सदस्य सचिवले विष्टले उद्घाटन गर्ने
उदयपुर माघ २५ ।
फुटवलको माध्यमबाट उदयपुरको पहिचानलाई देश विदेशमा स्थापित गर्ने उद्देश्यले सुरु गरिएको चौथो रमपम उदयपुर गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । विहिवार देखि सुरु हुने खेलको लागि खेलाडी र रेफ्रीको टिम आज आईपुग्ने मुल आयोजक समितिले जनाएको छ । खेल संचालन हुने थारुहट उदयपुर रंगशालाको प्याराफिट र खेल मैदान व्यवस्थित गर्ने कार्य सकिएको मूल आयोजक समितिका संयोजक किरण राईले जानकारी दिए ।
संयोजक राईका अनुसार उद्घाटन खेलको लागि संकटा क्लब काठमाण्डौ र धरान फुटवल क्लब सुनसरीको खेलाडीहरुको टोली आज आईपुग्ने छ । ‘एन्फाबाट रेफ्री र प्राविधिकहरुको टोली समेत आज आईपुग्छ, खेलाडी र रेफ्रीको टोलीको लागि बासको व्यवस्थापन गरिसकिएको छ ।’ संयोजक राईले भने ‘खेलको उद्घाटन गर्न नेपालको खेलकुदको सर्वाेच्च संस्था राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट विहिवार आईपुग्नु हुने छ ।’
स्थानीय विद्यालयका विद्यार्थीहरुले उद्घाटन समारोहको मार्चपास गर्ने गरि मिलाएको गोल्डकपमा कोषाध्यक्ष प्रदिप श्रेष्ठले बताए । मूल आयोजक समितिका कोषाध्यक्ष श्रेष्ठले भने ‘ चौथो रमपम फुटवल प्रतियोगिताको लागि आर्थिक संकलन चाँही जारी रहेको छ ।’ माघ २७ देखि सुरु हुने उदयपुर गोल्डकपको चौथो संस्करणको प्रयोजन रमपम चाउचाउले गर्ने छ । श्रेष्ठका अनुसार गोल्डकपको सहप्रायोजक माओवादी केन्द्रकी सांसद भेष कुमारी राउतले द्धितिय पुरस्कारको रकम दिएकी छिन भने, रौता कन्ट्रकसन, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, हिमाली यातायात व्यवसायी संघ, गोर्खा ब्रुअरी प्रालिले समेत गोल्डकपलाई सहयोग गरेको छन । साथै विराटनगरबाट प्रशारण हुने मकालु टेलिभिजनले उदयपुर गोल्डकपको उद्घाटन खेल, २ सेमिफाईलन र फाईनल खेलको प्रत्यक्ष प्रशारण गर्ने सम्झौता भएको मुल आयोजक समितिका संयोजक किरण राईले बताए । राईले भने ‘चौथो रमपम उदयपुर गोल्ड कप २०७३ मा मकालु टेलिभिजनबाट प्रत्यक्ष प्रशासरण गर्ने गरि टिभिका कार्यकारी निर्देशक (सिईओ) दिबस सुबेदी सँग सम्झौता भएको छ ।’ गोल्डकपमा ए डिभिजनका ४ वटा क्लब र क्षेत्रीय स्तरका ३ टिम र आयोजक उदयपुर ११ विच प्रतिस्पर्धा हुने छ । उद्घाटन खेल संकटा क्लब काठमाण्डौ, धरान फुटवल क्लब सुनसरी विच हुने छ भने शुक्रबार हिमालयन शेर्पा काठमाडौ र उदयपुर ११ विच प्रतिस्पर्धा हुने जनाईएको छ ।’ त्यसै गरि शनिवारको खेल एपीएफ क्लब काठमाण्डौ र मोरङ ११ विच विचमा हुनेछ भने, पहिलो चरणको अन्तिम खेल फागुन १ गते आईतबार झापा फुटवल क्लब झापा र रुपन्देही ११ को विचमा कडा प्रतिस्पर्धा हुनेछ । स्वास्थ्य, अनुशासन र राष्ट्रिय एकता र सदभावका लागि उदयपुर गोल्डकप भन्ने नाराका साथ फुटवल प्रतियोगिता फागुन ५ गते सम्म संचालन हुने फुटवल नक आउटको आधारमा खेलाईने छ । गोल्डकप विजेतालाई नगद २ लाख, शिल्ड र प्रमाणपत्र र उपविजेतालाई एकलाख नगद राशी र शिल्ड प्रदान गरिने छ । २०६८ सालमा सुरु गरिएको गोल्डकप यस बर्ष आफ्नै थारुहट उदयपुर रंगशालामा संचालन हुने छ । रंगशालामा ४ वटा आधुनिक प्याराफिट निर्माण गरिएको छ । प्याराफिटको क्षमता ३५ सय दर्शकको बनाइएको छ । जिल्ला विकास समिति उदयपुर, त्रियुगा नगरपालिकाको सहयोग तथा जिल्ला फुटवल संघ उदयपुरको आयोजनामा गोल्ड कप फुटवल प्रतियोगिता हुन लागेको हो ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.


सदस्य सचिवले विष्टले उद्घाटन गर्ने