अन्जनी कुमार अधिकारी
उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिकामा ‘छैटौं संस्करण”को चौदण्डीगढी मेयर फुटबल प्रतियोगिता यही माघ ७ गतेदेखि सुरु हुने भएको छ ।
बिहिबार चौदण्डीगढी नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगितामा नगरका नौ वटा वडाले सहभागिता जनाउने नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगरले जानकारी दिनु भयो । प्रतियोगितामा वडा नम्बर १ भने सहभागी नहुने आयोजकले जनाएको छ । प्रतियोगिता माघ ७ गते सुरु भएर माघ १२ गते सम्पन्न हुने छ । ‘छैटौं संस्करण”को मेयर फुटबल प्रतियोगिता नगरको वडा नम्बर ६ स्थित कालिका माध्यामिक विद्यालयको फिल्डमा हुने छ ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ५५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने दोश्रो हुने टोलीलाई नगद ३५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ । बिहिबार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगितामा हरेक दिन म्यान अफ दि म्याच घोषणा गरिने छ भने प्रतियोगिताका हरेक विधाका उत्कृष्ट खेलाडीलाई नगद, मेडल र प्रमाणपत्रले सम्मान गरिने छ ।
आयोजक चौदण्डीगढी नगर खेलकुद विकास समितिले प्रतियोगिताको टाइसिटका लागि पत्रकार सम्मेलनमै गोला प्रथा द्वारा कुन वडा को संग खेल्ने टुंगो लगाएको थियो । जस अनुसार माघ ७ गते उद्घाटन खेलमा वडा नम्बर ९ ले वडा नम्बर ३ को सामना गर्ने छ । प्रतियोगितामा साविक विजेता वडा नम्बर ६ ले वडा नम्बर १० को सामना गर्ने छ भने वडा नम्बर ४ बाई मा परेको छ । वडा नम्बर २ ले वडा नम्बर ५ को सामना गर्दा वडा नम्बर ७ ले वडा नम्बर ८ को सामना गर्ने छ ।
यस बर्ष बाट नगर खेलकुद विकास समितिले प्रतियोगितामा उत्कृष्ट खेल खेल्न खेलाडीहरुको छनोट गरि दशौं संस्करणको नारदमुनी गोल्डकप फुटबल प्रतियोगितामा बसाहा क्लवका तर्फबाट खेल खेलाउने अवसर प्रदान गराउने छ । यसका लागि उत्कृष्ट खेलाडी छनोट गर्ने एउटा समिति गठन गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष मगरले बताउनु भयो ।
नारदमुनी गोल्डकप उदयपुर जिल्लाकै प्रतिष्ठित गोल्डकप हो । यस बर्षको दशौं संस्करणको नारदमुनी गोल्डकप यही माघ १५ गतेबाट संचालन हुँदैछ । ‘छैटौं संस्करण”को चौदण्डीगढी मेयर फुटबल प्रतियोगिता छनोट भएका उत्कृष्ट खेलाडीलाई छनोट गरि माघ १३ गतेदेखि नै क्लोज क्याम्पमा राखिने छ ।

कृपया यो पेज Like गर्नु होला


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया