– कौशल चेम्जोङ

कृपया यो पेज Like गर्नु होला

प्रश्न कसलाई सोध्नु पर्छ ? शक्ति र सामर्थ्यहीनलाई प्रश्न सोध्दा लाचार जवाफ आउँछ । तर जोसँग शक्ति र सत्ता छ ऊसँग प्रश्न सोध्दा प्रश्नले पनि गरिमा पाउँछ । त्यसैले यतिखेर माधवकुमार नेपाल र झलनाथ खनालहरूसँग धेरै प्रश्न भए पनि ती महत्वहीन हुन पुगेका छन् । किनभने यी दुवैसँग यतिखेर सत्ता र शक्ति छैन । यसबेला केपी ओली शर्मासँग ‘शक्ति र सत्ता’ छ । आमालाई नसोधिकन ‘बा बा’ भनेर चिच्याउने छोराछोरीहरूको भीडले ओलीलाई ‘मानस बा’ मात्र होइन शक्तिशाली समेत बनाएको छ ।

उनी पार्टीभित्र कम्युनिष्ट नीति, सिद्धान्त अनि जनताको बहुदलीय जनवादको कुरा उठाउनेलाई ‘बा को शत्रु’ ठान्छन्, फुटेको आँखाले देख्न सक्दैनन् । र, सत्ता र शक्तिको दुरुपयोगको कुरा गर्नेबित्तिक्कै ठाडै जाइ लाग्छन् । मानौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘गर्भे जनरल’ हुन्, जसलाई गर्भमा हुँदा र स्वरुप लिएर जन्मँदा पनि सँधैसँधै स्यालुट ठोक्नु पर्छ ! ? मानौं उनी अजम्बरी हुन्, कालजयी हुन् । उनको सत्ताको मृत्यु कल्पनै गर्न नसकिने, घट्नै नसक्ने घटना हो ।

कथित तल्लो भनिएका मीन विश्वकर्मालाई तुच्छ शब्द प्रयोग गर्न सक्नेले मोहन बस्नेतलाई किन केही भन्न सकेनन् ? इँटका जवाफ पथ्थरले किन दिन सकेनन् ?

त्यसो होइन भने आमाको गर्भलाई किन लाज पार्ने कुरा गर्या ? आत्मसमीक्षा नगरिकनै किन एकोहोरो पार्टी (आमा) लाई यौनपिपासु (विधानविपरित चल्ने) बाबाट जोगाउने प्रयत्न नगर्या ? यस्ता छोराछोरी या त बतासे हुन् वा यिनले आफ्नो बालाई नचिनेर वा चिनेर पनि स्वार्थसिद्ध नहुने देखेकोले ‘झड्केलो बा’ को शरणमा त्वंमशरण बोलेका हुन् ।

यस्तो बेला मोहन बस्नेत (कर्कटपाता काण्डका नायक ?) हरू हाकाहाक्की ‘कम्युनिष्ट डाँका’ भन्दै डुक्रँदा छन् । यसबेला बाका छोराछोरीहरू मज्जा लिई लिई हाँसेका छन् । साइबर स्यालहरू पनि हुइयाँ बोल्न सकेका छैनन् । अनि कतिपय त स्यालको सिङ उम्रेको हेर्न तमासे बन्ने पर्खाइमा छन् । यस्तो किन भयो ? काम गर्न दिएन भन्दै कोकोहोलो मच्चाउने अनि मेरा पालामा यति काम भए उति काम भए भन्दै औंला भाँचेर गन्न नसकिने उपलब्धी देखाउनेहरूले भन्नुपर्यो, राजा नाङ्गै छ भन्ने सामर्थ्य कथाको नाबालक केटोसँगै मात्र छ ?

होइन भने जनताले भर गरेर दुईतिहाईको नजिक जनमत दिएका कम्युनिष्टहरू यति चाँडै किन स्खलित हुन पुगे ? के कम्युनिष्टलाई सत्ता फाप्दैन ? बाका हनुमानहरूसँग दुखेसो छैन हनुमानको काम नै हो रामले जे गरे पनि मान्य हुने । तर हनुमान पुज्ने छोराछोरी देख्दा भने साह्रै उदेक लागेर आउँछ । ‘कम्युनिष्ट डाँका हुन्’ भन्ने प्रश्नको उत्तर ‘बा वा बाका हनुमान’ वा ‘हनुमानका हनुमान अर्थात् बाँदर’ (जो यतिखेर एमाले नामको घर ध्वस्त बनाउन तल्लिन छन्)ले दिनु पर्दैन ?

कथित तल्लो भनिएका मीन विश्वकर्मालाई तुच्छ शब्द प्रयोग गर्न सक्नेले मोहन बस्नेतलाई किन केही भन्न सकेनन् ? इँटका जवाफ पथ्थरले किन दिन सकेनन् ? किनभने उनीहरू घर खरानी बनाएर आगो ताप्दैछन् । तर हामीसँग भने बस्नेतको प्रश्नमा वर्षौं वर्षदेखि खारिएर बनेको उखान टुक्का छ, ‘तलाई हरियो बाँसमा टुँ पारेर लैजावस्, तेरा घरमा चाँडै काँग्रेस पसोस्’ बस्नेतज्यू ‘के तपाईं त्यसैको विरासत होइन ?’

जनताले पत्याएका कम्युनिष्ट एकादुई मात्तिँदैमा सबै कम्युनिष्ट डाँका हुन् ? त्यसो भए तपाईं त ‘महाडाँका’को सन्तान हुनुहुँदो रहेछ । फेरि पनि प्रश्न त शक्ति र सत्तालाई नैं हो । किन कम्युनिष्टको शक्तिशाली प्रधानमन्त्री भएको बेला ‘कम्युनिष्ट डाँका’ भन्ने अवस्था आयो ? कसले यो अवस्था सिर्जना गर्यो ? कसरी मोहन बस्नेतहरूमा यस्तो प्रश्न गर्ने हिम्मत आयो ? जवाफ शक्ति र सामर्थ्य भएका अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुपर्छ ।

उनका हनुमान र हनुमानका पनि दास (बाँदर) ले ख्याल गर्नुपर्छ । ओली, नेपाल, खनाल देखेर कम्युनिष्ट नभएका पनि एमाले नामको घरमा बसेका छन् । यी दास नभएकैले सत्ता र शक्तिसँग प्रश्न सोध्ने सामर्थ्य राख्छन् । प्रम ओलीज्यू किन जनताप्रतिको वाचामा घात गर्नुभयो ? किन ‘नाटक हो’ र ‘नौटङ्की’ भनेर ‘उखान टुक्के’ मा रूपान्तरण हुनुभयो ? होइन भने मोहन बस्नेतहरूको मुखमा बुझो ठोस्न किन असमर्थ हुनुभयो ?

-जनआस्था डटकमबाट साभार

तपाईको प्रतिक्रिया