमा अहिले कम्तीमा पनि हिउँदमा गाडी चढ्न पाइन्छ,’ माङसेबुङका वृद्ध लाखमान लिम्बूले सुहाङलाई अंकमाल गरेर भने, ‘बर्खामा त कुन चैं गाउँमा गाडी चलेको छ र सुवासलाई मात्रै गाली गर्नु । उहाँले जति सक्नुभयो, गर्नुभएको छ । अब तिम्रा बुबाले थालेका काम पूरा गर्नू, तिमीलाई कसैले हराउँदैन ।’

स्थानीय मतदाता सुहाङलाई सुवासले धेरै काम गरेपनि अझै २ नम्बर क्षेत्रमा हुनुपर्नेजति विकास हुन नसकेको, सर्वसाधारणले दुःख पाइरहेको, बिरामी हुँदा उपचार नपाएको, कतिपय वडामा अझै बिजुली नपुगेको, यातायात सहज नभएको गुनासो पनि गरिरहेका छन् ।

तर, ती मतदाता बाँकी रहेका काम गर्न पनि सुहाङ नै सबैभन्दा योग्न उम्मेदवार रहेकाले उनैलाई जिताउन आग्रह गरिरहेका छन् । आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनमा पनि सुहाङलाई जिताउन सक्दा मात्रै क्षेत्र २ को विकासले निरन्तरता पाउने उनीहरूको आशा छ ।

फाकफोकथुमका ६२ वर्षीय गम्भीरबहादुर लिम्बू भन्छन्, ‘हुन त एमालेमा जति जनाको उम्मेदवारमा नाम आयो, सबै योग्य थिए । तर, सुहाङलाई उनका बाबुले थालेका काम पूरा गर्नेपर्ने बाध्यता छ । त्यसैले पनि सुहाङलाई नै जिताउनुपर्छ । उनी सुवासमा छोरामात्रै होइनन्, अरूभन्दा सक्षम, इमान्दार र क्षमतावान् वकिल हुन् उनी ।’

सुहाङ अहिले एमालेका मात्रै उम्मेदवार होइनन्, उनी नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टीका पनि उम्मेदवार हुन् । उनलाई विशेषगरी एमाले नेतृत्वको सरकारले सुरुआत गरेको वृद्धभत्ताको सुविधाले पनि निर्वाचन क्षेत्रका मतदाताबाट भोट जिताउने आश्वासन आइरहेको छ । एमाले नेतृत्वको सरकारले थालेको वृद्धभत्ताको सुविधा अहिलेसम्म निरन्तर रहँदा देशका हजारौं ज्येष्ठ नागरिकले बुुढेसकालमा सहज अनुभव गरिरहेका छन् ।

‘सूर्य चिह्नमा भोट लाएपछि वृद्धभत्ता खान पाइएको हो भन्ने कुरा कसैले बिर्सिनुहँुँदैन,’ देउमाई नगरपालिकाका ७४ वर्षे अर्का ज्येष्ठ नागरिकले भने, ‘अरू पार्टी जनताका अगाडि मीठा भाषण गर्ने र भुल्याउनेमात्रै हुन्, सूर्य चिह्नमा भोट हालेपछि बुढेसकालमा सुख पाइएको छ ।’

ती ज्येष्ठ नागरिकले आउँदो उपनिर्वाचनमा पनि सूर्य चिह्नमै भोट हाल्ने बताए । ‘अरूको चुनावका बेला लट्पट्याउने भाषण सुनेर त्यतै बहकिनुहुँदैन,’ उनले थपे, ‘हाम्रो ठाउँमा वैशाखको चुनाव पनि सूर्यले नै जित्छ, गाउँले सबै त्यही भन्छन् पनि ।’

इलाम क्षेत्र २ बाट लामो समय प्रतिनिधि भएका सुवास नेम्बाङ गाउँघरमा जाँदा पनि ज्येष्ठ नागरिकले उनलाई घेर्थे र भन्थे– ‘सुुर्जेमा भोट हालेपछि हामी बुढापाकालाई साह्रै सन्तोक भएको छ । यो भत्ता चैं कहिल्यै नकटाइदिनू है बाबु ।’ नेम्बाङ ती ज्येष्ठ नागरिकको आशा र आग्रहमा सहमतिमो मुन्टो हल्लाइदिन्थे ।

ती ज्येष्ठ नागरिकहरूले अहिले पनि घरदैलामा भोट माग्दै आएका सुवासपुत्र सुहाङलाई बाबुलाई जस्तै माया गरेको देखिएको छ । ‘जति नै राम्रो काम गरेपनि सधैं नराम्रो सोच्नेले राम्रोलाई पनि राम्रो भन्दैन,’ चुलाचुलीकी वृद्धा लालकुमारी लिम्बूले भनिन्, ‘बाबुले गरेका काम सक्न पनि छोरालाई यो पटक जिताउनुपर्छ, केही गरौं भन्ने मन भएका सुवासको अकालमा सास जाँदा हामी ढुक्कले निदाउन कहाँ सकेका छौं र ?’

तपाईको प्रतिक्रिया