अर्जुन श्री

(यो पढ्नेहरुलाई भ्रम नहोस भनेर म सुरुमै स्पष्ट पार्न चाहान्छु कि, म यो कुरा कसैको भक्त भएर अनि आग्रह – पूर्वाग्रह पालेर लेखिरहेको छैन । पढेर यसको मूल्यांकन त्यसैगरी गरिदिनु भयो भने सत्यको सम्मान गर्नुभयो भनेर बुझ्नेछु । लेखक)

स्थानीय तहमा राज्यको पुनर्संरचना हुँदै गर्दा तत्कालीन सुनकोसी र हालको लिम्चुङबुङ हुने कि नहुने, राख्ने कि नराख्ने भन्ने बिषयमा चर्को मतभेद र स्वार्थहरु थिए । एकपक्षीय हिजो जसरी नै यो भूगोललाई आफ्नो अधिनमा राखेर शासन गर्न चाहान्थे भने अर्काथरी उत्पीडित जो बषौं उदयपुर जिल्लाको कर्णाली भएर ठुलाबडाहरुले दयाले दिएको भिख जस्तोमा आफुलाई चित्त बुझाउन बाध्य थिए । लामो समय हेपिएको र चेपिएको भएर, उनीहरुलाई भौगोलिक तथा सांस्कृतिक स्वायत्तता चाहिएको थियो । यसर्थ उनीहरु जुनै सुकै मूल्य चुकाएर भए पनि आफुले चाहेको प्राप्त गर्न चाहान्थे । अन्तत: सत्यकै जित । सुनकोसी आसपासको भूगोलले आफ्नो नाम पायो र आज आफुलाई अझ परिमार्जन र परिस्कृत गर्दै लिम्चुङबुङ भयो । यहानेर लिम्चुङबुङ सुनकोसीको पानीले सिंचिएको छ भनेर बुझ्नुपर्छ ।

समाचार मन परे Like गर्न नभुलौ ।

यसरी कठिनाईसँग जुझ्दै आजको लिम्चुङबूङले आफ्नो भूगोल त पायो । तर नेतृत्व कस्तो हुने भन्ने चिन्ता थियो । ठुलाबडाहरु त्यो भूगोल र त्यहाँका भावनाको सम्बोधन गर्न सक्ने सक्षम र योग्यभन्दा पनि आफ्नो इशारामा नाच्ने खालको पात्र खोजिरहेका थिए । तर यसपटक परिस्थितिले समेत साथ दिए पछि, भूगोल र त्यहाँको भावनालाई बुझ्न र कुशलतापुर्वक बहन गर्न सक्ने नेतृत्व पायो – मिजास किराँती उर्फ मेजर राई । यो क्षण यो भूगोल र नागरिकको दोश्रो महत्वपूर्ण जित थियो ।

आफ्नो भूगोल र सक्षम नेतृत्व पाएपछि लिम्चुङबुङले आफुलाई रकेट गतिमा दौडायो । हिजो भिख जस्तो थापेर बस्ने लिम्चुङबुङ अब आफै आफ्नो अधिकार खोज्न अझ अपाए खोस्न सक्ने भयो । आफुले पाएको स्वायत्तता कोहिसँग नझुकी र दाम नचढाई उपयोग गर्न थाल्यो । यसले हिजोदेखि नागरिकलाई उत्पीडिनमा पेलेर रस खान पल्केकाहरुको निद हराम पार्दियो । यसको बिरुद्धमा उनीहरुले अनेकौं शकुनि तुरुपहरु फ्याँकिरहे तर समयको मागले जन्माएको लिम्चुङबुङ र मेजर राईको टिमले यसको सहज सामना गरे र गरिरहेका छन ।

तथापि खतरा अझै टरिसकेको छैन । प्रतिक्रियावादीहरुको अन्तिम अश्त्र ‘ फुटाउ र राज गर ‘ यतिखेर लिम्चुङबुङमाथि प्रहार भएको छ । केहि बिभिषणहरु यतिखेर भ्रममा परेर शत्रुको क्याम्पमा पुगेर आफ्नो भूगोल लिम्चुङबुङ र त्यसको नेतृत्वको गोप्यता खोलिरहेका छन । ती बिभिषणरुपीहरुलाई रामले झैं लंका जित्लान र राजा बनाईदेलान भन्ने भ्रम छ । तर यो कथामा नायक लिम्चुङबुङ र मेजर राईको नेतृत्वमा रहेको टिम हो । त्यसैले हेक्का होस, आफ्नो भुमिको लागि गद्दारी गर्ने बिभिषणहरुलाई मृत्यु पश्चात् पनि शान्ती मिल्ने छैन ।

हो, सत्यलाई ढाकछोप गरेर निष्कर्षमा पुगिदैन । लिम्चुङबुङको नेतृत्व मेजर राईका केही कमजोरीहरु छन । आखिर कोहि मान्छे कमजोरीरहित पनि त हुन्न । तथापी मेजर राईका केहि मानवीय कमजोरीले लिम्चुङबुङलाई फाईदै कै बाटोमा लगिरहेका छन भने केही कमजोरीमा बिरोधीहरु तान्डव मच्चाउन अनेकौं मौका खोजिरहेका छन । हिजो कटारी, मुर्कुची, गाईघाट अनि लहानसम्मको नुन र तेलमा भर परेर घिटिघिटी बाचेको अहिलेको लिम्चुङबुङको भूगोलले अब आफुलाई हलेसी र गाईघाटको केन्द्र बनाएर सशक्त हुने खोजे पछि स्वयम आफुलाई संघीयताको मषिहा ठान्ने र त्यसैको ब्याजमा दौरा, सुरुवाल लगाएर सपथ खान ठिक्क परेका केही ठालुहरुलाई सम्म यो हदसम्मको लिम्चुङबुङको सक्रियता मन परेको छैन । जनता पढे, बाठो भए भने हाम्रो शासन ढल्छ भन्ने राणाकालीन मान्यता बिकेका केही फिरन्ता नेताहरु लिम्चुङबुङ र मेजर राईलाई कमजोर पार्न दिनरात लागेका छन । अन्यथा सुनकोसीको पानीले त्यो क्षेत्रका हजारौं नागरिकको तिर्खा मेटिदा के को आपत्ती ? हलेसीको बिजुलीले लिम्चुङबुङ झलमल्ल हुँदा किन छट्पटी ? जहाँसम्म बिजुलीको बिषयमा चनौटे र लामाटारको कुरा छ, यो सत्य भैइकन पनि भ्रम हो । हुनत म प्राबिधिक होइन, तथापि पोलमा टार टाँगेको देख्दैमा जता पनि लान मिल्छ भन्ने भ्रममा म छैन । र अर्को महत्वपूर्ण कुरा दीर्घकालीन महत्व र हलेसीसँग लिम्चुङबुङ जोड्ने बिकासको कुटनीतिबाट हेर्दा हलेसीबाट बिजुली ल्याउन सबैभन्दा उपयुक्त छ । अनि बिजुली र सडक सँगसगै हुनु पर्ने विस्वब्यापी मान्यताबाट हेर्दा पनि बिजुली हलेसीबाटै जोड्नु बढी बैज्ञानिक छ । अनि अर्को एभरेस्ट भ्यु टावरको जुन कुरा छ, यो अलि खर्चिलो भैकन पनि लिम्चुङबुङको पहिचान र प्रतिष्ठाको लागि असाध्यै महत्वको छ । यसको निर्माण गाउँपालीको बजेटमा मात्र भर नपरी प्रदेश र केन्द्र सरकारसँग पहल र समन्वय गर्नु पर्छ । किनकी यो एउटा ड्रीम प्रोजेक्ट हो । जसको प्रमाण इन्जिनियर एसोसिएसनले सर्बोत्कृष्टको उपमा दिएर साबित गरिदिएको छ । दीर्घकालीन हिसाबले हेर्दा यो लिम्चुङबुङको मेरुदण्ड हो ।

अब लिम्चुङबुङबासीले आत्मासात गर्नु पर्ने कुरा चर्चा गरौं । हो माथि नै उल्लेख भयो कि मेजर राई र टिमका केही मानवीय कमजोरीहरु छ्न । फरक मत राख्न सक्ने ठाउँहरु पनि छन तर यो टिमले लिम्चुङबुङलाई जुन दिशातर्फ लगिरहेको छ । हाम्रो क्षेत्रको भाग्य र भविस्य बदल्न्ने जुन गुरु योजनामा अहोरात्र खटिरहेको छ । यो सबैभन्दा महत्वपूर्ण छ । र हामी सबै उत्पीडन बर्ग समुदायको हितमा छ । यसरी हेर्दा मेजर राईको कार्यशैलीमा केही खोट भेटिए पनि नियत असाध्यै सफा र सुन्दर छ । मेजर राईले आफुलाई मात्र बदल्न चाहेको भए कयौंको सपनाको देश दक्षिण कोरिया नै सहि थियो तर आफ्नो भूगोल बन्दल्ने सपनाले आफ्नो बैभव र सुख प्राथमिकतामा परेन । त्यसैले अहिलेको अबस्थामा मेजर राईको नेतृत्वमा गोलबन्द भएर अगाडि जाँदा मात्र हाम्रो भबिस्य उज्ज्वल छ । कसैको बहकाउन र स्वार्थमा लागेर आफ्नै घरमा आगो झोस्नेहरुलाई इतिहासले अबस्य दन्डित गर्छ । सबैलाई चेतना भया । जय लिम्चुङबुङ ।

(यो लेखकको निजी बिचार हो )

तपाईको प्रतिक्रिया

%d bloggers like this: