उदयपुर : उदयपुरको कटारी नगरपालिकासँगै जोडिएको सिन्धुलीको दुधौली नगरपालिकामा एक युवा म्युजिक भिडियो खेल्दा खेल्दै वडा अध्यक्ष बन्न सफल भएका छन्। सिन्धुलीको दुधौली नगरपालिका ११ मा जन्मी हुर्की गरेका स्थानीय कुमार लामा वैशाख ३१ को निर्वाचनबाट जनताको जनप्रतिनिधि बन्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन्। समाजसेवामा लगनशील लामा सम्पन्न निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट सिन्धुली दुधौली नगरपालिका वडा न. ११ बाट अध्यक्षका उम्मेदवार बनेका थिए। माओवादी केन्द्रको योङ कम्युनिस्ट लिग (वाइसिएल) को हाल दुधौली नगरपालिका इन्चार्ज रहेका लामाले प्रतिद्वन्दीको भन्दा १ सय ६१ मत बढी ल्याएर वडा अध्यक्ष बनेका हुन्। ‘मेरो वडामा जम्मा ४ हजार २४ मतदता थिए भने मतदान भएको मत २ हजार ८ सय ११ मात्र हो,’ लामाले भने, ‘त्यसमा मलाई १ हजार १८ मत प्राप्त भएको थियो भने प्रतिद्वन्दी नेपाली कांग्रेसका देवबिक्रम कार्कीले ८ सय ५७ मत प्राप्त गरेका थिए।’ उनका अनुसार नेकपा एमालेका कमल पौडेलले ५ सय ४७ मत प्रप्त गरेका थिए। दुधौली ११ नम्बर वडाका कांग्रेसका कार्की र एमालेका पौडेल उमेर ५० पार गरेका उम्मेदवार भएकाले पनि ३४ वर्षे युवा लामा मतदाताको रोजाइमा पर्न सफल भएको दुधौलीका स्थानीय प्रकाश खड्काले बताए। २०४० सालमा बैशाख १ गते भारतको सिक्किममा जन्मेका म्युजिक भिडियो खेल्ने ३४ वर्षे लामाको परिचय थपिएको छ। कलाकारितामा लम्कँदै गर्दा स्थानीय राजनीतिमा प्रवेश गरेका लामा युवा जोस जाँगरमै वडा अध्यक्ष बन्न सफल भएका हुन्। हुने विरुवाको चिल्लो पात भनेझैं सानैदेखि राजनीति र कला क्षेत्रमा गहिरो रुचि राख्ने लामा  पेसाले स्वास्थ्यकर्मी हुन्। चर्चित गायिका अन्जु पन्त लोकिप्रिय गीत ‘बटुवा हो मान्छे’ गीतको बोलबाट अभियान क्षेत्रमा छिरेका लामा अहिले विभिन्न म्युजिक भिडियोमा सहायक र मुख्य भूमिकाको निर्वाह गर्दै एक दर्जनभन्दा बढी गीतमा अभिनय गरिसकेको बताउँछन्।

कृपया यो पेज Like गर्नु होला

उनले चर्चित गायक डिजराज पौडेलको ‘ठठ्टा मसकरी’ बोलको गीतमा पनि अभिनय गर्न भ्याएका छन्। लामाले गायिका तारा लामाको लोकदोहोरी गीत ‘जिउ ज्यान पनि क्याफे’ गायक राजु बराल ‘मेरो देश फेरि बन्छ’ मा सहायक भूमिकामा अभिनय गरेका छन्। यसैगरी, स्थानीय चलचित्र निर्देशक कृष्ण पौडेलले निर्देशन गरेको राजेश बोलेखेको गीत ‘तिम्ले दिएको मायाको चिनो’ लगायतमा समेत अभिनय गरेको निर्देशक पौडेलले बताए। ‘लामाले धेरै गितमा सहायक र मुख्य भूमिकामा अभिनय गरेका छन्।’ पौडेलले भने, ‘मेरो नजरमा कला क्षेत्रको अभिनय सेक्टरमा राम्रो सम्भावना बोकेका युवासमेत हुन्।  साम, दामका कारण चर्चामा  पुग्न नसके पनि कला क्षेत्रको लागि प्रतिभावन युवामा राख्दा फरक नर्पने पौडेलको दाबी छ। दुधौलीकै शनिचरे बजार व्यवस्थापन समिति अध्यक्ष रहेका लामाले गीत पनि गाउने योजना बनाएको बताए। ‘मैले म्युजिक भिडियोमा मात्र अभिनय गर्ने मनसाय बनाएको थिएँ।’ लामाले भने, ‘भोलिका दिनमा गीत पनि गाउने तयारीमा छु।’ स्नातक तहको अध्ययन पूरा गरेका लामा जनस्वास्थ्य पोलिक्लिनिकका अहेबसमेत हुन्।

बुबा प्रतापसिंह लामा र आमा पार्वती मगर लामाको कोखबाट जेष्ठ सुपुत्रको रुपमा जन्मिएका लामा अहिले राजनीति र कला क्षेत्रमा संघर्ष गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेकपालका सिन्धुली दुधौली नगरपालिका ११ का वडा अध्यक्षसमेत बनेका छन्। लामाको वडामा नेकपा माओवादी केन्द्र पूरै प्यानलै विजयी भएको छ। साभार थाहाखबर


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया