काँकडभिट्टा, मोफसलकै सर्वाधिक पुरस्कार राशिको मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

कृपया यो पेज Like गर्नु होला

आज भएको फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो । जितसँगै आर्मीले रु आठ लाख एक हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

उपविजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले रु चार लाख एक हजारमा चित्त बुझायो । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएका दुवै टोलीले निर्धारित समयसम्म गोल गर्न नसक्दा निर्णयका लागि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

आर्मीका सन्तोष तामाङ, नवयुग श्रेष्ठ र विवेक बस्नेतको प्रहार मनाङका गोलरक्षक दिनेश थापा मगरले नियन्त्रणमा लिन सकेनन् । जितेन्द्र कार्कीको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो भने पदम तामाङको प्रहार विपक्षी टिमका गोलरक्षकले ‘पञ्च’ गरेर बाहिर फ्याँकिदिएका थिए ।

मनाङका विमल बस्नेत, हेमन गुरुङको मात्र प्रहार गोलमा परिणत भएको थियो । अनिल गुरुङ र निराजन मल्लको प्रहार आर्मीका विकास कुथु बचाएका थिए ।

खेलको ‘म्यान अफ दि म्याच’ आर्मीका विकास खवास घोषित भए । उनले रु १० हजार प्राप्त गरे । उदीयमान खेलाडीको उपाधि रु १० हजार आयोजकका मिलन राई, उत्कृष्ट गोल रक्षक आर्मीका विकास कुथुले रु २० हजार, उत्कृष्ट रक्षक आयोजकका भूषण राईले रु २० हजार, उत्कृष्ट मिडफिल्डर मनाङका विशाल राईले रु २० हजार उत्कृष्ट स्ट्राइकर आर्मीका भरत खवासले २० हजार, सर्वाधिक गोलकर्ता आर्मीका दिनेश हेन्जनले रु २५ हजार, प्रतियोगिताभरिको उत्कृष्ट खेलाडी मनाङका गोलरक्षक दिनेश थापा मगरले रु ५१ हजार र उत्कृष्ट प्रशिक्षक आर्मीका नवीन न्यौपानेले रु २० हजार र ट्रफि प्राप्त गरेका छन् ।

प्रतियोगिताका विजेता, उपविजेता तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापा, प्रथम पुरस्कारको सौजन्यकर्ता मेची नेत्रालयका प्रमुख डाक्टर शरदचन्द्र प्रकाश राई, जिल्ला फुटबल संघ झापाका अध्यक्ष जलकुमार गुरुङलगायतले पुरस्कार वितरण गर्नुभएको थयो ।

गत शनिबारदेखि काँकडभिट्टा माविको खेल मैदानमा सुरु भएको प्रतियोगितामा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसहित रमपम झापा–११, अग्नि रुपन्देही–११, मनाङ मस्र्याङदी क्लब, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, सुदूरपश्चिम–११ र भारत कोलकाताको सुभाष चन्द्र बोइज क्लबको सहभागिता जनाएको थियो ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया