चैत २९ – अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक एडगार्डो बाउजा बर्खास्त भएका छन् । विश्वकप २०१८ को छनौट अन्तर्गत पछिल्ला खेलमा टिमले खराब प्रदर्शन गरेपछि बाउजा बर्खास्त भएका हुन् । गएको अगस्टमा बाउजा अर्जेन्टिनाको प्रशिक्षकमा नियुक्त भएका थिए । बाउजाको प्रशिक्षणमा अर्जेन्टिनाले ८ खेल खेलेकोमा तीनमा विजयी भएको थियो । यस्तै दुई खेलमा बराबरी तथा तीन खेलमा परािजत भएको थियो । राष्ट्रिय टिमले निकै खराब प्रदर्शन गरिरहेको र बाउजाले त्यसलाई सुधार गर्न नसकेकाले बर्खास्त गरिएको अर्जेन्टिनाको फुटबल एसोसिएसनका अध्यक्ष क्लाउडियो टापिएले बताए । १० देश सहभागी दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौट समूहमा १४ खेल सकिँदा अर्जेन्टिना पाँचौं स्थानमा छ । कप्तान लियोनल मेस्सी खेल पदाधिकारीसँग अभद्र व्यवहार गरेको आरोपमा चार खेलको प्रतिबन्ध लागेपछि भएको पछिल्लो खेलमा बोलिभियासँग अर्जेन्टिना २–० ले हार्यो । यो हारपछि अर्जेन्टिना पाँचौं स्थानमा पुगेको हो । शीर्ष चारमा रहन सक्ने टिम मात्रै विश्वकपका लागि सोझै छनौट हुन्छन् । अर्जेन्टिनाले विश्वकप छनौट अन्तर्गत आउँदो अगस्ट ३१ मा तेस्रो स्थानको उरुग्वेसँग खेल्ने छ । अर्जेन्टिना पछिल्लो पटक सन् १९७० को विश्वकपमा छनौट हुन सकेको थिएन ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

