तुलसी प्रसाद कोईराला

करिव १५ दिनअघि देखि आम संचार र सामाजिक संजालमा ‘उदयपुरमा प्राकृतिक ताजमहल’ शिर्षकको समाचार र सेल्फी फोटो निकै चर्चित बनेको छ । त्रियुगा नगरपालिको वडा नम्बर १६ को शाही खोला नजिक ताज महल आकारको पहाड नै फेला परेको भनेर संचार माध्यममा आएपछि अहिले उक्त स्थानमा ताजमहल हेर्न जानेको भिड लाग्ने गरेको छ । ताज महल हेर्ने र फोटो खिच्नेको भिड यती बढेको छ कि आग्राको ताजमहल नै यही छ जस्तो गरि प्रचार प्रसार भईरहेको छ । ताज महलबारे विभिन्न मिडियाले प्रचार प्रसार गरेपछि यस पंङ्तिकार पनि ताज महलको वास्तविकता खोतल्न सोमबार कथित ताज महल भएको स्थलमा पुग्न सफल भयो । ताजमहल भएको स्थलमा पुग्ने वित्तिकै एउटा हिन्दी भनाई सम्झना आयो ‘नहीं देखा तो पछताएगा, देखा तो बहुत पछताएगा’ । संचार माध्यममा प्रचार भए अनुसार कथित ताज महलमा केही थिएन । एउटा पहिरो गएको पाखोमा पानीले पिटेर बनाएको माटोको ढिस्को बाहेक अन्य कुरा केही रहेनछ । सामाजिक संजाल र मिडियाको प्रचार प्रसारमा त्यस ठाउँमा नजादाँ म कहि छुटे की जस्तो भएको थियो तर त्यस ठाउँमा पुगे पछि महत्वपुर्ण काम छाडेर किन आएछु भन्ने मैले सजिलै महशुस गर्न सके । कान्तिपुरका पत्रकार डिल्ली राम खतिवडा र थाहा खबरकर्मी विदुर कटुवालले पनि कथित ताज महलबारे मेरो भन्दा भिन्न बुझाई रहेन छ । ताजमहल भनेर हेर्न आउनेहरु मध्ये अधिकांशले बालबालिकाको जिद्दीले गर्दा आएको प्रतिक्रिया दिए । खाँबुबाट ताजमहल अवलोकन गर्न आएका जित बहादुर मगरले फेसबुकमा बच्चाहरुले सेल्फी हालेको देखेछन र हेर्न जाउँ भनेर धेरै जिद्दी गरे अनी हर्न ल्याएको प्रतिक्रिया दिए । ‘यस्तो पहिरो गएको ठाउमा प्रसस्त भेटिन्छ, कुनै आश्चर्यको कुरा केही छैन ।’ उनले भने ‘चुरे क्षेत्रमा दर्जनौ स्थानमा यस्ता पहिरोको दरारहरु भेटिन्छ ।’ गाईघाटबाट ताज महल हेर्न गएका विद्यार्थी शम्भु शर्मा पुगे पछि निरास भएर फर्किए । ताज महल हेर्न गएको तर ताज महल हुनुको सट्टा माटोको ढिस्को पो रहेछ । ‘ताज महल भनेर मख्ख पर्नुको सट्टा चुरे संरक्षणमा ध्यान दिनु आवश्यक छ ।’ विद्यार्थी नेता शर्माले भने ‘यो चुरे क्षयीकरणको ज्वलन्त उदाहरण हो । सम्बन्धित निकायले भुक्षय रोक्न समयमै ध्यान दिनु पर्छ ।’ स्थानीय कृष्ण बहादुर राउतको भनाई पनि यो भन्दा भिन्न छैन । ‘यो ढिस्को पहिले अर्कै स्वरुपमा थियो, अहिले पानीले खिएर यो रुपमा आएको छ ।’ राउतले थपे ‘हामीले सधै देखेको यो ढिस्को अहिले कुन कुन मिडियाले ताज महल भनेर प्रचार गरेपछि हुलका हुन मान्छे हेर्न आउन थाले ।’
त्यस्तै ताजमहल हेर्न आउने मध्येकी एक जिल्ला शिक्षा ईकाईकी अधिकृत देवी पराजुलीले गजलमै कथित ताज महलको बर्णन गरेकी छिन् । उनीले गजलमा ‘अदभूत प्राकृतिकको दृष्य भेटियो, संजालमा ताजमहल भनी लेखियो । अबिरल पानीको बहावले बनेको यो, केवल माटोको ढिस्को पो देखियो ।’ यसरी ताजमहलको अवस्था बारे स्थानीय र अवलोकन गर्न जानेको प्रतिक्रिया लिद गर्दा त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरी र डिभिजन वन कार्यालय गाईघाटका प्रमुख विष्णु प्रसाद आचार्य पनि ताज महल अवलोकन गर्न पुगे । त्रियुगा नगरपालिका उप्रमुख सहित प्राविधिक, योजना, कर शाखाका कर्मचारीको टोली लिएर मेयर चौधरी पुगेका थिए । मेयर चौधरीले माटोको ढिस्को संरक्षण गर्न नगरपालिकाले जिम्मेवारी लिने उद्घोष समेत गरे । उनले माटोको ढिस्को नजिक रहेको स्थानीयको कुखुरा फर्म र घर अन्यत्र सार्ने समेत भन्न भ्याए । मेयर चौधरीले माटोको ढिस्को संरक्षण गर्न बस्ती अन्यत्र सार्ने कुरा गर्दा स्थानीयहरु मज्जाले हाँसेका थिए । आन्तरिक पर्यटनको विकास गर्न ढिस्को माथि ट्रस्ट समेत हाल्न समेत पछि नपर्ने बताए । त्रियुगा नगरपालिका कै कर शाखाका प्रमुख गुरु ढकालले त्रियुगा नगरपालिकाले लगानी गरेर संरक्षण गर्ने र कर उठाउनु पर्नेमा जोड दिए । अहिले स्थानीयहरु निशुल्क अवलोकन गर्न आउछन तर नगरपालिकाले संरक्षण गरेर निश्चित कर तिरेर मात्र फोटो खिच्न पाउने व्यवस्था गर्नु पर्छ, ढकालले भने । त्रियुगा नगरपालिका ईन्जिनियर रमेश ढुङ्गानाले माटोको ढिस्कोलाई यही अवस्थामा राख्न ठुलो लगानी गर्नु पर्ने सुझाए । ढिस्को नाप्न फित्ता र टेप सहित पुगेका ढुङ्गानाले सिमेन्टको डस्ट हाल्दा माटोले सिमेन्ट नलिने र ट्रस्ट राख्न ठूलो लगानी गर्नु पर्ने बताए । रिस्कु तिर यस्ता ढिस्काहरु प्रसस्त भेटिने र यस्ता ढिस्कालाई यही अवस्थामा छाड्नु उपयुक्त हुने उनले भने ।

समाचार मन परे Like गर्न नभुलौ ।

मेयरको टोली मै गएका डिभिजन वन प्रमुख बिष्णु प्रसाद आचार्यले यो ढिस्को संरक्षण गर्न फरक धारणा व्यक्त गरे । डिभिजन वन प्रमुख आचार्यले खुईलिएको नाङ्गा डाडाँहरुलाई बृक्षारोपण गरेर रिकभर गर्नु पर्नेमा जोड दिए । पत्रकारलाई प्रतिक्रिया दिदै उनले भने ‘यो चुरे कमजोर पहाड हो, यसलाई सामान्य पानीले पनि क्षति पुर्याउछ, यसको संरक्षणको लागि बाँस, बावियो, अम्लिसो, निगालो प्रजातीका विरुवा रोप्नु पर्छ ।’ डिभिजन प्रमुख आचार्यले यही ढिस्कोलाई नमुनाको रुपमा लिएर चुरे संरक्षण गर्नु पर्नेमा जोड दिए ।
के हो चुरे पहाड ?
करिव चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरु थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे श्रृंखला हो । पश्चिममा पाकिस्तानको इन्डस नदी देखि पूर्वमा भारतको ब्रम्हपुत्र नदी सम्म फैलिएको चुरे श्रृंखला शिवालिकको नामबाट पनि चिनिन्छ । नेपालको कुल भू–भागको १२.७८ प्रतिशत चुरे क्षेत्रमा पर्दछ । अधिकांश ठाउँमा तराईको भू–भाग सकिएर माथि उठेको भू–भाग तथा महाभारत क्षेत्रको भू–भागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रुपमा चुरे पहाड रहेको छ । सामान्यतया पूर्ण रुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरु यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रुपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको छ ।
कमजोर र पत्रे चट्टानले बनेको भू(भाग नै चुरे हो र हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने र ३७ जिल्ला छुने यस क्षेत्रको कुल क्षेत्रफल १८,९६,२५१ हेक्टर ९१२.७८५० रहेको छ ।
जैविक विविधताले धनी रहेको यो क्षेत्र अव्यवस्थित बसोबास, अतिक्रमण, वन विनाश, अवैज्ञानिक भू(उपयोग, खेती प्रणाली, पशुपालनले गर्दा उच्च जोखिममा रहेको छ । नदी कटान, भू(क्षय, बाढी, पहिरो जस्ता प्रकोपहरू चुरे क्षेत्रको विशेषता जस्तै भइरहेको छ । चुरेको विनाशले उनीहरू प्रत्यक्ष रूपले वातावरणीय तथा आर्थिक जोखिममा रहेका छन् ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: