कृपया यो पेज Like गर्नु होला

उदयपुर । नेकपा (एमाले) उदयपुर क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दुर्गा कुमार थापा (स्वस्ती)ले आफ्नो ७ बुँदे विकास अवधारणा सार्वजनिक गर्नुभएको छ । समृद्ध उदयपुर निर्माण गर्ने लक्ष्यसहित उहाँले अधिकारमुखी, समावेशी र पारदर्शी विकासको स्पष्ट खाका अघि सार्नुभएको हो ।

गत फागुन ७ गते मात्र पत्रकार सम्मेलनको आयोजना गरेर थापाले “देखाउँछौं हामी परिणाम, पाँच वर्षमा ५० काम” भन्ने नारासहित समृद्ध उदयपुर निर्माणको लक्ष्य सहितको  विस्तृत चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको थियो।

उम्मेदवार थापाले आफ्नो ५० बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको केहिदिन पछी आज आइतबार सार्वजनिक गर्नु भएको ७ बुँदे विकास अवधारणामा “बिकास कसैको दान होइन, जनताको अधिकार हो” भन्ने मूल अवधारणाबाट आफ्नो योजना सुरु गर्दै जनताको सहभागिता र अधिकार सुनिश्चित गरिने बताउनु भएको छ । विकासका योजनामा सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले “एक्लाएक्लै तानातान होइन, सबै मिले समाधान” भन्ने नीति अवलम्बन गरिने स्पष्ट पार्नुभयो ।

स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै दिगो विकासलाई प्राथमिकता दिने उहाँको प्रतिबद्धता छ । साथै “भ्रष्टाचारमा शून्य सहनशीलता” अपनाउँदै सुशासन र सदाचार अभिवृद्धि गर्ने योजनासमेत उहाँले ७ बुँदे विकास अवधारणा मार्फत अघि सार्नु भएको छ।

थापाले महिलालाई प्राथमिकतामा राख्दै सबै वर्ग, क्षेत्र र तहलाई समेट्ने समावेशी विकासको अवधारणा समेत प्रस्तुत गर्नुभएको छ । समाजमा विद्यमान छुवाछूत तथा सबै प्रकारका हिंसाको अन्त्यका लागि जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने समेत उहाँले बताउनुभयो ।

युवालाई उत्पादन र उद्यमशीलतासँग जोड्ने लक्ष्यसहित “उत्पादनमा हाम्रो साथ, बस्दिन म खाली हात” भन्ने नारालाई व्यवहारमा उतार्ने उहाँको योजना छ । यसले रोजगारी सिर्जना र आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

थापाको यो ७ बुँदे अवधारणाले उदयपुरको समग्र विकास, सामाजिक समानता र आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

 


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया