
कांग्रेस नेता शेखर कोइरालालाई ६ सय ७५ मतान्तरमा पराजित गर्दै मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका चर्चित एमाले नेता लालबाबु पण्डितले पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राज्जा रानी’को प्रचारमा साथ दिएका छन् ।
मंगलवार ‘राज्जा रानी’ले बिराटनगर १२ स्थित स्थानीय बखरी बगैंचामा आयोजना गरेको पब्लिसिटी कार्यक्रममा मुख्य अतिथि बनेका लालबाबुले आफू मन्त्री बने फिल्मको लगानी उठाइदिने वचन दिए । फिल्मकी लिड हिरोइन केकीले नेता पण्डित आफ्नो फेवरेट लिडर रहेको बताइन् । उनले आफ्नो एक हजारको नोटमा लालबाबुको अटोग्राफ समेत लिइन् ।

अटोग्राफपछि लालबाबुले केकीको सौन्दर्यको खुलेरै तारिफ गरे भने फिल्मको गीतमा उनले केकी र नाजिरसँग कम्मर पनि भाँचे । ‘राज्जा रानी’ले उठाएको दहेज अर्थात दाइजो प्रथाको कथालाई सकारात्मक भन्दै नेता पण्डितले तराईमा व्याप्त दाइजो प्रथालाई अब बन्ने वाम सरकारले निरुत्साहित गर्न बेहुली पक्षको परिवारलाई १० हजार रुपैयाँ दिने योजना ल्याउने बताए ।
बिराटनगरदेखि सुरु भएको ‘राज्जा रानी’को मोफसल टूर बुधबार जनकपुरमा हुँदैछ । केकीसहित अभिनेता नाजिर हुसेन र भोर कम्पनीका प्रतिनिधि टोलीमा छन् । यो फिल्मसँग मिलेर ‘भोर’ले तराई र पूर्वी मधेशका जिल्लामा दाइजो र बालविवाह विरुद्ध जागरण अभियान चलाएको छ ।
यम थापाले निर्देशन गरेको यो फिल्मलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । यो फिल्ममा केकी र नाजीरका अलावा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

