अन्जनी कुमार अधिकारी
उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नो पालिका भित्रका पसल तथा बजारमा आफ्नो अनुगमनलाई तिब्रता दिएको छ ।
ग्राहकले खरिद गर्ने दैनिक उपभोग्य वस्तुहरु मिति सकिए पनि ब्यबसायीले बिक्री गर्न सकेन, बजारमा अखाद्य सामाग्रीको मिसावट हुन सक्ने भन्दै बजार अनुगमनलाई तिब्र बनाइएको चौदण्डीगढी नगरपालिकाले जनाएको छ।
गत जेष्ठ १३ गते देखी नगरपालिकाले आफ्ना बजार क्षेत्रहरुमा अनुगमनलाई तिब्रता दिएको छ । अनुगमन टोलीले नगरको वडा नम्बर ६ स्थित बेल्टार बजार र वडा नम्बर १० र ९ को हडिया बजारमा अनुगमन गरेको छ । अनुगमनका क्रममा नगरले अहिले सम्म झन्डै १५ हजार बराबरको म्याद गुज्रिएका दैनिक उपभोग्य बस्तु बरामद गरि नष्ट गरेको छ । भने बिभिन्न पसललाई अन्तिम चेतावनी दिएको छ ।
नगरपालिकाले बजार अनुगमनमा पसलको दर्ता (कर, घरेलु, नगरपालिका, उद्योग वाणिज्य संघ) छ वा छैन हेर्ने गरेको छ भने पसलमा बिक्रि गर्न राखिएका सामाग्रीमा उपभोग्य बस्तु बनेको मिति र म्याद सकिने मिति हेर्ने गरेको छ । नगरपालिकाले अखाद्य बस्तु, दैनिक उपभोग्य सामाग्रीमा मिसावट रहे नरहेको लगायतको चेक गर्ने गरेको बजार अनुगमन टोलीका सदस्य शिव बास्तोलाले जानकारी दिनु भयो ।
सोमबार भएको हडिया बजार अनुगमनमा अधिकांश पसलहरु ब्यबसायीले बन्द गरेका थिए । नगरपालिकाले उनीहरुको ब्यवसाय नोटिस गरेको र अर्को पटकको अनुगमनमा कुनै पनि समस्या पाइए जरिवाना गरिने बताएको छ ।
अनुगमन टोलीका संयोजक श्रीकान्त चौधरीले आफुहरुको अनुगमनलाई सहयोग गर्नु पर्नेमा पसल बन्द गरेर आफु गलत भएको हडियाका ब्यबसायीले प्रमाणित गरेको भन्दै कुनै पनि बहानामा उनीहरुलाई गलत गर्न नगरपालिकाले नदिने बताउनु भयो । हामीले सबै पसलहरु नोटिस गरेका छौं, ति पसलमा केहि गलत पाइए जरिवाना गर्छौ छुट दिँदैनौं उहाँले भन्नु भयो ।
नगरपालिकाले आफ्नो नगर भित्रका सबै बजार पसलमा अनुगमन निरन्तर गरिने जनाएको छ । चौदण्डीगढी नगरपालिकाले आफ्नो बजार अनुगमनका क्रममा जफत गरेको मिति गुज्रेका खाद्यान्न लगायतका सामाग्री जलाएर नष्ट गरेको छ। नगरले गरेको बजार क्षेत्र अनुगमनका क्रममा अनुगमन निर्देशिका २०७५ को दफा १० को (छ) अनुसार जफत गरिएका म्याद समाप्त भएका खाध्य पदार्थहरु जलाएर नष्ट गरेको हो।

कृपया यो पेज Like गर्नु होला

Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया