
अन्जनी कुमार अधिकारी
उदयपुर । नेपालका अधिकांश ऐतिहासिक सम्पदाहरू राजधानी र चर्चित पर्यटकीय केन्द्रहरूमा सीमित छन् भन्ने आम बुझाइ छ । तर देशका विभिन्न कुनाकाप्चामा यस्ता अनेक ऐतिहासिक धरोहरहरू छन्, जसले नेपालको राज्य निर्माण, सभ्यता विकास र सांस्कृतिक यात्राका महत्वपूर्ण अध्यायहरू बोकेका छन। ।
पूर्वी नेपालको उदयपुर जिल्लामा अवस्थित उदयपुरगढी त्यस्तै एउटा ऐतिहासिक सम्पदा हो, जसले केवल एउटा जिल्लाको इतिहास मात्र होइन, सिंगो क्षेत्रको राजनीतिक, सामाजिक, सांस्कृतिक र सैन्य विकासको कथा बोकेको छ । उदयपुर जिल्लाको नामसँग प्रत्यक्ष सम्बन्ध राख्ने यो ऐतिहासिक स्थल आज पनि आफ्नो गौरवशाली विगतका अवशेषहरू बोकेर उभिएको छ । सदरमुकाम गाईघाटबाट करिब ३७.५ किलोमिटर उत्तर–पश्चिममा अवस्थित उदयपुरगढी गाउँपालिका–५ मा रहेको यो गढी समुद्री सतहबाट करिब एक हजार १६० मिटर उचाइमा पर्दछ। करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको यो क्षेत्र इतिहास, संस्कृति, धर्म, प्रकृति र पर्यटनको अनुपम संगमका रूपमा परिचित छ ।
यद्यपि यसको महत्व अत्यन्त ठूलो भए पनि उदयपुरगढी अझै राष्ट्रिय पर्यटन नक्सामा अपेक्षित रूपमा स्थापित हुन सकेको छैन । तर यहाँ पुग्ने जो–कोहीले एउटा कुरा सहजै अनुभव गर्न सक्छ–उदयपुरगढी केवल भग्न पर्खालहरूको थुप्रो होइन, यो इतिहास बोल्ने जीवित दस्तावेज हो ।
उदयपुर जिल्लाको नामकरणसँगको इतिहास
उदयपुरगढीको चर्चा गर्दा सबैभन्दा पहिले आउँछ–उदयपुर जिल्लाको नामकरणको प्रसंग । इतिहासका विभिन्न अभिलेख तथा स्थानीय जनश्रुतिअनुसार सेनवंशी राजा उदयचन्द्र सेनले यस क्षेत्रलाई आफ्नो शासनको केन्द्र बनाएका थिए भनिन्छ । वि.सं. १३८२ देखि १५७६ को बीचमा मिथिला क्षेत्रका अन्य शासकहरू सरह उनले यस गढीबाट शासन सञ्चालन गरेको उल्लेख पाइन्छ । राजा उदयचन्द्र सेनले तत्कालीन समयको आवश्यकता अनुसार बलियो किल्ला निर्माण गरी प्रशासन सञ्चालन गरेका थिए । यही उदयचन्द्र सेनको नामबाट पछि जिल्लाको नाम ‘उदयपुर’ रहन गएको अनुमान गरिन्छ । यद्यपि यसबारे थप ऐतिहासिक अनुसन्धान आवश्यक देखिए पनि स्थानीय समाजमा यो विश्वास गहिरोसँग स्थापित रहेको स्थानीय होम बस्नेत बताउनु हुन्छ ।
जिल्लाको नामसँग जोडिएको यही ऐतिहासिक सम्बन्धले उदयपुरगढीलाई विशेष महत्व प्रदान गरेको छ । उदयपुरको पहिचान खोज्ने हो भने त्यसको केन्द्रमा उदयपुरगढी नै भेटिने स्थानीयको भनाइ छ ।
सेनकालीन शासनको महत्वपूर्ण केन्द्र
नेपालको मध्यकालीन इतिहासमा सेन राजाहरूको महत्वपूर्ण भूमिका रहेको छ । पाल्पा, मकवानपुर, चौदण्डी, विजयपुर लगायत विभिन्न क्षेत्रमा सेन शासकहरूको प्रभाव रहेको पाइन्छ । उदयपुरगढी पनि त्यही सेनकालीन राज्य व्यवस्थाको एउटा महत्वपूर्ण केन्द्र थियो ।
इतिहासकाहरुका अनुसार यहाँबाट प्रशासन सञ्चालन गरिन्थ्यो, कर संकलन हुन्थ्यो, सैनिक गतिविधि परिचालन गरिन्थ्यो र क्षेत्रीय शासन व्यवस्था व्यवस्थित बनाइन्थ्यो । गढीभित्र रहेका संरचनाहरूले कुनै समय यहाँ सुदृढ दरबार र प्रशासनिक संयन्त्र रहेको संकेत गर्छन । आज ती संरचनाहरू भग्न अवस्थामा छन् । तर भग्नावशेषहरूले पनि तत्कालीन शासन प्रणालीको भव्यता र व्यवस्थित संरचनाको आभास दिन्छन् ।
सैन्य रणनीतिको अनुपम नमुना
उदयपुरगढीको सबैभन्दा महत्वपूर्ण विशेषता यसको भौगोलिक अवस्था हो । समुन्द्री सतह बाट १३०० मिटर उचाइमा रहेको यो स्थान तत्कालीन सैनिक रणनीतिका दृष्टिले अत्यन्त उपयुक्त मानिन्थ्यो ।
गढीको टाकुराबाट पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतर्फको गतिविधि सहजै अवलोकन गर्न सकिन्छ । यही कारण शत्रुको सम्भावित गतिविधि पहिल्यै थाहा पाउन र आवश्यक प्रतिकार गर्न यो स्थान अत्यन्त प्रभावकारी थियो ।
पुराना अभिलेखहरूका अनुसार गढीको बाहिरी घेरा १३३ हात रहेको थियो । किल्लाभित्रबाट बन्दुक चलाउन बनाइएका २० वटा फायरिङ प्वालहरू थिए । ती संरचनाहरूले तत्कालीन शासकहरूको सैन्य सोच, सुरक्षा रणनीति र वास्तुकलाको उत्कृष्ट नमुना प्रस्तुत गर्छन् ।
आज आधुनिक प्रविधिको युगमा यस्ता संरचनाहरू सामान्य लाग्न सक्छन् । तर सयौँ वर्षअघि यस्ता किल्लाहरू नै राज्य सुरक्षाको प्रमुख आधार रहेको थियो ।
इतिहासका साक्षी बनेका पुरातात्विक अवशेष
उदयपुरगढीमा आज पनि अनेक पुरातात्विक अवशेषहरू भेटिन्छन् । प्राचीन दरबारका भग्नावशेष, ढुंगाका संरचना, प्रस्तर स्तम्भ, मूर्तिहरू र धार्मिक स्थलहरूले यस क्षेत्रको ऐतिहासिक महत्वलाई प्रमाणित गर्छन् ।
विशेषगरी देवीस्थान वरपर रहेका सेनकालीन प्रस्तर स्तम्भ, सिंहका मूर्तिहरू तथा गणेशका मूर्तिहरूले तत्कालीन कला र शिल्पकौशलको परिचय दिन्छन् । पुरातत्वका दृष्टिले यी सामग्रीहरू अत्यन्त मूल्यवान छन् । यिनको वैज्ञानिक अध्ययन र संरक्षण गर्न सके उदयपुर मात्र होइन, पूर्वी नेपालको इतिहासका धेरै तथ्य उजागर हुन सक्छन् ।
धार्मिक आस्थाको केन्द्र
उदयपुरगढी केवल ऐतिहासिक सम्पदा मात्र होइन, धार्मिक आस्थाको केन्द्र पनि हो । यहाँ गणेशस्थान, भैरवस्थान, देवीस्थान तथा पञ्चावतीमाई मन्दिर समेत रहेका छन् ।
यी धार्मिक स्थलहरू स्थानीय समुदायको गहिरो आस्थासँग जोडिएका छन् । विभिन्न पर्व, धार्मिक अवसर र विशेष पूजाआजाका समयमा भक्तजनहरू यहाँ पुग्ने गरेको स्थानीय बाबुराम अधिकारी बताउनु हुन्छ । उहाँका अनुसार विशेष गरी पञ्चावतीमाई क्षेत्र धार्मिक पर्यटनको दृष्टिले महत्वपूर्ण मानिन्छ । यहाँ रहेका पुराना घण्टा, स्तम्भ र धार्मिक अवशेषहरूले यसको ऐतिहासिक महत्वलाई समेत पुष्टि गर्छन् ।
इतिहास बोल्ने घण्टाहरू
उदयपुरगढीका धार्मिक सम्पदामध्ये पञ्चावती मन्दिर विशेष महत्वको मानिन्छ । यहाँ रहेका केही वस्तुहरू आज पनि इतिहासका जीवित प्रमाण बनेर उभिएका छन् । वि.सं. १९२६ असार ५ गते कप्तान शम्शेरजंग थापाकी धर्मपत्नी भुवनकुमारीले चढाएको घण्टा अझै सुरक्षित रहेको पाइन्छ । त्यसैगरी वि.सं. १९७५ वैशाख २९ गते कर्णेल गंगाबहादुर बस्नेतले चढाएको ढुंगाको खम्बा र घण्टा पनि यहाँ अवस्थित छन् । यी वस्तुहरूले तत्कालीन राज्यका प्रभावशाली व्यक्तिहरूले उदयपुरगढीलाई दिएको महत्व स्पष्ट पार्छन् ।
पूर्वी नेपालको प्रमुख आवागमन केन्द्र
मध्यकालीन नेपालमा उदयपुरगढी पूर्वी क्षेत्रको महत्वपूर्ण प्रवेशद्वार मानिन्थ्यो । काठमाडौं उपत्यकाबाट पूर्वतर्फ जाने यात्रुहरू, व्यापारीहरू, सैनिक टोली तथा सरकारी प्रतिनिधिहरू यही मार्ग प्रयोग गर्थे ।
कोशी क्षेत्र, सिराहा–सप्तरीको तराई, खोटाङ र ओखलढुंगासम्म जाने मुख्य नाका यही क्षेत्र थियो भन्ने स्थनीहरुको भनाइ छ । त्यसैले यो केवल एउटा गढी मात्र नभई व्यापारिक तथा सामाजिक सम्पर्कको केन्द्र पनि थियो । यस क्षेत्रबाट पहाड र तराईबीच आर्थिक तथा सांस्कृतिक सम्बन्ध विस्तार हुने गरेको इतिहासले देखाउँछ ।
२०२८ सालसम्मको प्रशासनिक केन्द्र
आज उदयपुरको प्रशासनिक केन्द्र गाईघाट भए पनि लामो समयसम्म उदयपुर जिल्लाको सदरमुकाम उदयपुरगढी नै थियो । वि.सं. २०२८ सालसम्म यहाँबाट प्रशासन सञ्चालन भएको इतिहासले देखाउँछ ।
सरकारी कार्यालय, न्यायिक प्रक्रिया, प्रशासनिक निर्णय र राजनीतिक गतिविधिहरू यही क्षेत्रबाट सञ्चालन हुन्थे । पछि यातायात र विकासका दृष्टिले सहज स्थानको खोजी गर्दै सदरमुकाम गाईघाट सारियो । तर प्रशासनिक केन्द्र सरे पनि उदयपुरगढीको ऐतिहासिक महत्व कहिल्यै समाप्त नहुने गोपाल खत्री बताउनु हुन्छ ।
पर्यटनको अथाह सम्भावना
उदयपुरगढीको सबैभन्दा ठूलो शक्ति यसको बहुआयामिक आकर्षण हो । नेपालका धेरै पर्यटन गन्तव्यहरू प्राकृतिक वा धार्मिक महत्वमा सीमित छन् । तर उदयपुरगढीमा इतिहास, धर्म, संस्कृति र प्रकृति एकैसाथ भेटिन्छन् ।
आज विश्वभर ‘हेरिटेज टुरिज्म’ अर्थात् ऐतिहासिक पर्यटनको आकर्षण बढ्दो छ । पर्यटकहरू केवल दृश्य हेर्न होइन, कुनै ठाउँको इतिहास र सभ्यता बुझ्न पनि यात्रा गर्न थालेका छन् । यही दृष्टिले हेर्दा उदयपुरगढी अत्यन्त सम्भावनायुक्त पर्यटकीय गन्तव्य हो ।
इतिहास प्रेमीका लागि स्वर्ग
गढी क्षेत्र इतिहासमा रुचि राख्ने व्यक्तिहरूका लागि खुला संग्रहालयजस्तै हो । यहाँ पुग्ने पर्यटकले सेनकालीन शासन व्यवस्था, पुरानो सैनिक रणनीति, धार्मिक संस्कृति र स्थानीय सभ्यताको प्रत्यक्ष अनुभव गर्न सक्छन् । विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरूका लागि पनि यो क्षेत्र शैक्षिक भ्रमणको उत्कृष्ट गन्तव्य बन्न सक्छ ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण
उदयपुरगढीको अर्को महत्वपूर्ण आकर्षण यसको प्राकृतिक सौन्दर्य हो । हरियाली डाँडाकाँडा, घना वन, ग्रामीण बस्ती, खेतीयोग्य जमिन र शान्त वातावरणले यस क्षेत्रलाई विशेष बनाएको छ ।
गढीको उच्च स्थानबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्य अत्यन्त मनमोहक मानिन्छ । वर्षायाममा हरियालीले ढाकिएका पहाडहरू र जाडोयाममा कुहिरोले ढाकिएको दृश्यले यहाँको सौन्दर्य झनै बढाउँछ । यहाँबाट उत्तरमा सेत्ताम्य हिमालहरू र दक्षिणमा समतल तराईका फाँटहरूका दृश्य अवलोकन गर्न पाइन्छ । उदयपुरगढीलाई कोशि प्रदेश कै पर्यटकीय केन्द्र बनाउन सकिने सम्भावना रहेको उदयपुरबासीको भनाइ छ ।
ग्रामीण पर्यटनको सम्भावना
उदयपुरगढी आसपासका गाउँहरूमा अझै मौलिक ग्रामीण जीवनशैली कायम छ । स्थानीय परम्परा, संस्कृति, कृषि प्रणाली, लोकभाका र मौलिक खानपानलाई पर्यटनसँग जोड्न सकिने पर्याप्त सम्भावना छ । होमस्टे सञ्चालन, स्थानीय परिकारको प्रवद्र्धन, सांस्कृतिक कार्यक्रम तथा कृषि पर्यटनमार्फत स्थानीय आयआर्जन बढाउन सकिने गढीमा रहेको होमस्टे संचालक पुस्कर भण्डारी बताउनु हुन्छ ।
पदयात्रा र साहसिक पर्यटन
उदयपुरगढी वरपरका जंगल, पहाडी मार्ग र प्राकृतिक भूगोल पदयात्राका लागि उपयुक्त छन् । छोटो तथा मध्यम दूरीका ट्रेकिङ रुट विकास गर्न सकियो भने आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ ।
चलचित्र तथा फोटोग्राफी पर्यटन
इतिहास र प्रकृतिको संयोजन भएका स्थानहरू चलचित्र तथा वृत्तचित्र निर्माणका लागि अत्यन्त उपयुक्त हुन्छन् । उदयपुरगढी त्यस्तै गन्तव्य हो । यहाँको प्राकृतिक दृश्य, पुरातात्त्विक संरचना र सांस्कृतिक वातावरणले चलचित्रकर्मी तथा फोटोग्राफरलाई आकर्षित गर्न सक्छ ।
संरक्षणको चुनौती
यति ठूलो सम्भावना हुँदाहुँदै पनि उदयपुरगढी संरक्षण अभावको समस्यासँग जुधिरहेको छ । धेरै संरचनाहरू जीर्ण बनेका छन् । कतिपय पुरातात्त्विक सामग्रीहरू प्राकृतिक क्षयका कारण जोखिममा छन् । सडक, सूचना केन्द्र, विश्रामस्थल, खानेपानी, शौचालय, पार्किङ र पर्यटन मार्गदर्शनजस्ता पूर्वाधारहरू पनि पर्याप्त छैनन् । यदि समयमै संरक्षण र व्यवस्थापन गर्न नसकिए इतिहासका महत्वपूर्ण प्रमाणहरू हराउने खतरा रहन्छ ।
विकासको खाका
विशेषज्ञहरूका अनुसार उदयपुरगढीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य बनाउन विस्तृत गुरुयोजना आवश्यक छ । पुरातात्विक उत्खनन, संरचना पुनर्निर्माण, संग्रहालय स्थापना, डिजिटल अभिलेखीकरण, पर्यटन पूर्वाधार विकास र प्रभावकारी प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्छ । स्थानीय समुदायलाई पर्यटनको प्रत्यक्ष लाभ पुग्ने व्यवस्था गर्न सके संरक्षण र विकास दुवै कार्य प्रभावकारी हुन सक्छन् ।
भविष्यको आशा
उदयपुरगढी केवल अतीतको स्मृति होइन, भविष्यको सम्भावना पनि हो । यहाँ इतिहास छ, संस्कृति छ, धार्मिक आस्था छ, प्राकृतिक सौन्दर्य छ र पर्यटन विकासको अथाह अवसर छ ।
आज यसको भग्न पर्खालहरूले विगतको कथा सुनाइरहेका छन् भने वरपरको प्रकृतिले भविष्यको सम्भावना देखाइरहेको छ । राज्य, स्थानीय सरकार र समुदायले संयुक्त रूपमा यसको संरक्षण र प्रवद्र्धन गर्न सके उदयपुरगढी निकट भविष्यमा नेपालको प्रमुख ऐतिहासिक तथा सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुन सक्छ ।
उदयपुर जिल्लाको नाम बोकेको यो गौरवशाली धरोहर वास्तवमै उदयपुरको पहिचान, इतिहासको गौरव र पर्यटन विकासको बलियो आधार हो । इतिहासको गर्भमा लुकेको यो सम्पदा आज नयाँ पहिचानको खोजीमा छ, जहाँ हजारौँ पर्यटकलाई आकर्षित गर्ने सामथ्र्य मौन रूपमा प्रतीक्षारत छ ।

