अन्जनी कुमार अधिकारी
बेल्टार। राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नारा सहित चौदण्डीगढी नगरपालिकामा उदयपुर जिल्ला स्तरीय ७औं मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८० सम्पन्न भएको छ ।
प्रतियोगितामा मेन्स डबल “बि” डिभिजन तर्फ जिल्लाका ६४ टिम सहभागी थिए भने भेट्रान्स डबल ९०+ मा जिल्लाका ३२ टिम सहभागी थिए । प्रतियोगिता चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ४ स्थित स्व. सनत कुमार राई कभर्डहलमा भएको थियो । गत फागुन २४ गते चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले उद्घाटन गर्नु भएको उक्त प्रतियोगिताको शनिवार एक कार्यक्रमका बीच मेयर लामाकै प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।
प्रतियोगितामा मेन्स डबल “बि” डिभिजन तर्फ सुजल चौधरी र प्रदिप राई प्रथम भए भने संजय राई र सरोज तामांगको जोडी दोश्रो भएको थियो । मेन्स “बि” डिभिजन तर्फ तेश्रो स्थान भने रोहित तामांग र राजकुमार राई अनि सुस्मित भुजेल र बिशाल राईको जोडी भएको थियो । मेन्स डबल “बि” डिभिजन तर्फ प्रथम, द्धितीय र तेश्रो स्थान प्राप्त गर्नेले क्रमश २० हजार, १२ हजार र ४-४ हजार नगद सहित सिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेका थिए ।
उदयपुर जिल्ला स्तरीय ७औं मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८० को भेट्रान्स डबल ९०+ तर्फ सन्तोष कटवाल र राजेन्द्र खड्का प्रथम भए भने चित्र थापा र गम्भीर दनुवारको जोडी दोश्रो हुदाँ देवी राई र दिपक राई त्यस्तै शसिचन्द्र राई र दिनेश बिष्टको जोडीले तेश्रो स्थान हासिल गरे । मेन्स भेट्रान्स डबल ९०+ तर्फ प्रथम, द्धितीय र तेश्रो स्थान प्राप्त गर्नेले क्रमश २० हजार, १२ हजार र ४-४ हजार नगद सहित सिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेका थिए ।
प्रतियोगिताको विजयी टोलीलाई नगर प्रमुख कालुमान लामा, पुर्व नगर प्रमुख खगेन्द्र राई, वडा अध्यक्ष लुङ्गाराज राई, चौदण्डीगढी नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगर लगायतले सिल्ड, मेडल, प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।
प्रतियोगिता चौदण्डीगढी नगरपालिकाको सहयोग तथा बसाहा ब्याडमिन्टन क्लबको आयोजनामा संचालन गरिएको थियो ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

