उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हडियामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयमा विद्यार्थी लक्षित तेक्वान्दो खेल प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । विद्यार्थीको शारीरिक तन्दुरुस्ती, अनुशासन र आत्मरक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
विद्यालय परिसरमा मंगलबार आयोजित विशेष कार्यक्रममा नगर प्रमुख कालुमान लामाले प्रशिक्षण कार्यक्रमको औपचारिक उद्घाटन गर्नु भयो । सो अवसरमा बोल्दै नगर प्रमुख लामाले शिक्षा मात्र होइन, खेलकुद पनि समग्र व्यक्तित्व विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्नु भयो । उहाँले विद्यालय स्तरमै तेक्वान्दोजस्ता खेललाई प्राथमिकता दिँदै लैजाने नगरपालिकाको नीति रहेको समेत बताउनु भयो ।
विद्यालय प्रशासनका अनुसार इच्छुक विद्यार्थीहरूका लागि बिहानको समयमा नियमित प्रशिक्षण सञ्चालन गरिनेछ । तेक्वान्दोका लागि आवश्यक प्रशिक्षक नियुक्त भइसकेको र प्रशिक्षण व्यवस्थित रूपमा अघि बढाइने तयारी गरिएको विद्यालयले जनाएको छ ।
चौदण्डीगढी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष एवम् नगर प्रवक्ता प्रकाश राउतले खेल प्रशिक्षणमा सहभागी विद्यार्थीका लागि आवश्यक सामग्री वडा कार्यालय र नगरपालिकाको समन्वयमा उपलब्ध गराइने जानकारी दिनु भयो । अध्यक्ष राउतले खेलकुदले विद्यार्थीमा अनुशासन, आत्मविश्वास र स्वास्थ्य सचेतना बढाउने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय समितिका प्रमुख भवानी कट्टेल र तेक्वान्दो प्रशिक्षक एस.बी. राईले प्रशिक्षण कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष विक्रम गिरीको अध्यक्षतामा तथा शिक्षक छविलाल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.



