
अन्जनी कुमार अधिकारी
बेल्टार। उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगर भित्र आयोजना हुने कुनै पनि खेलकुद प्रतियोगिता आधिकारिक दर्ता भएका क्लव मार्फत खेलाउनु पर्ने निर्णय गरेको छ ।
चौदण्डीगढी नगरपालिकामा बिहिबार नगर खेलकुद विकास समितिको आयोजनामा नगर प्रमुख कालुमान लामा, प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठ सहित समितिका अध्यक्ष नन्दु मगर, बिभिन्न खेलकुद क्लबका प्रतिनीधि, सुरक्षा निकायका प्रतिनीधिहरु, संचारकर्मी लगायतको उपीस्थतीमा यस्तो निर्णय गरिएको हो । छफलफ कार्यक्रममा बोल्दै नगर प्रमुख कालुमान लामाले दर्ता नभएका क्लव वा संघ संस्थाले आयोजना गर्ने कुनै पनि खेलकुद प्रतियोगिताले बिबाद सृजना गर्ने गरेको बताउदै यसको समाधानका लागि नगर खेलकुद विकास समितिले ल्याएको निर्णयलाई कार्यन्वयन गर्नु पर्नेमा जोड दिनु भयो ।
चौदण्डीगढी नगरपालिकाका सबै जसो वडाहरुमा बिभिन्न व्यक्ति, संघ संस्था लगायतले बिभिन्न समयमा खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने गरेको र सोको लागि नगर, वडा वा अन्य तवरबाट आर्थिक सहयोग रकम संकलन गरी प्रतियोगिता संचालन हुँदै आएको तर ति प्रतियोगिताहरुमा झै–झगडा हुने, विवादित भई प्रतियोगिता तोकिएको समयमा सम्पन्न गर्न नसक्ने, प्रतियोगिताको ब्यबस्थापन गर्न नसक्ने, संकलित रकमको आर्थिक पारदर्शिता नगर्ने जस्ता क्रियाकलाप बढ्दै गैरहेकोले त्यस्ता बेतिथी न्युनिकरण गर्न, सुशासित भई नियमपुर्वक प्रतियोगिता संचालन गरी सम्पन्न गर्न प्रतियोगिता संचालन गर्ने क्लब वा संस्थालाई अनिवार्य रुपमा नगर खेलकुदमा दर्ता गर्नुपर्ने गरि नगर खेलकुद समितिले बिहिबार निर्णय गरिएको हो । तर परापुर्वकालदेखी संचालित ईतिहास बोकेको प्रतियोगिताहरुको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिसमा मात्र संचालन गर्ने दिने समेत निर्णय गरेको छ ।
यस्तै नगर खेलकुदमा सुचिकृत नभएर आफुखुशी प्रतियोगिता संचालन गरेमा त्यस्ता क्लब वा संस्थाहरुलाई नगरपालिकाले आर्थिक लगायतका कुनै पनि सहयोग उपलब्ध गराउन बाध्य नहुने तथा प्रतियोगिताबाट उत्पन्न समस्याप्रति आयोजक नै जिम्मेबार हुनु पर्ने समेत निर्णय भएको नगर खेलकुद बिकास समितिका सचिव भास्कर चौधरीले जानकारी दिए ।
छलफलले नगरपालिकामा आयोजना हुने खेल प्रतियोगिताहरुलाई ब्यबस्थित बनाई संचालनका लागि अब खेलकुद क्यालेन्डर निमार्ण गरि कार्यवन्यन गरिने समेत निर्णय गरिएको छ ।
यसअघि छलफलमा सहभागीहरुले नगरस्तरीय प्रतियोगिताहरुको लागि क्लब वा संस्थालाई सुचिकृत गराउन सकिने भएपनि रमाईलोका लागि आयोजना गरिने खेल प्रतियोगिताका आयोजक क्लब वा संस्थाहरुलाई आर्थिक तथा ब्यबहारिक रुपमा सुचिकृत हुन बाध्य पार्दा खेल गतिबिधी नै सुस्ताउने होकी पनि आशंका व्यक्त गरेका थिए । उनीहरुले वडास्तरीय खेलकुद प्रतियोगिता संचालन गर्न वडा खेलकुद समिति वा वडा कार्यालय र नगरस्तरीय खेलकुद प्रतियोगिताका लागि नगर खेलकुद समितिसंग अनुमति लिएर संचालन गर्न दिदा उपयुक्त हुने धारणा पनि राखेका थिए ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.



