कृपया यो पेज Like गर्नु होला

अन्जनी कुमार अधिकारी

उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका–९ मुसहर्नियास्थित भगवती माध्यमिक विद्यालयमा नयाँ चारकोठे दुईतले पक्की विद्यालय भवन निर्माणको औपचारिक शिलान्यास गरिएको छ। प्रदेश सरकारको भ्याटसहित रु. ४८ लाख ४८ हजार बजेटमा निर्माण हुन लागेको उक्त भवनको शिलान्यास नगर प्रमुख कालुमान लामा ले गर्नुभएको हो।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले जनतासमक्ष आफूले गरेका प्रतिबद्धता आफ्नै कार्यकालभित्र पूरा गर्ने अठोट पुनः दोहोर्याउनुभयो। उहाँले विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउँदै शिक्षा क्षेत्रको पूर्वाधार सुदृढीकरणमा नगरपालिका निरन्तर सक्रिय रहेको बताउनुभयो। “जनतासँग गरेको वाचा पूरा गर्ने जिम्मेवारी मेरो पहिलो कर्तव्य हो,” उहाँले भन्नुभयो, “नगरपालिकाको समग्र विकासका लागि उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गरिरहेका छौं।”

मेयर लामाले आफ्नो कार्यकालमा सम्पन्न भएका विकास निर्माणका कामहरू, राज्यबाट प्राप्त बजेटको उपयोग तथा अघिल्लो कार्यकालमा प्राप्त बजेटको अवस्थाबारे समेत खुला रूपमा समीक्षा गर्न नगरवासीलाई आग्रह गर्नुभयो। उहाँले आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर निष्पक्ष मूल्यांकन गर्न नगरबासीसँग अनुरोध गर्दै पारदर्शिता र जवाफदेहितालाई नगरपालिकाको मुख्य कार्यशैलीका रूपमा अघि बढाइएको स्पष्ट पार्नुभयो।

उहाँले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार सुधारले विद्यार्थीको सिकाइ वातावरण थप प्रभावकारी बन्ने विश्वास व्यक्त गर्दै भगवती माध्यमिक विद्यालयमा निर्माण हुन लागेको नयाँ भवनले स्थानीय विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गर्नुभयो। साथै आगामी दिनमा पनि विद्यालय पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर थप योजनाहरू अघि बढाइने जानकारी दिनुभयो।

कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष तथा नगर प्रवक्ताले समेत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उहाँले जनताको विश्वास र समर्थनकै कारण आफू दुई कार्यकालसम्म निर्वाचित हुन सफल भएको उल्लेख गर्दै जनअपेक्षा अनुरूपका विकास निर्माणका कामहरू निरन्तर अघि बढाउँदै आएको बताउनुभयो। “जनताको विश्वास नै हाम्रो शक्ति हो,” उहाँले भन्नुभयो, “त्यही विश्वासका आधारमा दोस्रो कार्यकालमा पनि थप प्रभावकारी रूपमा काम गरिरहेका छौं।”

स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागितामा सम्पन्न उक्त कार्यक्रमले विद्यालयको भौतिक संरचना सुधारसँगै क्षेत्रको शैक्षिक वातावरण थप सुदृढ हुने अपेक्षा गरिएको छ।

 

 


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया