समाचार/लेखलाई सेयर गर्नुहोस् ।

 

कृपया यो पेज Like गर्नु होला

इलाम। यही वैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङको पक्षमा जनलहर देखिएको छ ।

आफ्नो निर्वाचन क्षेत्रका जुन गाउँ पुगेपनि सुहाङलाई भेट्न र सहयोग गर्न इच्छुक मतदाताको भिड लागिरहेको छ । एमाले उम्मेदवार सुहाङलाई नेकपा (माओवादी केन्द्र), नेपाल परिवार दल र नेपाल कम्युनिस्ट पार्टीसमेतले समर्थन गरेपछि जित सुनिश्चित भएको ती दलका नेताहरूले बताइरहेका छन् ।

उम्मेदवारी मनोनयन दर्ता गराएपछि चुलाचुली गाउँपालिकाबाट घरदैलो र चुनावी सभामा निस्किएका सुहाङलाई टोलैपिच्छे मतदाताले भोट हाल्ने विश्वास दिलाइरहेका छन् । चुलाचुलीबाट माङसेबुङ, फाकफोकथुम र देउमाईको घरदैलो सकेर इलाम नगरपालिका छिरेका सुहाङलाई हजारौं मतदाताले घरदैलो र चुनावी सभामा साथ दिइरहेका छन् ।

अधिवक्तासमेत रहेका ३२ वर्षे सुहाङलाई विद्यार्थीदेखि ज्येष्ठ नागरिकसमेतले भोट हाल्ने प्रतिबद्धता गरिरहेका छन् । उनीहरूले यो उपनिर्वाचनमा उम्मेदवारी दिएकामध्ये सुहाङ सबैभन्दा योग्य युवा उम्मेदवार भएको, सरल व्यक्तिगत स्वभाव र इमान्दार छवि भएकाले पनि सुहाङलाई नै भोट दिने विश्वास दिलाइरहेका छन् ।

सुहाङलाई यसअघि यही क्षेत्रबाट निर्वाचित उनकै बुबा सुवासचन्द्र नेम्बाङको प्रभावले पनि आउँदो उपनिर्वाचनमा विजयी बन्न साथ दिएको छ । सुवास यही क्षेत्रबाट विजयी भएर दुई पटकसम्म सर्वसम्मत रूपमा संविधानसभा अध्यक्ष भएका थिए । सुवासकै नेतृत्वमा देशले संविधान पाएको थियो ।

सुवासले देशका लागि र आफ्नो निर्वाचन क्षेत्रका लागि गरेको योगदानको ‘धन्यवाद’ अहिले सुहाङले पाइरहेका छन् । र, त्यसैको सम्मानस्वरूप सुहाङलाई नै उपनिर्वाचनमा जिताउन एमाले, माओवादी, परिवार दल र नेकपाका मात्र होइन, अरू दलका मतदातासमेत उत्साही देखिएका छन् ।

‘म एमालेको मतदाता होइन तर यो पटक जसरी भएपनि सुहाङलाई जिताउनुपर्छ,’ देउमाई नगरपालिकाकाको चुनावी सभामा आएका एक युवकले भने, ‘सुहाङ आफैंमा सबैभन्दा योग्य उम्मेदवार हुन्, त्यसमा पनि उनका बुबाले देशका लागि र इलामका लागि गरेको योगदानको कदर गर्न पनि सुहाङलाई जिताउनुपर्छ ।’ उनले इलाम र क्षेत्र नम्बर २ को विकासमा अझै धेरै काम अधुरै रहेको तर बाँकी काम पनि सुहाङले मात्रै गर्नसक्ने बताए ।

चुलाचुली, माङसेबुङ, फाकफोकथुम र देउमाईमा सुहाङले मतदाताको अपार माया र हौसला पाएका छन् । ‘चार पालिकाको घरदैलो मैजारौ गर्दैगर्दा पाएको तपाइँहरूको अपार माया र हौसलाले अब चुनाव जित्ने निश्चित भएको मलाई लागिरहेको छ,’ सुहाङले देउमाई नगरको एक चुनावी सभामा भनेका छन्, ‘म तपाइँहरूको विश्वासलाई सधैं शिरमा राख्नेछु, इलामबासी र इलामको समृद्धिलाई सधैं शिरमा राख्नेछु ।’

सुहाङ मतदाताकहाँ पुग्दा किसोर–किसोरी र युवापिँढी उनीसँग सेल्फी खिच्न, सर्ट भिडियो बनाउन र हात मिलाउन लालयित देखिन्छन् । कतिपय युवतीले उनलाई चुनावी सभामै म्वाइँसमेत खाइरहेका छन् । सुहाङलाई चुनाव जिताउन आग्रह गर्दै विद्यार्थी र युवाले दर्जनौं सर्ट मुभी आफैं बनाएर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।

सुहाङ भोट माग्दै घर आएको देखेपछि कतिपय ज्येष्ठ नागरिकका आँखा रसाएको देखिएको छ । विगतमा उनका बुबा सुवाससँगको सामीप्य, देशप्रेमी र विकासप्रेमी भावनाले सुवासका साथीसंगी सुहाङलाई आफ्नै छोराझैं सम्झिएर भक्कानिने गरेका छन् । उनीहरूले सुहाङलाई विजयी हुन ‘आशीर्वाद’ दिइरहेका छन् ।

‘तिमी पनि बुबाजस्तै असल, इमान्दार र देशलाई सधैं माया गरिरहने छोरो बन्नू है बाबु,’ सुहाङलाई चुलाचुली १ की ज्येष्ठ नागरिक हर्कमाया लावतीले आशीर्वाद दिँदै भनिन्, ‘देशका ठूला नेता र तिनका छोराछोरीका नराम्रै मात्र समाचार आएको आयै छन्, हाम्रा नेता सुवासको कहिल्यै त्यस्तो नराम्रो खबर सुन्नुपरेन । तिमीले यो चुनाव जित्छौ तर तिमी पनि बुबाजस्तै इमान्दार बन्नू है बाबु ।’ देउमाई नगरको चुनावी सभामा उपस्थित दसौं हजारको भिडले पनि सुहाङ विजयनजिक रहेको देखाउँछ ।

इलाम बजारकै सुन्तलाबारी घर भएका सुहाङलाई निर्वाचन क्षेत्रकै सबैभन्दा बढी मतदाता भएको इलाम नगरपालिकाका बासिन्दाले समेत उसैगरी साथ दिइरहेका छन् । शनिबार बिहानैदेखि घरदैलोमा इलाम नगरपालिका छिरेका सुहाङलाई स्वागत गर्न टोलैपिच्छेका मतदाता तयार भएर बसेका छन् ।

‘इलाम बजार र यो नगरपालिकाका सयौं युवा पनि यसपटक सुहाङलाई भोट दिन आतुर छन्,’ एमालेमा आबद्ध नभएपनि सुहाङलाई समर्थन गर्न तयार इलाम बजारका एक युवकले सुनाए, ‘एमालेमा नभएका मजस्ता सयौं युवा अहिले सुहाङलाई नै जिताउन खोज्दैछन् । किनभने, सुहाङले जितेर गए उनले इलामका लागि त विकासको लहर ल्याउने नै छन्, उनी सुवास नेम्बाङझैं देशको एक इमान्दार र उच्च ओहोदाको नेता बन्नेछन् ।’

इलाम बजारकै अर्की युवतीले देश नेताकै कारण भ्रष्टाचारको दलदलमा फसिरहेका बेला सुहाङजस्ता इमान्दार नेता देशलाई आवश्यक परेको बताइन् । ‘अहिले देशका नेतामा इमान्दारिताको सबैभन्दा ठूलो खडेरी छ,’ उनले भनिन्, ‘त्यही इमान्दार नेता जन्माउन पनि इलामले सुहाङलाई विजयी बनाउनुपर्छ ।’

सुहाङलाई उम्मेदवार छनोट गर्दैगर्दा एमालेले जिल्लाबाट छ जनाको नाम सिफारिस गरेको थियो । सुहाङसँगै उम्मेदवार बन्ने होडमा रहेका बाँकी पाँचैजना अहिले सुहाङसँगै चुनावी अभियान र घरदैलोमै छन् ।

उम्मेदवारको आकांक्षी रहेका पार्टी जिल्ला उपसचिव रवीन्द्र सुवेदी अहिले हरेक चुनावी घरदैलोमा आफैं पुगेर सुहाङलाई जिताउने मोर्चाको अगुवाई गरिरहेका छन् । ‘जिल्लाबाट सिफारिसमा परेका छ जनामध्ये एकजना मात्रै उम्मेदवार बन्ने कुरा त सबैलाई थाहै थियो नि,’ उनले भने, ‘मेरो ठाउँमा सुहाङको नाम आयो त के भो, उहाँकै जित मेरो जित हो, मेरो नाम आएको भएपनि मेरो जित नै उहाँको जित हुनेथियो । जो छानियो, उसलाई दिलोज्यान दिएर जिताउने हाम्रो कर्तव्य र जिम्मेवारी हो, जिताउँछौं पनि ।’

अर्का आकांक्षी बुद्धिप्रसाद खनाल यही क्षेत्रको पार्टी संयोजक भएकाले पनि उनी चुनावी अभियानमा सधैं सुहाङसँगै छन् । आकांक्षीहरू डा.देवी क्षेत्री दुलाल, नरेन्द्रनाथ भट्टराई र रिपल राई पनि सुहाङलाई भोट जिताउन आफैं कम्मर कसेर मैदानमा छन् । ‘सुहाङलाई उम्मेदवार बनाउँदा यस्तो हुन्छ र उस्तो हुन्छ भनेर गरिएका सबै गलत अनुमान अहिले फेल भएका छन्,’ डा.दुलाल भन्छन्, ‘हामी सबैको लक्ष्य सुहाङलाई र पार्टीलाई जिताउने छ ।’

खनाल पनि अहिले सबै आकांक्षी एक भएर पार्टीलाई जिताउन लागिपरेको बताउँछन् । ‘उम्मेदवारको आकांक्षी हुञ्जेल हामीबीच प्रतिस्पर्धा नै थियो,’ उम्मेदवारका आकांक्षी खनाल भन्छन्, ‘तर, पार्टीले उम्मेदवार फाइनल गरिसकेपछि नयाँ जोसका साथ हामी पार्टीका साझा उम्मेदवार जिताउन लागेका छौं, सुहाङको विजय हामी सबैको विजय हो, उहाँलाई जिताउँदा पार्टीले जित्छ, पार्टीका नेता–कार्यकर्ता हामी सबैले जित्नेछौं ।’

एमाले नेतामात्र होइन, माओवादीका नेता–कार्यकर्तासमेत अहिले साझा उम्मेदवार सुहाङलाई जिताउन जाँगरसाथ लागेका छन् । माओवादी केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमणसहित पार्टीका प्रदेश र जिल्ला तहका सबैजसो नेता अहिले सुहाङसँगै घरदैलोमा छन् ।

‘केन्द्रीय नेतृत्वले साझा उम्मेदवारका रूपमा सुहाङलाई जिताउन निर्देशक दिएपछि हाम्रो पार्टी पंक्ति अहिले संयुक्त रूपमा घरदैलो अभियानमा छ,’ केन्द्रीय सदस्य शर्माले भने, ‘यो निर्वाचनमा सहकार्यमात्र होइन, कम्युनिस्ट एकताको आधार पनि भएकाले माओवादी जोस, जाँगर र उमंगसहित चुनावी मैदानमा डटेको छ ।’

परिवार दल अध्यक्ष एकनाथ ढकालले सुहाङलाई जिताउन आफ्नो पार्टी लागिपरेको देउमाई नगरपालिकाको चुनावी सभामा बताएका छन् । ‘अहिले इलामको उपनिर्वाचनमा हाम्रो पार्टीका उम्मेदवार भनेकै सुहाङ नेम्बाङ हुनुहुन्छ,’ उनले भनेका छन्, ‘हाम्रो पार्टी प्रतिनिधि नै सुहाङ भएकाले उहाँलाई सूर्य चिह्नमा मतदान गरी विजय गराउन आग्रह गर्छु ।’

नेकपाका नेता होम खतिवडाले पनि सुहाङ कम्युनिस्टहरूको साझा उम्मेदवार भएको भन्दै उनलाई जिताउन मतदातालाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया