समाचार/लेखलाई सेयर गर्नुहोस् ।

उदयपुर : संखुवासभाको भोटखोलामा अरुण नदी थुनिएपछि उदयपुरको सप्तकोशीको तटीय क्षेत्रमा सर्वसाधारणलाई सजग गराउन स्थानीय प्रशासनले माइकिङ गरेको छ। बरुण नदीमा आएको बाढीले अरुण नदी थुनिएपछि ताल विस्फोटा हुँदा हुनसक्ने मानवीय क्षति रोक्न तटीय क्षेत्रमा माइकिङ गरिएको हो।

कृपया यो पेज Like गर्नु होला

प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले तटीय क्षेत्रमा पर्ने बेलका नगरपालिका २ र ३ श्रीलंका आसपासका क्षेत्रमा प्रहरी, रेडक्रस सोसाइटी लगायतले माइकिङ सुरु गरेको जानकारी दिए। ‘बरुण नदीले बगाएर ल्याएको ढुंगा गिटी बालुवाले अरुणलाई छेकेर ताल बनेको जानकारी आएको छ,’ प्रमुख जिल्ला अधिकारी पराजुलीले भने, ‘सप्तकोशी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सचेत गराउन माइकिङ सुरु गरेका छौं।’

अरुण नदीले बनाएको तालको पानी २५ प्रतिशत मात्र बगेको कारणले गर्दा एकैचोटी ताल फुट्दा हुने क्षतिलाई कम गर्न उदयपुर तर्फ माइकिङ सुरु गरेको पराजुलीको भनाइ छ। ‘एकसय ५० देखि २ सय घर परिवार उदयपुरको भूभागमा पर्छन्,’ प्रजिअ पराजुलीले भने ‘एकैचोटी ताल फुटेर पानी बग्यो भने ठूलो क्षति हुनबाट रोक्न प्रशासनले माइकिङ सुरु गरेको हो।’ जिल्लाको श्रीलंका टापु अन्तर्गत पर्ने बेलका नगरपालिका २ र ३ नम्वर वडा अर्थात साविको रामपुर गाविस ३ र तपेश्वरी गाविस २ भागलपुर लगायतमा शुक्रबार दिउँसो माइकिङ गरिएको रेडक्रस तपेश्वरीका सभापति धुर्व कोईरालाले जानकारी दिए।

‘अहिले हामी प्रहरी सहित माईकिङ गर्न श्रीलंका टापु आसपास छौ’ कोइरालाले भने, ‘मैले सुने अनुसार सुनसरी र उदयपुर प्रशासनले तटीय क्षेत्रमा सर्वसाधारणलाई सचेत बस्न आग्रह गरेको  छ।’ अरुणको बाढीले सप्तकोशी समेत धमिलो आएकाले सर्वसाधारण समेत त्रसित बनेको तटीय क्षेत्रमा पुगेको प्रहरीले जानकारी दिएको छ। कोशी आसपासका बासिन्दाहरु एकैठाँउमा जम्मा भएर बसेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया