बलदेव चौधरी मेयर, त्रियुगा नगरपालिका उदयपुर
क्षेत्रफलका आधारमा ५४७.४३ वर्ग किलोमिटर भूभाग ओगटेको उदयपुरको त्रियुगा नगरपालिका सम्भवत नेपालको दोश्रो ठूलो नगरपालिका हो । चुरे पहाड,भित्रिमधेस र महाभारत पहाडसमेत तीन किशिमको भौगोलिक धरातलमा अवस्थित यस नगरपालिकामा २० हजार ५४ घरधुरी रहेकाछन । पछिल्लो तथ्याङ्क अनुसार यहाँको जनसंख्या एकलाख चारहजार पाँचसय १७ रहेको छ । विकास निर्माणमा निकै पछि परेको यस नगरपालिकालाई समृध्द वनाउन लागिपर्नुभएका नगर प्रमुख बलदेव चौधरीसग गरिएको कुराकानी ।
१. निर्वाचित हुनु भन्दा अगाडी जनतासंग गर्नु भएको वाचा कति पुरा गर्नु भएको छ ?
—हामी निर्वाचित प्रतिनिधिहरुको कार्यकाल पांच वर्षको हो । पहिलो वर्ष निर्वाचित भएर पद वहाली गर्दा स्थानीय निकायको पुरानो संरचानालाई प्रतिस्थापन गर्दै नया संरचनाको स्थानीय सरकारलाई स्थापित गराउने ऐतिहासिक दायित्व र जिम्मेवारी हामी मामm थियो । नया नीति,कानून, संस्थागत संरचना र पूर्वाधारको अभावविच एकवर्ष भित्र संस्थागत संरचना,अति आवश्यक कानून निर्माण र आवश्यक पूर्वाधार निर्माण गर्ने कार्यमा हाम्रो समय व्यतित भएको छ । यो एक वर्षे कार्यकाललाई अंक गणितीय रुपमा मूल्याङ्कन गर्नुभन्दा पनि चुनावताका घोषणा पत्र मार्फत प्रतिवद्धता गरिएको विषयलाई नगरको समग्र विकासको लागि पांच वर्षे आवधिक योजना तयार गरिएको छ । नगरको नया संरचना अनुसारको घरधुरी सर्वेक्षण गरी नगर प्रोफाइल तयार भएको छ । नगर यातायात गुरु योजना तयार भएको छ । २९ वटा ऐनहरु जारी भएकाछन् ।
२. सुखि नगरवासी र समृद्ध नगर निर्माणको लागि के कस्ता गौरवका योजनाहरु वनाउनु भएको छ ?
—सर्व प्रथम क्षेत्रगत योजनाहरु स्तरीकरण गर्ने, योजनाहरुलाई वर्गिकरण गर्ने, वडा स्तरीय, नगर स्तरीय र अन्तर स्थानीय तह स्तरीय योजनाको पहिचान भएको छ । साना वडा स्तरीय योजनाले जनताका तत्कालको आवश्यकताहरु पुरा गर्दछ भने नगर गौरवका आयोजनाहरुको पूर्व सम्भाव्यता अध्ययन र विस्तृत सम्भाव्यता अध्ययनको चरणमा रहेको छ । जस्तै त्रियुगा चक्रपथ, त्रियुगा वसपार्क, हुवास भिउटावर, वेलदोभान रौता मन्दिर केवलकार । त्यस्तै अन्तर पालिका स्तरीय योजनाहरुमा रानीवास रौता सडक वाहृैमास यातायात सञ्चालन गर्ने, फोहर मैला व्यावस्थापनको लागि व्यवस्थित रुपमा डम्पिङ्ग साईड निर्माणको लागि अध्ययन भएको छ । त्रियुगा नदी नियन्त्रको करिव ४१ कि.मी.लम्वाई भएको जाईकाको सहयोगमा गुरु योजना तयार भई सकेको छ ।
३. सौर्य उर्जासहितको स्वच्छ सफा र हरियालियुक्त स्मार्ट सिटी बनाउने भन्नु भएको थियो त्यो के भयो ?
—त्रियुगा नदि नियन्त्रण गरी नदि उकास भएको जग्गामा सौर्य उर्जा परियोजना संचालन गर्न दातृ राष्ट्रहरुको सहयोगमा छलफल र अध्ययनहरु भईरहेको छ । यस्मा केहि नीतिगत समस्याहरुछन् जस्को लागि संघीय सरकारसंग छलफल भई रहेको छ । स्मार्ट सिटी कुनै एउटा विकासले मात्र हुने होईन सवै विकासको योगबाट नै स्मार्ट सिटिको वन्ने आधार भएकोले स्मार्ट सिटि बन्ने आधारहरु तयार भईरहेको छ । जस्तै नगरका प्रमुख व्यापरिक केन्द्र सार्वजनिक स्थानहरुमा सि.सी. क्यामेरा जडान भएको छ जस्ले सार्वजनिक अपराधहरु नियन्त्रयण गर्नमा सहयोग गरेको छ । शहरहरुलाई उज्याले वनाउन प्राय सवै वडामा सौर्य वति जडान गरिएको छ । वसपार्कहरु व्यवस्थापन गरिएको छ । एकवडा एक पार्क निर्माण कार्य प्रारम्भ भईरहेको छ । होम स्टे कार्यक्रम सञ्चालन भएको छ ।
४. तपाई नगर प्रमुख निर्वाचित भएर आय पछि अहिलेसम्म के कस्ता योजनाहरु सम्पन्न गर्नु भयो ?
—मैले माथि नै उल्लेख गरि सकेको छु । एक वर्षमा सवै योजनाहरु सम्पन्न गरे भनेर गणितीय हिसाव नगर्न अनुरोध गर्दछु । विकास सापेक्षमा नागरिकहरुले परिवर्तनको अनुभूती गर्ने विषय हो । गत आ.व.मा नगर विकासको लागि आधारभूत पूर्वाधारहरु तयार भएको छ । पाँच बर्ष भित्रै यहि पूर्वाधारलाई टेकेर विकासमा फड्को मार्ने योजनाहरु निर्माण र कार्यान्वयन हुने छ ।
५. नगरको विकासमा के कस्ता चुनौतिहरु देख्नु भएको छ ?
—नागरिकहरुको विकास प्रतिको माग, चाहना र आवश्यकता ज्यामीतियछन् भने आवश्यकता पुरा गर्ने श्रोत अंकगणितीय छ । नागरिकहरुले विकासको सिघ्र प्रतिफल प्राप्त गर्न चाहेकाछन् तर विकास एउटा प्रकृया रहेछ, । प्रतिफल प्राप्त गर्न निश्चित चरण पार गर्नु पर्दछ । नागरिकहरुको धैर्यता पनि चुनौति कै रुपमा लिएको छु । नया संरचना अनुसार सम्मिलन भएर वनेको न.पा. पहाड र तराईको भूगोलविच असन्तुुलित विकासलाई सन्तुलित र समान समृद्धि वनाउन अर्को चुनौती छ । अव्यवस्थित शहरीकरण, नदि नियन्त्रण, वातावरण संरक्षण चुनौतीको विषय रहेको छ ।
६.सुकुम्वासि र अव्यवस्थित वसोवासलाई कस्तो कानून वनाएर कहिलेसम्म व्यवस्थित गर्नु हुन्छ ?
—नेपालको संविधानमा स्थानीय सरकारको अधिकार सूचिमा घर जग्गा तथा लालपुर्जा वितरण गर्ने व्यवस्था छ । त्यस्तै स्थानीय सरकार सञ्चालन ऐनमा सुकुम्वासि पहिचान र व्यवस्थापन गर्ने उल्लेख भएको छ । नगर कार्यपालिकाको वैठकवाट कार्य जिम्मेवारी विभाजन भई सकेको छ यस सम्वन्धि कानून कार्यापालिकाले पास गरेर नगरसभामा पेश गर्ने निर्णय भएको छ । कानुन नगरसभाबाट पास भएपछि यो समस्याको स्थायी समाधान खोजिने छ ।
७. कर संकलन र आर्थिक अनुशासन कसरी कायम गर्नु भएको छ ?
—कानूनवमोजिम लगाइएको कर तिर्नु नागरिकको दायित्व हो । विना कानून कुनै पनि करहरु लगाइएको छैन । नागरिकहरुवाट करको विषयमा कुनै गुनासाहरु आएको छैन । आर्थिक अनुशासन भनेको आर्थिक ऐन नियमले स्वत नियमन गरि रहेकैहुन्छ । तथापी आर्थिक अनुसाशन कायम गर्ने, आर्थिक कारोवारमा पारदर्शिताकालागि सार्वजनिक सुनुवई, योजना सञ्चालन स्थानमा लगत ईष्टिमेट सहितको सूचना पाटी राख्ने, सार्वजनिक सुनुवाई गर्ने जस्ता क्रियाकलापहरु नगरपालिकाले नियमित रुपमा गर्ने छ ।
८.तपाईले राजनैतिक दल र कर्मचारीवाट कस्तो सहयोग पाउनु भएको छ ?
—म राजनैतिक दलवाट नै प्रतिनिधित्व गर्ने भएकाले राजनैतिक दल सहकार्य गरिरहेकै हुन्छु । महत्वपूर्ण निर्णय लिने विषयमा होस या त नगरको योजना तर्जुमा गर्ने विषयमा राजनैतिक दल संग समन्वय गरेर नै निर्णय गर्ने गर्छु । त्यसैले राजनैतिक दलवाट सहयोग पाईरहेको छु । जहासम्म कर्मचारीको विषय छ हामीलाई नीति निर्माण गर्न सहयोग गरीरहेको हुन्छ भने प्रभावकारी कार्यान्वयनमा कर्मचारी भूमिका हुने भएकोले हामी अनुगमन गरिरहेका हुन्छौ । कर्मचारीवाट असहयोग हुने अवस्था छैन तर पनि व्यक्तिको कार्य कौशलता र सीपले कार्य सम्पादनमा भने फरक पार्न सक्छ ।
९. समृद्ध नगरको लागि मूख्य मूख्य क्षेत्र के के हुन सक्दछ ?
—हामीले निर्माण गरेको आवधिक योजनाले निर्दिष्ट गरेको समग्र विकासको परिकल्पना छ, “स्वस्थ, शिक्षित, उधमशील हाम्रो शहर, समुन्नत समावेसी, समृद्व त्रियुगा नगर ” यहि परिकल्पनाको परिधिमा रहेर क्षेत्रगत प्राथमिकताहरु निर्धारण भएकाछन् , “कृषि, पशुपालन उद्योग र वनः व्यापार पर्यटन त्रियुगाको धन” जल, जमिन, जडिबुटी र वनः स्वच्छ, सफा, सुरक्षित, हरियाली त्रियुगाको धन । यस्तै पूर्वाधार क्षेत्रमा त्रियुगा रिङ्गरोड, सवै वडाहरुमा कम्तिमा एक एकवटा पार्क निर्माण गर्ने, उर्जा क्षेत्रमा लगानी गरी विधुत उत्पादन गरी राष्ट्रिय प्रशारण लाईनमा जोड्ने ।

कृपया यो पेज Like गर्नु होला

१०.अन्त्यमा नगरवासिलाई केहि भन्न चाहानु हुन्छ ?
—जनताको प्रतिनिधि भएको हैसियतले म संधै जनाताप्रति नै समर्पित छु । विकास प्रति जनताले देखाएको चासो, चाहना र सहभागिताका लागि आभार प्रकट गर्दछु । विकासको एउटा चरणवद्ध प्रकृया हो, विकासको प्रतिफल देखिन केहि समय लाग्ने भएकाले यसलाई सकारान्त्मक रुपमा लिन अनुरोध गर्दछु ।

तपाईको प्रतिक्रिया