उदयपुर । उदयपुरमा कोरोना भाइरसबाट एक व्यापारीसहित चार  जनाको मृत्यु भएको छ । शनिबार बेलुका र आईतबार बिहान ४०, ६३, ५६ र ६० बर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
यो सँगै मृतकको संख्या उदयपुरमा ११ पुगेको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइका अनुसार कोरोना भाइरसको संक्रमणपछि उपचारको क्रममा त्रियुगा नगरपालिका ३ घर भई गाईघाट बजारमा व्यापार गर्दै आएका ४० बर्षिय व्यापारीको शनिबार बेलुका मृत्यु भएको हो ।
संक्रमण देखिएपछि उनलाई परिवारले पाँच दिनअघि झापाको विएनसी अस्पतालमा भर्ना गरेका थिए । त्यसैगरी कोरोनाबाट संक्रमित भएका त्रियुगा नगरपालिका १० का ६३ बर्षिय पुरुषको उदयपुर कोभिड अस्पताल चौदण्डिगढी नगरपालिका ७ मा शनिबार बेलुका मृत्यु भएको छ ।
चौदण्डिगढी नपाका स्वास्थ्य शाखा प्रमुख तेजबहादुुर पोखरेलका अनुसार कोरोना देखिएपछि उनलाई अस्पतालमा भर्ना गरी राखिएको थियो । शनिबार दिउँसोसम्म सामन्य अवश्थामा रहेका उनी संक्रमणबाट आत्तिएर हृदयघातबाट ज्यान गएको हुन सक्ने प्रजिअ सेर्डाइले बताए । उदयपुर कोभिड अस्पतालमा विरामी भएका मध्ये मृत्युको घटना यो पहिलो हो ।
त्यसैगरी ज्वरो र रुघाखोकी लागेपछि उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा भर्ना भएका चौदण्डिगढी नपा ५ का ५६ बर्षिय पुरुषको नोवेल अस्पतालमा आईतबार बिहान मृत्यु भएको छ । अस्पताल आएका उनलाई कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि वार्डमा भर्ना गरी उपचार गरिएको थियो ।
त्यसैगरी विराटनगरस्थित ग्रिनक्रस अस्पतालमा त्रियुगा नपा १२ का ५१ बर्षिय पुरुषको शनिबार बेलुका मृत्यु भएको छ । तीन दिनअघि दमको विरामी भई उपचारका लागि विराटनगर पुर्याइएका उनलाई गोल्डेन अस्पताल विराटनगरले कोरोना पुष्टि गरेको थियो । कोरोना पुष्टिपछि अस्पतालले उपचार नगरेपछि उनलाई परिवारले ग्रिनक्रसमा पुर्याएको थियो ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया