तुलसी प्रसाद कोईराला
उदयपुर १४ माघ । मदन भण्डारी राजमार्गको धरान चतरा सिन्धुली हेटौँडा सडकको उदयपुर खण्डमा कालोपत्रे बिच्छाउन सुरु गरिएको छ । सरकारको प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग (धरान चतरा सिन्धुली हेटौँडा बैकल्पिक राजमार्ग) को पूर्वी खण्ड अन्तरगतको गाईघाट चुहाडे क्षेत्रमा कालोपत्रे विच्छाउन थालिएको हो । पूर्वी खण्डको गाईघाट चुहाडे सडकमा परिक्षणको रुपमा कालोपत्रेको लागि परिक्षणको लागि धरान चतरा सिन्धुली हेटौडा सडक आयोजना पूर्व खण्डका प्रमुख ललिजन खनालले बताए । ‘त्रियुगा नगरपालिकाको ७ नम्बर वडाको चुहाडेमा सडकमा परिक्षणको रुपमा कालोपत्रेको तयारी स्वरुप प्राईमर राख्न सुरु गरिएको छ ।’ आयोजना प्रमुख खनालले भने ‘निर्माण कम्पनीले वडा नम्बर ७ कै होक्से भन्ने स्थानमा कालोपत्रेको प्लान्ट राखेर पिचको तयारी स्वरुप प्राईमर विच्छाउन सुरु गरेको छ ।’
प्राईमर विच्छाएर ४८ घाममा सुकाएपछि अलकत्र विच्छाईने तयारी छ । सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा हेरिएको सडकको दुबै खण्डमा करिब ४० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । सडक संरचना निर्माण, पुल निर्माण, कजवे, ह्युम पाइप, बक्स कल्भर्ट र स्ल्याब कल्भर्ट लगायतको संरचना निर्माणको काम धमाधम भइरहेको आयोजनाले जनाएको छ ।
सडकको तुलनामा पुल निर्माणका कार्य धेरै अगाडी बढीसकेको पाइएको छ । राजमार्गको पुर्व र पश्चिम गरि दुई खण्डमा विभाजन गरि काम तिब्र गतीमा भई रहेको छ ।
राजमार्गको पुर्वी खण्डको बसाहा देखि सब बेशको काम प्राय सकिएको छ भने वेसहाल्ने काम धमाधम भइरहेको प्रमुख खनालले जानकारी दिए । ‘चुहाडे देखि कटारी र कटारी देखि भिमान सम्म सडकको ग्रेड मिलान गरि सब बेश हाल्ने काम भइरहेको छ’, उनले भने, ‘बसाहा देखी चुहाडे सम्मको खण्डमा यसै बर्ष कालोपत्रे गरि सक्ने गरि तयारी हुँदैछ ।’ यस बर्ष ५० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य लिएको बताउँदै उनले अगाडि थपे, ‘सडकको ४० प्रतिशत काम भई सकेको छ ।’ सडकको धेरै समय ग्रेड मिलान र सव वेस हाल्न नै खर्च हुने हुदाँ ४५ प्रतिसत कटेपछि सडकको प्रगती ९० प्रतिसत पुग्ने खनालले बताए । सडक निर्माण निर्धारित समयमै सम्पन्न गर्न आफुहरु लागि रहेको लामा शर्मा जेभीका ईन्जिनियर सिताराम दाहालले जानकारी दिए । परिक्षणको रुपमा कालोपत्रेको पहिलो लेयर पिच गर्न सुरु गरिएको ईन्जिनियर दाहालले बताए ।
तीन वर्षमा निर्माण सक्ने लक्ष्य लिएको उक्त राजमार्गको निर्माणको पूर्वी खण्डको जिम्मा लामा शर्मा जेभी काठमाडौंले २०७३ कात्तिक २२ गते लिएको थियो । ११ मिटर चौडाई रहेको उक्त सडक दुई पत्रमा पिच हुनेछ । पहिलो लेयरमा ११ मिटर चौडाइमै पिच हुने र त्यस माथि ७ मिटर चौडाइमा दोस्रो लेयरमा पिच हुने आयोजनाले जनाएको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया