
अन्जनी कुमार अधिकारी
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ले पछिल्ला वर्षहरूमा आर्थिक अनुशासन र वित्तीय सुशासनमा उल्लेख्य सुधार गर्दै बेरुजु दरलाई न्यूनतम स्तरमा झार्न सफल भएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार नगरपालिकाले पाँच आर्थिक वर्षको अवधिमा बेरुजु प्रतिशत निरन्तर घटाउँदै चालु आर्थिक वर्ष २०८१/०८२ मा ०.७५ प्रतिशतमा सीमित गरेको हो ।
महालेखा परीक्षकको प्रतिवेदनले चौदण्डीगढी नगरपालिकाको वित्तीय व्यवस्थापनमा सुधार आएको स्पष्ट संकेत गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा ४.३९ प्रतिशत रहेको बेरुजु त्यसपछिका वर्षहरूमा क्रमशः घट्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७८/०७९ मा ३.१४ प्रतिशत, २०७९/०८० मा २.६९ प्रतिशत र २०८०/०८१ मा २.२१ प्रतिशत रहेको बेरुजु चालु आर्थिक वर्षमा आइपुग्दा उल्लेख्य रूपमा घटेर ०.७५ प्रतिशतमा सीमित भएको तथ्यांक सार्वजनिक भएको हो ।
नगरपालिकाको कुल बेरुजु रकममा पनि उल्लेखनीय सुधार देखिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ३ करोड ९५ लाख १३ हजार रुपैयाँ रहेको बेरुजु आर्थिक वर्ष २०७८/०७९ मा केही बढेर ५ करोड ४ लाख २३ हजार रुपैयाँ पुगेको थियो । तर त्यसपछि नगरपालिकाले आर्थिक अनुशासनलाई कडाइका साथ कार्यान्वयन गर्न थालेपछि बेरुजु रकम निरन्तर घट्न थालेको देखिएको छ । आर्थिक वर्ष २०७९/०८० मा ३ करोड ९२ लाख ८ हजार रुपैयाँमा झरेको बेरुजु आर्थिक वर्ष २०८०/०८१ मा ४ करोड ४० लाख ८ हजार ४ सय ५० रुपैयाँ रहेको थियो भने चालु आर्थिक वर्ष २०८१/०८२ मा घटेर १ करोड ५४ लाख २० हजार ७ सय ८९ रुपैयाँमा सीमित भएको छ ।
प्रतिवेदनअनुसार नियमित गर्नुपर्ने बेरुजु र असुल गर्नुपर्ने रकममा समेत कमी आएको छ । चालु आर्थिक वर्षमा नियमित गर्नुपर्ने बेरुजु १ करोड ४४ लाख ४१ हजार ७ सय ३७ रुपैयाँ रहेको छ भने असुल गर्नुपर्ने रकम ९ लाख ७९ हजार ५२ रुपैयाँ कायम भएको उल्लेख गरिएको छ । अझ महत्वपूर्ण कुरा, अघिल्ला वर्षहरूमा देखिँदै आएको पेश्की बाँकी रकम चालु आर्थिक वर्षमा शून्यमा झरेको महालेखाको प्रतिवेदनले देखाएको छ ।
नगरपालिकाले सार्वजनिक खर्च व्यवस्थापन, योजना कार्यान्वयन, खरिद प्रक्रिया तथा लेखा प्रणालीलाई व्यवस्थित बनाउँदै आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाएपछि बेरुजु घट्दै गएको लेखा प्रमुख महेश रानाले बताउनु भयो । पछिल्ला वर्षहरूमा डिजिटल लेखा प्रणाली, पारदर्शी भुक्तानी प्रक्रिया तथा नियमित अनुगमनलाई प्राथमिकतामा राखिएको नगरपालिकाको दाबी छ ।
नगर प्रमुख कालुमान लामा ले नगरपालिकाले सुशासन, पारदर्शिता र उत्तरदायी प्रशासनलाई प्राथमिकतामा राख्दै वित्तीय अनुशासन कायम गर्न विशेष ध्यान दिएको बताउनुभयो । उहाँले जनताको करबाट संकलित स्रोतलाई पारदर्शी र प्रभावकारी रूपमा परिचालन गर्ने उद्देश्यले खर्च प्रणालीलाई व्यवस्थित गरिएको उल्लेख गर्दै महालेखा परीक्षकको प्रतिवेदनले नगरपालिकाको सुधारोन्मुख अवस्थालाई सकारात्मक रूपमा चित्रण गरेको बताउनुभयो ।
नगर प्रमुख लामाले जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाबीचको समन्वयका कारण आर्थिक अनुशासन कायम गर्न सहज भएको उल्लेख गर्दै आगामी वर्षहरूमा बेरुजु दरलाई अझ न्यून बनाउने लक्ष्य रहेको बताउनुभयो । उहाँले विकास निर्माणका कामलाई पारदर्शी, परिणाममुखी र जनउत्तरदायी बनाउने दिशामा नगरपालिका अघि बढिरहेको धारणा व्यक्त गर्नुभयो ।
स्थानीय तहहरूमा वित्तीय सुशासनको विषय चुनौतीपूर्ण बन्दै गएको अवस्थामा चौदण्डीगढी नगरपालिकाले बेरुजु नियन्त्रणमा हासिल गरेको प्रगति अन्य स्थानीय तहका लागि समेत सकारात्मक उदाहरणका रूपमा हेरिएको छ ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

