समाचार/लेखलाई सेयर गर्नुहोस् ।

उदयपुर । विराटनगरमा मात्र पाईने स्वास्थ्य सेवा गाउँमै पाएपछि उदयपुरको पहाडी क्षेत्रका स्थानीयहरु दंग परेका छन । नोबेल हस्पिटल विराटनगरको प्राविधिक सहयोग तथा उदयपुर लिम्चुङ्बुङ गाँउपालिकाको आयोजनामा स्वास्थ शिविर संचालन भएपछि स्थानीयहरु खुसी भएका हुन । स्थानीय सरकार गठनपछि गाउँगाउँमै स्थानीय जनताले आधारभुत सेवा पाएपछि सिंहदरबार गाउँमै आएको महशुस गर्न थालेका छन । गाउँपालिकाको आयोजना तथा नोबेल हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा पालिकाको केन्द्र बराहामा बुधबारदेखि सुरु भएको निःशुल्क स्वास्थ्य शिविरबाट जनताले स्वास्थ्य सेवा र सुविधा पाएका हुन् ।
दुर्गम गाउँ र गरिबीको कारण ठुला हस्पिटलमा उपचार गराउन नसक्ने स्थित भएका सर्वसाधरणलाई शिबिरले ठुलो सहयोग पुगेको गाउँपालिकाका अध्यक्ष मेजर राईले बताए ।
नोवेल हस्पिटलले गाँउपालिका सँगको सहकार्यमा विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा आँखा नदेख्ने, कान नसुन्ने, छाति दुख्ने, हाड जोर्नी सम्बन्धी समस्या, नसा रोग लगायतका विभिन्न रोगहरुको गाउँघरमै निःशुल्क उपचार र औषधी समेत पाएकोमा एक दमै खुसी र हर्षीत भएको स्थानीय गुरुमणी कुमाईले बताए ।
विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविरको बुधबार एक समारोह विच प्रदेश सांसद नारायणबहादुर बुर्जा मगर र पालिका अध्यक्ष मेजरकुमार राईले उद्घाटन गरेका थिए । पालिकाको केन्द्रमा आयोजना गरिएको शिविरमा लिम्चुङ्बुङ गाउँपालिकाको साथै ताप्ली र रौतामाई गाउँपालिकाका स्थानीयले पनि सेवा लिएका छन । दुईदिनसम्म सन्चालन हुने शिविरमा दन्तरोग, आँखा, नाक, कान घाँटी, बाल रोग, हाडजोर्नी तथा नशा, मानसिक रोग, स्त्रीरोगको चेकजाँच उपचार रहेको छ । साथै इसीजी ल्याब परिक्षण, एक्सरे र भिडियो एक्सरे सेवा रहेका छन् । निःशुल्क औषधि वितरण तथा परामर्श सेवासमेत रहेको शिबिरमा बढिजसो बृद्धबृद्धा, महिला तथा बालबालिकाले सेवा पाएका छन् ।
प्रदेश सांसद बुर्जा मगरले ग्रामिण भेगका जनताका स्वास्थ्यको पहूँच बृद्धि गराउन राज्यले ध्यान दिनुपर्ने र यस्ता शिविर वडास्तरमै गर्नु पर्ने आवश्यकता भएको प्रदेश सांसद नारायण बुर्जामगरले बताए ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया