कृपया यो पेज Like गर्नु होला

अन्जनी कुमार अधिकारी

बेल्टार । बेल्टारमा हरेक बर्ष विजया दशमी तथा तिहारको उपलक्षमा हुँदै आएको खसी कप फुटबल प्रतियोगिता यस बर्ष पनि संचालन हुने भएको छ । प्रतियोगिता संचालन हुने भएपछी आयोजकले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजनाका बारेमा जानकारी गराएको हो ।

२८ औं संस्करणको खसी कप प्रतियोगिता आगामी असोज १५ गतेदेखी संचालन पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । तत्कालिन बेल्टार गा.बि.स. हुँदाको अवस्था देखी संचालन हुदै आएको चौदण्डीगढी नगरपालिकाकै पुरानो मध्येको एक बेल्टार बजारस्तरीय खसी कप फुटवल प्रतियोगिताको नाम यस पटक देखी भने परिमार्जित गरेर “बेल्टार दशैं कप” राखिएको आयोजक कल्याण चोकका बुद्धि सुप्तिहाङ्गले जानकारी दिए ।

आयोजक कल्याण चौकका सल्लाहकार समेत रहेका बुद्ध सुप्तिहाङ्गले चौक स्तरीय प्रतियोगितालाई अलिक फराकिलो बनाउने उदेश्यले प्रतियोगिताको नाम परिवर्तण गरिएको समेत बताएका छन् । उनले यस पटकबाट प्रतियोगितामा खेलाडीलाई टिम प्रबेशमा खुल्ला गरिएको पनि जानकारी दिएका छन् । हरेक बर्षको प्रतियोगितामा विजेता हुने टोलिले आयोजकको भूमिका पाउने प्राबधानअनुसार अघिल्लो बर्षको बिजेता  कल्याण चौकले यस बर्ष  प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको हो । अघिल्लो बर्ष आयोजक दुवारहाङ्ग दुवारहाङ्गमा युवा समुहको श्रीपञ्चमी टिमलाई १ – ० गोल अन्तरले पराजित गर्दै कल्याण चौकले उपाधीसंगै आयोजकको जिम्मेवारी पाएको थियो ।

पत्रकार सम्मेलनमा आयोजक कल्याण चौकका कार्यबहाक अध्यक्ष विशाल राईले यस पटक प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको र प्रतियोगिता असोज १५ गतेदेखी असोज २५ गतेसम्म संचालन हुने जानकारी दिएका छन् । उनले प्रतियोगिताको विजेताले अर्को पटकको आयोजकको जिम्मेबारीसंगै खसी, ट्रफी, मेडल र नगद पुरुस्कार प्राप्त गर्ने , त्यस्तै उपविजेताले २० केजी कुखुरा, ट्रफी, मेडल र नगद पुरुस्कार प्राप्त गर्ने बताएका छन् । त्यस्तै विद्यागतरुपमा उत्कृष्ट सात बिद्याका उत्कृष्ट खेलाडीलाई ट्रफी र नगद पुरुस्कार र प्रत्येक खेलका म्यान अफ दि म्याचलाई नगद १५ सय रुपैयाँ र मेडल प्रदान गरिने जानकारी दिएका छन् ।

प्रतियोगितामा सहभागी हुन टिमले ३५ सय ५० रुपैयाँ ईन्ट्री फि को रुपमा बुझाउने पर्नेछ भने प्रतियोगिता संचालनमा करिव ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका लागि नगरपालिका, वडा कार्यालयहरु, प्रायोजक र देश विदेशमा रहेका सहयोगीहरुलाई आग्रह गरिएको राईले बताएका छन् । प्रतियोगिता अन्तर्गतका सबै खेलहरु बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा खेलिने र एन्फको नियमअनुसार खेल खेलाईने आयोजकले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको खेल तालिका ट्राईसिट पनि सार्वजनिक गरिएको थियो । सार्वजनिक खेल तालिका अनुसार उद्घाटन खेल असोज १५ गते आयोजक कल्याण चौक निलो र बरगाछी टिमविच हुनेछ । यस्तै प्रतियोगिताको क्बाटर फाईनलका खेलहरु असोज १९ गतेबाट शुरु हुनेछ । त्यस्तै पहिलो समेफाईनल खेल असोज २३ गते र दोश्रो सेमिफाईनल खेल असोज २४ गते हुनेछ । फाईनल खेल भने असोज २५ गते दिउँसो २ बजेबाट हुने आयोजकले जानकारी दिएको छ ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया