अन्जनी कुमार अधिकारी
बेल्टार। भगवती क्लब टोखाको आयोजनामा भएको रोड टु टोटनह्याम कार्यक्रम अन्तर्गत छनोट हुन सफल फुटबल खेलाडीहरुको पहिलो टोलीमा पर्न सफल उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर २ सुंघारेका प्रमिस थापालाई चौदण्डीगढी नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेर बिहिबार सम्मान तथा विदाई गरेको छ ।
बिहिबार नगर प्रमुख कालुमान लामा, उपप्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकीय अधिकृत जित बहादुर श्रेष्ठ, शिक्षा शाखा प्रमुख रामेश्वर कुँवर, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगर सहित उपस्थितिमा रोड टु टोटनह्याम कार्यक्रममा छनोट प्रमिस थापालाई सम्मान तथा विदाई गरिएको हो ।
भारत बेङलरुको किकस्टार्ट टोटनहम खुला ट्रायल प्रतियोगिता अन्तर्गत श्री भगवती क्लब टोखाको पहलमा सञ्चालन भएको छनोटमा कुल ३५ सयभन्दा धेरै खेलाडीहरू सहभागी थिए जस मध्ये चौदण्डीगढी नगरपालिका वडा नम्बर २ सुंघारेका प्रमिस थापा छनोट हुन सफल भएका थिए ।
छनोट भएका प्रमिस थापा यस अघि बेङ्गलोर गएर त्यहाँ तीन दिन सम्म शारीरिक, खेल कौशलता परीक्षणका साथै अन्य प्रशिक्षण र किक स्टार्टले आयोजना गरेको प्रतियोगितामा सहभागिता जनाएर फर्किएका थिए । बेङ्गलोरमा भएको परीक्षणमा समेत छनौट हुन सफल प्रमिस थापा अब आवश्यक प्रकृया पुरा गरे पश्चात पुन: एकेडेमीमा प्रशिक्षण लिन जाने तयारीमा थिए । दोश्रो पटक प्रशिक्षणका लागि जान लागेका थापालाई बिहिबार नगरले सम्मान गर्दै उच्च सफलताको कामना सहित विदाई गरेको हो ।
अब बेङ्गलोरमा हुने प्रशिक्षणमा पनि थापा उत्कृष्ट हुन सफल भए इंगलैंड स्थित टोटनह्याम क्लव उनले टिकट काट्ने छन् ।
बिहिबार थापाको सम्मान तथा विदाई कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले यो एउटा गौरवको कुरा भएको भन्दै आफ्नो नगरको नाम मात्र नभएर देशकै नाम टोटनह्याम क्लव मार्फत पुरै विश्वमा हुनेमा आफु आशावादी रहेको भन्दै लगनशील, मेहनती र कार्यनिष्ठ प्रशिक्षणमा सहभागी हुँदै इंगलैंड स्थित टोटनह्याम क्लव टिकट मिलोस् भन्ने शुभकामना ब्यक्त गर्नु भयो । नगरले यातायात बापतको केही खर्च हाल उपलब्ध गराएको भएपनि त्यसलाई अन्यथा नसोची आफ्नो यात्रामा अगाडी बढ्न समेत आग्रह गर्नु भयो ।
नगर उपप्रमुख मणिकादेवी दुलालले केही समय पहिला आफुले एउटा भकुण्डो दिएको स्मरण गर्दै आज उक्त हौसलाले यति ठुलो खुशी दिएकोमा आफु मात्र नभएर चौदण्डीगढी नगरपालिकानै गौरवान्वित भएको बताउनु भयो ।
श्री भगवती क्लब टोखाको पहलमा सञ्चालन भएको छनोटमा देश भरका कुल ३५ सयभन्दा धेरै खेलाडीहरू सहभागी भएकोमा ३६ सदस्यीय टोली छनौट भएको थियो ।

कृपया यो पेज Like गर्नु होला

 


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया