काठमाडौं : एक दिवसीय क्रिकेटमा शीर्ष वरीयताको दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गर्दै भारत इंग्ल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ। पराजयसँगै दक्षिण अफ्रिका भने समूह चरणबाटै बाहिरिएको छ। लण्डनमा गएराति दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ९२ रनको विजयी लक्ष्य भारतले ३८ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। भारतको जितमा शिखर धवनले सर्वाधिक ७८, कप्तान विराट कोहलीले ७६ तथा युवराज सिंहले २३ रनको योगदान गरे। कोहली र सिंह दुवै अविजित गरे। प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा १२ रनमा पेबेलियन फर्किए। दक्षिण अफ्रिकाका लागि मोर्ने मोर्कल र इमरान ताहिरले १/१ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ४४ ओभर ३ बलमा अलआउट हुँदै १ सय ९१ रन जोडेको थियो। उसका लागि क्विन्टन डिककले ५३ हासिम अम्लाले ३५, फाफ डुप्लेसिसले ३६, जेपी डुमिनीले २० तथा कप्तान एबी डी भिलियर्सले १६ रन जोडे। भारतका भुवनेश्वर कुमार र जसप्रित बुम्राहले २/२ तथा रविचन्द्रन आश्विन, हार्दिक पाण्डेय र रविन्द्र जडेजाले समान १ विकेट लिए। ३ ब्याट्सम्यान रन आउट भएका थिए। सेमीफाइनल पुग्ने भारत तेस्रो टोली हो। आयोजक इंग्ल्याण्ड र बंगलादेश यसअघि नै सेमीफाइनल पुगिसकेका छन्। अब सोमबार श्रीलंका र पाकिस्तानबीचको खेलको विजेता सेमीफाइनल पुग्ने चौंथो टोली बन्नेछ। भारतले सेमीफाइनलमा समूह ए को उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

कृपया यो पेज Like गर्नु होला

Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया