कृपया यो पेज Like गर्नु होला

उदयपुर । २०८२ साल फागुन २१ गते सम्पन्न निर्वाचनपछि गठित सरकारले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा पक्राउ गरेको घटनाप्रति नेकपा (एमाले) जिल्ला कमिटी उदयपुर मातहतका २३ वटा जनवर्गीय संगठनहरूले कडा आपत्ति जनाएका छन्।

एमाले निकट जनवर्गीय संगठनहरूले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै उक्त कदमलाई असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिशोधपूर्ण कार्य भएको ठहर गर्दै दुवै नेताको तत्काल बिना शर्त रिहाइको माग गरेका छन्। विज्ञप्तिमा लोकतन्त्रका पक्षधर नेताहरूमाथि गरिएको यस्तो व्यवहारले देशको लोकतान्त्रिक प्रणालीमै गम्भीर धक्का पुगेको उल्लेख गरिएको छ।

संगठनहरूले भदौ २४ गते विभिन्न स्थानमा भएका सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड तथा व्यक्तिहत्याजस्ता घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै ती घटनाप्रति कार्की आयोग मौन बसेकोप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। सो विषयमा निष्पक्ष न्यायिक छानबिन गर्न सरकारसँग जोडदार माग गरिएको छ।

संयुक्त विज्ञप्तिमा पक्राउ परेका नेताहरूलाई तत्काल रिहाइ नगरिए भोलिदेखि नै जनताको सक्रिय सहभागितामा चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिइएको छ। साथै आन्दोलनबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सरकार र स्थानीय प्रशासनले लिनुपर्ने स्पष्ट पारिएको छ।

आन्दोलन सफल बनाउन अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय युवा संघ नेपाल, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, प्रेस चौतारी नेपाल, ट्रेड युनियन महासंघ (जिफन्ट), नेपाल खेलकुद महासंघ, नेपाल उद्योग तथा व्यवसायी महासंघलगायत जनवर्गीय संगठनमा आबद्ध नेता–कार्यकर्ता, शुभेच्छुक तथा लोकतन्त्रका पक्षधर सम्पूर्ण नागरिकलाई सक्रिय सहभागिताका लागि हार्दिक अपिल गरिएको छ।

जनवर्गीय संगठनहरूले सरकारलाई राजनीतिक प्रतिशोधको बाटो त्यागी विधिसम्मत निर्णय लिन चेतावनी दिँदै अन्यथा आन्दोलनलाई अझ सशक्त बनाइने स्पष्ट पारेका छन्।

 


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया