अन्जनी कुमार अधिकारी
उदयपुर। व्यावसायिक खेलाडी उत्पादनका लागि भन्दै उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा आयोजित अन्तर विद्यालय अन्डर–१३ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आमशाल मा.वि. विजयी भएको छ।
मंगलबार भएको उद्घाटन खेलमा कालिका मा.वि. शिर्वानीलाई पेनाल्टी सुटआउटमा १ गोलका बिरुद्ध ३ गोल गर्दै आमशालले पराजित गरेको हो ।
खेलको निर्धारित समयमा दुवै टोलीले १ – १ गोलको बराबरी खेलका थिए । खेलको २०औं मिनेटमा कालिका मा.वि. जर्सी नम्बर ८ का समिर कटवालले सुरुवाती गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका भए पनि खेलको ६३औं मिनेटमा आमशाल मा.वि. जर्सी नम्बर १५ का आयुष मगरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टिमबाट गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
मंगलबार भएको खेलमा आमशाल मा.वि. जर्सी नम्बर १० का युवराज राई म्यान अफ दी म्याच घोषित भए । प्रतियोगिताको उद्घाटन चौदण्डीगढी नगरपालिका ४ का अध्यक्ष लुङ्गाराज राईले गरेका थिए । वहाँले पालिका भित्रका १३ बर्ष मुनिका विद्यार्थीहरू सहभागिता हुन पाउने यस प्रतियोगिताबाट उत्पादित उत्कृष्ट खेलाडीहरूलाई क्लोज क्याम्पमा राखेर फुटबल प्रशिक्षण गराई ब्यवसायिक खेलाडी उत्पादन गराउने योजना सहित प्रतियोगिता आयोजना गरिएको बताउनु भयो ।
प्रतियोगिता चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ स्थित नारदमुनी रंगशालामा हुँदैछ । प्रतियोगिता अनुसार बुधबार दुई खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा सगरमाथा मा.वि. भोर्लेनी र जनज्योति आधारभूत अमलचौरी बीच खेल हुने छ भने दोश्रो खेल ब्राइटफ्युचर भोर्लेनी बुधबारे र नारद आदर्श मा.वि. बर्षेडाँडा बीच हुने आयोजक ‘दि गोर्खाज फुटबल एकेडेमी’ चौदण्डीगढी ४ बसाहाका प्रमुख सल्लाहाकार शेखर राईले जानकारी दिनु भयो।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

