उदयपुर। उदयपुर डान्स स्टुडियो बेल्टार, उदयपुरको आयोजनामा सञ्चालन गरिएको “उदयपुर डान्स चेम्पियनसिप–२०८२ सिजन २” को ग्रेण्ड फिनाली सम्पन्न भएसँगै विजेताको टुंगो लागेको छ। जिल्लाका विभिन्न स्थानमा अडिसन राउण्ड सम्पन्न गर्दै सुरु गरिएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धा हिजो भव्य रूपमा जिल्लाको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजार स्थित बसपार्कमा सम्पन्न भएको हो।
प्रतियोगिता गत माघ १३ गते कटारी नगरपालिकाबाट अडिसन राउण्डमार्फत सुरु गरिएको थियो। त्यसपछि उदयपुरगढी गाउँपालिकाको नेपालटार, रौतामाई गाउँपालिकाको मुर्कुची, चौदण्डीगढी नगरपालिकाको बेल्टार, त्रियुगा नगरपालिकाको गाईघाट तथा बेलका नगरपालिकाको रामपुरमा अडिसन राउण्ड आयोजना गरिएको थियो। ती अडिसनबाट कुल ६५ जना प्रतिस्पर्धी छनोट भएका थिए भने उनीहरूमध्ये उत्कृष्ट प्रदर्शनका आधारमा १६ जना प्रतिस्पर्धी फाइनल चरणमा पुगेका आयोजक उदयपुर डान्स स्टुडियो बेल्टारका सञ्चालक तथा नृत्य निर्देशक प्रेमजङ्ग किराती ले जानकारी दिनुभयो।
फाइनल प्रतिस्पर्धामा उत्कृष्ट प्रस्तुति दिँदै भोजपुरकी लाजिमा राई प्रतियोगिताको विजेता बन्न सफल भएकी छन्। त्यस्तै कटारीकी माया मगर फस्ट रनरअप, हडियाकी कुन्जन सुनाम सेकेन्ड रनरअप तथा कटारीकी प्रमिसा कार्की थर्ड रनरअप घोषित भएका छन्।
प्रतियोगितामा विभिन्न विधामा समेत पुरस्कार प्रदान गरिएको छ। जसअनुसार बेस्ट एक्सप्रेसन अवार्ड बेल्टारकी सेडृना राई, बेस्ट डिसिप्लिन अवार्ड भोजपुरका दिवाहाङ राई तथा बेस्ट परफर्मर अवार्ड कटारीकी स्वयता आले मगर र रेस्मी मगर लाई प्रदान गरिएको थियो।
विजेता लाजिमा राईले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन्। त्यस्तै फस्ट रनरअपले नगद २० हजार, सेकेन्ड रनरअपले नगद १० हजार र थर्ड रनरअपले नगद ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगिताका विजेता तथा उत्कृष्ट प्रतिस्पर्धीहरूलाई चौदण्डीगढी नगरपालिकाका पूर्व मेयर खगेन्द्र राई, वडा नं. ७ का पूर्व वडाध्यक्ष तेजराज तिमल्सिना, समाजसेवी जनक बस्नेत तथा शिक्षाविद् जितबहादुर कार्की ले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।
निर्णायक मण्डलले प्रतिस्पर्धीहरूको नृत्य कौशल, अभिव्यक्ति, तालमेल, प्रस्तुति शैली तथा विगतदेखि उनीहरूले देखाउँदै आएको नृत्य प्रतिभा लगायतका आधारमा मूल्यांकन गरी विजेता तथा उपविजेता छनोट गरेको आयोजकले जनाएको छ।
यस वर्षको प्रतियोगितामा भोटिङ सिस्टम हटाइएको आयोजकले जनाएको छ। भोटिङका आधारमा विजेता छनोट गर्दा वास्तविक प्रतिभा ओझेलमा पर्न सक्ने भएकाले निर्णायक मण्डलको मूल्यांकनलाई प्राथमिकता दिइएको नृत्य निर्देशक किरातीले बताउनुभयो।
उदयपुर जिल्लाका विभिन्न पालिका तथा बाहिरि जिल्लाबाट समेत आएका प्रतिभावान युवा–युवतीहरूले सहभागिता जनाएको उक्त प्रतियोगिताले उदयपुरमा नृत्य संस्कृतिको विकास र नयाँ प्रतिभा पहिचान गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास छ।
ग्रेण्ड फिनाली चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको होस्ट चर्चित कार्यक्रम प्रस्तोता अन्जनी कुमार अधिकारी र देविका श्रेष्ठले गर्नु भएको थियो ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

