-दीपशिखा शर्मा

कृपया यो पेज Like गर्नु होला

पौषको महिना,साँझको खाना खाएर ओछ्यानमा लमतन्न परिरहेकी थिएँ । बिगतका तिता यादहरुले रातभर निद्रा परेको थिएन । ओल्टे कोल्टे फेर्दै,छट्पटाउँदा छट्पटाउँदै कतिबेला आँखा लागेछ पत्तै भएन । बिउझिंदा सुर्योदय भइसकेको थियो । उठेर घडि हेरें,सात बजिसकेछ । बाहिर निस्कन मन लागेन । शनिबारको दिन,हातमुख धोई फ्रेस भएर पुनःपलङमा पल्टें । चिसो सिरेटोमा ब्ल्यान्केटभित्र गुटमुटिएर घर बाहिरका दृष्यहरु झ्यालबाट चियाउन पुगें । पर पर सम्मका दृष्यहरु आँखा अगाडि छर्लङ्गै देखिन्थे । आँखी झ्यालबाट छिरेको कलिलो प्रभाती किरणले शयनकक्ष नुहाईरहेको प्रतित हुन्थ्यो । आकाशमा बादलको लेशमात्रपनि थिएन । चराहरु चुच्चोमा खानेकुरा च्यापेर आफ्ना बचेराहरुलाई खुवाइरहेका थिए । चिरविर चिरविर आवाजले वातावरणको मुग्धतालाई अझ बढाईरहेको थियो । परेवाका जोडीहरु एक आपसमा माक घुरककक‘‘घुरकककक‘‘। गर्दै मायाँ लिंदै अनि दिंदै थिए………

लाग्थ्यो कालो अन्धकारलाई चिर्दै उज्यालोको जन्म भएको छ । जीवन संघर्षमा मैले भोग्नुपरेको कहालीलाग्दो अतीत आज म सँग थिएन । तीतो बिगतलाई उहिल्यै तिलान्जली दिएर मैले नयाँ जीवनको शुरुआत गरिसकेकी थिएँ । चार दशकको संघर्षशिल यात्राको दौरानमा मैले जीवनमा भोग्नुपरेका आरोह अवरोह एवं यस पापी समाजले म प्रति लादेको अन्याय,अत्याचार,तिरस्कार र घृणा छरपष्ट भएर एक चलचित्रको कहानी झैं आज मेरो आँखा अगाडि आईरहेका थिए । मेरो जीवनको उर्जाशिल समय यहि समाजको प्रतिकार गर्दैमा बित्यो । रातभर त्यहि कहालीलाग्दो अतीतले मलाई सताइरहेको थियो ।
००००००

मेरो संघर्षको कथा आजभन्दा करिब ४० बर्ष अगाडिबाट शुरु हुन्छ । म जान्ने बुझ्ने भएदेखि आफूलाई बिकट पहाडी जिल्लाको एक मध्यम बर्गिय ब्राम्हण परिवारमा पाएँ । बाबाको पहिल्यै निधन भईसकेको थियो । परिवारमा आमा म र भाई मात्र थियौं । अध्ययनको नाममा मैले बिद्यालय समेत देखेकी थिइन तर मेरो भाइलाई भने आमाले दःुखजिलो गरेर पढाउनुभएको थियो । सम्पत्तिको नाममा एक हल गोरु,चारवटा बाख्रा,दुईवटा भैंसी र २ रोपनी खेत र पाखो बारी बाहेक अरु केहि थिएन । समग्रमा भन्नुपर्दा मेरो परिवार कृषिमा आश्रित थियो । बाह्रै महिना खेतबारिमा जोतिनु पर्दथ्यो । आमासँगै खेतबारिमा काम गर्ने,घाँस काट्ने अनि गाइबस्तु हेर्ने मेरो नियमित दैनिकी बनिसकेको थियो । अन्नको जोहो गर्न आमा र म खेतबारीमा घोटिन्थ्यौं । जतिसुकै दुःखजिलो गर्दापनि छ महिना खानमुश्किलले पुग्दथ्यो । बाँकी समय बाख्रा पाठा बेचेर धान,मकै,कोदो बेसाएर गुजारा गथ्र्यौं । खेतिपाती लगाएर बचेको समय गाईभैंसी चराउने र घाँसपात गर्दैमा ठिक्क हुन्थ्यो ।

म भर्खर दशौं बसन्तमा प्रवेश गरेकी थिएँ । अचानक गाउँ नजिकैको बिद्यालयमा कक्षा नौ मा पढ्दै गरेको केटाको परिवारबाट विहेको प्रस्ताव आयो । केटाको उमेर मात्र १५ बर्षको थियो । एकल महिलाले जेनतेन चलाएको परिवार,आर्थिक अभाव,प्रशस्त दाईजो पेवापात दिनसक्ने अवस्था थिएन तथापि केटाको परिवार निकै सम्पन्न थिए । तसर्थ कम खर्च गर्ने शर्तमा आमाले विहेको लागि उक्त केटाको परिवारलाई स्वीकृती दिनुभएछ । अन्ततः मेरो विहे हुने पक्कापक्की भयो । त्यस्तो प्रकारको विवाहलाई बालविवाह भनिन्थ्यो । साथी संगीहरुसँग भाँडाकुटी खेल्ने,पुतलीको विहे गरिदिने गर्दथ्यौं । आज आफ्नै विहेको कुरा चलेको थियो । म खुशिले पुलकित थिएँ । असली विवाह कस्तो हुन्छ ? मेरो चन्चल अनि बालसुलभ मनलाई थाहा थिएन । बालसखी सँग खेलेको भाँडाकुटी खेलजस्तै कल्पना गरेर म खुशिले तीनहात उफ्रिएकी थिएँ । एक दिन दुई दिन प्रतिक्षा गर्दा गर्दै मेरो विहेको दिनपनि आईपुग्यो । हिन्दु धर्म संस्कार अनुसार अग्नी साक्षी राखी सात धर्ति पोलेर सात फेरो,सात बचन लिई विधिवत् रुपमा कन्यादान गरीमेरो विहे भयो,मेरो जीवन पराई पुरुषको हातमा सुम्पियो । विदाइको वेलाम ज्यादै रोएँ,कराएँ,मेरा बाल सखीहरु र मेरो भाई रुँदै फहराउँदै परसम्म मेरो पछि पछि आईरहेका थिए । घरमा मेरी आमा पुत्री बियोगले मुर्छित बन्नुभएको थियो ।

गाउँका काका,काकी,हजुरबा,हजुरआमा,दाई,दिदीहरु सबैले ‘नरोईकन जाउ है छोरी’भन्दै सम्झाउँदै थिए । हेर्दा हेर्दै सबै म बाट ओझेल पर्दै गए । अघि अघि तामदानी र पछिपछि जन्तीको लावा लश्कर थियो । जन्तीको हाँसो ठट्टा,अट्टहास र बाजा गाजाको चर्को आवाजको अगाडि तामदानीमा बाक्लो घुम्टोभित्र छट्पटाएर रोइरहेकी मेरो रोदन र क्रन्दन कसैले सुन्न सकेनन् । आमाकककक……. भन्दै म चिच्याइरहेकी थिएँ । परेलीबाट अविरल बगेको अश्रुधाराले सिंगो पछ्यौरी भिजिसकेको थियो । दुलहा र उसको परिवारलाई मेरो बारे कुनै परवाह थिएन । उनिहरु एक आपसमा कुराकानी गर्दै बाजाको आनन्द लिँदै अगाडि बढिरहेका थिए । ३ घण्टाको लगातारको ओरालो हिँडाईपछि कर्मघर आइपुग्यो । गोधुली साँझमबाजा गाजा सहित धार्मिक रीतिरिवाज अनुसार मलाईएक बुहारीको रुपमा भित्र्याईयो । उक्त मितिबाट म छोरीबाट बुहारी बन्न पुगेकी थिएँ ।
००००००

क्रमशःदिनहरु बित्दै गए । बिहान सबेरै उठेर श्रीमान र सासुआमाको खुट्टामा नतमस्तक भएर ढोग्नु,घर सफासुग्घर बनाएर रातो माटोले दैलो लीपपोत गर्नु,ससुरालाई तम्बाकु,हुक्का, चीलिमको ब्यवस्था गर्नु ,नुहाई धुवाई गरेर ओछ्यान ओछ्यानमा चिया पु¥याउनु बिहानको मेरो नित्यकर्म थियो । बालककालको कलिलो उमेरमा चार बजेदेखि उठेर यो सब कामकाज गर्नु मेरो लागि अत्यन्त कठिन थियो तथापि डर र त्रासले एकछिन पनि नबसीकन जानी नजानी सबै काम गर्दथें । कुनै काम बिगारें भने हातमा लोहोरो लिएर सासुआमा मेरो हात थिच्न आइपुग्थिन् ।त्यो मेरो लागि अत्यन्त कहालीलाग्दो सजाँय थियो । म त्यो कहर सहन बाध्य थिएँ ।

दिनभर काम गरेर बेलुकाको जुठो भाँडा,घरधन्दा सिध्याएर रातमा सासु आमाको गोडामा तेल मालिस गर्नुपर्दथ्यो । एकदिन गोडा ओभानो भयो भने घरको बार्दलीमा बसेर गाउँ टोल लाई सुनाउदै हुने नहुने फलाक्न थालिहाल्थिन् । मेरो उमेरले यी कठोर क्रियाकलापहरु थेग्नसक्ने अवस्था थिएन तैपनि सकि नसकि जोतिनुपर्ने बाध्यता थियो । दिनभरको काम सिध्याएर ओछ्यानमा पुग्दा रातको बाह्र बजिसकेको हुन्थ्यो । हामी दुबैको शयनकक्ष एउटै थियो तर ओछ्यान फरक फरक थियो । नव विवाहित जोडिको सुहागरात कस्तो हुन्छ ?मलाई थाहा थिएन । श्रीमान पलङमा मस्त घुरिरहेका हुन्थे । कमजोर,थकित र सिथिल शरीर लिएर म चुपचाप भुईँमा ओछ्यान लगाएर एउटा कुनामा पल्टिन्थें । केहि छिनमै भुसक्कै निदाइहाल्थें । उज्यालो नहुँदै सासुको कर्कश स्वर गुन्जिन थालिहाल्थ्यो । आँखा मिच्दै सकिनसकी उठ्नुपर्ने बाध्यता थियो । मेरो बारेमा न श्रीमानले कुनै वास्ता गर्दथे न त परिवारले नै मतलव गर्दथ्यो । विवाहको बर्षदिनसम्म हामी एक अर्कामा अलग भएर नै बिताएका थियौं ।

राम्रोसँग पनि बोलचाल हुन नपाई मेरो श्रीमान पढाईको सिलसिलामा शहरतिर लागे । श्रीमानको अनुपस्थितिमा मेरो जीवन अरु कष्टकर बन्न लाग्यो । म फगत एक चरणकी दासी सरह भएँ । मलाई एउटा दासी सरह ब्यवहार गरिन्थ्यो । यन्त्रमानव रोवोर्ट झैं अह्राएको काम गर्ने र सबैले खाएर बाँकी रहेको जुठोपरो खाएर मैले मेरो जीवन निर्वाह गर्दै आएकी थिएँ । मेरो चाहना रहर सबै माटोमा मिलिसकेको थियो । मलाई कसैसँग बोल्ने स्वतन्त्रता थिएन,घुम्ने स्वतन्त्रता थिएन,मीठो मसिनो खाने र राम्रो लगाउने त तपसिलका कुरा थिए । बर्षदिनमा दुई जोर खद्धरको फरिया,एकजोर पायल चप्पल,बाह्र हातको पटुका बाहेक घरबाट अरु केहि पाउँदिनथें । मन परेपनि नपरेपनि चित्त बुझाएर लगाउनु पर्दथ्यो । चित्त नबुझेको कुरा बोल्न प्रतिबन्ध थियो । केहि शब्द बोले ठूला बडाको अगाडि मुख चलाउने ? भनेर सासु आएर मुख च्यातिदिने,कपाल जगल्ट्याउने,भुत्ल्याउने गर्दथिन् ।

निकृष्टताको पराकाष्टा नाघेर मलाई दुब्र्यवाहार गरिएको थियो । जति दुःख गरेपनि खालि अपजस मात्रै लगाउने,कहिल्यै राम्रो मुख नगर्ने,सासुआमा,जेठानी दिदीको अभद्र ब्यवाहारबाट म आजीत भइसकेकी थिएँ । चरम मानसिक यातनाबाट वाक्क भएकी म जेलको चार दीवारजस्तो घरभित्र पटक्कै रमाउन सकिन । म निकै नीरस भईसकेकी थिएँ । घरबाट मेरो माइती नजिकै भएकोले परिवारको आँखा कान छलेर पटक पटक भागेर माइत जान्थें । माइतमा खुट्टा टेक्नासाथ घरका मानिसहरु तुरुन्त लिन गइहाल्थे । आमा त्रसित हुँदै‘लौन यसले घरमा के उपद्रो गरेर आई…….अवगाल पार्ने भई ’ भन्दै धुलिपाइलो पुु¥याउन पुगिहाल्नुहुन्थ्यो । जति रोए कराएपनि मेरो कुनै सुनुवाई हुँदैनथ्यो । हुने नहुने कुरा लगाएर मेरो आमालाई समेत मेरो बिरुद्धमा उभ्याइसकेका थिए ।

आमाले समेत साथ नदिएपछि बाध्य भएर घर फर्कनुपर्ने अवस्था आउँथ्यो । मेरो दैनिकी अत्यन्त कष्टप्रद हुँदै गयो । उता शहरमा पढ्न गएका श्रीमानको अत्तोपत्तो थिएन । घर परिवारसँग नियमित सम्पर्कमा रहेपनि मेरो लागि एउटा चिठीको खोस्टोले पनि सम्झिदैनथे । बाँच्ने आधार कहिँबाट थिएन । जीवन जीउनको लागि पनि कसैको आधार चाहिने रहेछ । कसैको साहारा नपाएपछि यो जीवन मृततुल्य बन्दो रहेछ । परिवारले म प्रति देखाएका ेक्रुर,कठोर,नारकिय ब्यवाहारबाट म मुक्ति पाउन चाहन्थें तर हालत अझ जर्जर बन्दै गईरहेको थियो । बन्द पर्खालभित्र पछ्यौरीको फेरले मुख छोपी भाग्यलाई धिक्कार्दै खुनको अाँसु पिएर बाँच्नु शिवाय अरु कुनै बिकल्प थिएन । गरिबीको कारण कलिलो उमेरमा बाल विवाह गरेर मैले आफ्नो दुःख आफंै निम्त्याएको थिएँ । होश सम्हाल्दा सबथोक सकिईसकेको थियो ।
०००००००

मेरो विहे भएको लगभग तीन बर्ष भइसकेको थियो । म दुःखका साथ जीवन बिताइरहेकी थिएँ । शहरमा श्रीमानको पढाई चलिरहेको थियो । जेष्ठको महिना थियो खेतमा धानको बिउ राख्न जेठानी दिदी र म गएका थियौं । दिनभर काम गरेर साँझ लखतरान हुँदै घर फक्र्यौं । सोही दिन मेरो जीवनमा अकल्पनिय दुर्घटना घट्न पुग्यो । जुन मेरो परिकल्पनाभन्दा बाहिरको थियो । घरको गल्लीदेखि आँगनसम्म मानिसहरुको भिड थियो । कुनै घटना त घटेन ? मुटु ढुकढुक गर्दै थियो,मनभित्र अनौठो चिसोले सताइरहेको थियो । हालतको सामना गर्दै भिडलाई छिचोलेर जेठानी दिदी र म घरभित्र छि¥र्यौं । घरको माहौल शोकले भरिएको थियो । रुवाबासी चलेको देखेर एक्कासी रिंगटा लाग्लाजस्तो भयो । पिँढिको डिलमा सासुआमा कपाल फिँजाएर अर्धबिछिप्त अवस्थामा रोईरहेकी थिइन् । ससुरा बा ,जेठाज्यू अनि छिमेकीहरु उनिलाई सम्झाउँदै थिए । बाँकी भद्र भलाद्मीहरु सबै मुकदर्शक बनेर हेरिरहेका थिए ।

‘ए हजुर ! कसलाई के भयो ?’ जेठानी दिदीले जेठाज्यूको नजिकै आएर सोधिन् । उनिहरु अझ डाँको छोडेर रुन लागे । गाउँलेहरु सम्झाउँदै थिए । मेरो मनमा अनौठो शंकाले डेरा जमाउन पुग्यो । कतै मेरो श्रीमान लाई त केहि भएको छैन ? फेरि आफूले आफैंलाई मनमनै सम्झाउँदै भने होईन होईन त्यो हुनै सक्दैन । त्यसैबेला सासुआमा कोकोहोलो हालेर रुन थालिन् ‘भीम………………मेरो बाबु ……….मेरो प्राण ! यो अभागी आमालाई कहाँ छोडेर गयौ नि बाबु……… हे मेरो बाबु ! तिमिबिना अब म कसरी बाँचु नि बाबु?’सासु आमाको सम्वोधनले अनायस म छाँगाबाट खसेजस्तै भएँ । आँखा वरिपरि तिरमिर तिरमिर अँध्यारो छाउन थाल्यो,हातगोडा सीथिल भएर आए,जिउ लगलग काम्न थाल्यो । चारैतिर अन्धकार छाउन थाल्यो,बाक्लो कुहिरो जस्तो धमिलो देख्न थालें,अनि आँगनमा जोडले बजारिन पुगेछु केहि थाहा पाउन सकिन ।

मेरी आमाको कठोर मेहनत एवं लगातारको आयुर्वेदिक औषधी उपचार पश्चात् तीन दिनपछि बल्ल मेरो होश खुलेछ । बिउँझेपछि चारैतिर नजर दौडाएँ । आफूलाई असहाय रुपमा ओछ्यानमा लडिरहेको पाएँ । मेरी आमा गहभरी आँसु लिएर मलाई मुसारिरहनुभएको थियो । ‘आमा…… ज्वाँई खै ………?’यसभन्दा अरु बढ्ता बोल्ने हिम्मत ममा थिएन । मेरी आमाको आँखा ओभाना थिएनन् । तरपनि उहाँले मलाई सम्झाउन थाल्नुभयो । मेरो श्रीमानको सडक दुर्घटनामा मृत्यु भएको रहेछ । ससुरा र जेठाज्यु शहरमा गएर श्रीमानको दाह संस्कार गरेर आएछन् । म भने अचेत अवस्थामा ओछ्यानमा पडिरहेको रहेछु ।

होश नखुलेपछि आमालाई खवर गरिएको रहेछ । किरिया बस्ने तयारी भईरहेको थियो । मेरो होश खुल्नासाथ गाउँले र जेठानी दिदीको सहयोगले मलाई पँधेरोमा डो¥याएर लगे । टाउकोबाट सिधै खल्को हाल्न लगाए । एक बिधवाद्धारा मैले लगाएका रंगिन कपडाहरु खोलियो । सौभाग्यको प्रतिक सिँउदोभरि सिँदुर लगाएकी थिएँ त्यो पनि निर्मम रुपले पखालियो,घाँटिमा लगाएको तिलहरी जोडले खोसेर जेठानीले पटुकिमा पोको पारिन् ,हातभरी लगाएका चुराहरु ढुंगामा राखेर झ¥याम झुरुम पारेर फोरियो,रातो पोतेको झुप्पा जोडले तानेर छिँदालेर यत्रतत्र छरिदिए अनि पाखामा मिल्काइदिए……जमिनमा पोखिएको पोतेझैं मेरो जीवन आज छरपस्ट भएर पोखिएको थियो,काँचको शिशा झैं चकनाचुर भइसकेको थियो । क्रमशःमेरो नाकको फुली,कानको रिङ,हातको औंठी,सबै च्यात्तचुत्त पारेर खोसे । एक बालिका बधु अर्धचेतन अवस्थामा हुँदापनि कुनै नारीले सहानुभती समेत देखाउन नसक्नु बिडम्बना थियो । हिजोका दिनभन्दा आज मलाई अझ घृणाको नजरले हेरिएको थियो । मेरो सबथोक लुटिएको थियो,खोसिएको थियो,मैले कुनै प्रतिकार गर्न सकिन । श्रीमान श्रीमतीको मिलन नै नभई मैले मेरो श्रीमान गुमाउन पुगेकी थिएँ । सहि अर्थमा भन्दा म बाल बिधवा भईसकेकी थिएँ । कथित समाज बाल बिधवालाई दोस्रो दर्जाको नागरिक सरह ब्यवाहार गर्दथ्यो । मेरो आँखा निस्तेज अनि एकोहोरो भईसकेका थिए । आँसु थामिएको थिएन । हिजोसम्म सौभाग्यको प्रतिक सिँउदोभरि सिँदूर,चुरापोते र रंगिचंगी बस्त्र पहिरिएर हिँडेकी म आज जिँउदो लाश झै रंगहिन भै सफेद बस्त्रमा लपेटिएर घर फर्केकी थिएँ ।
०००००००

जीवन अनिश्चित छ । अनिश्चितताको भुमरीमा रुमल्लिईरहेको छ मानिसको यात्रा । अनन्त यात्रामा मान्छे स्वतन्त्र रुपले गन्तब्यमा पुग्न चाहन्छ । तर जीवन सोचेजस्तो सहज भने छैन । जीवनरुपी गोरेटोमा अनेक बाधा,अवरोध,ठेस,अड्चन आईलाग्छन् । हिँड्न लागेको बाटो भत्किन सक्छ ,पुग्न लागेको स्थान नभेटिन सक्छ ,बाँच्न चाहेको जीवन नपाईन सक्छ । समयको चक्रले जीवनको डुंगा हाँकेर कता पु¥याँउछ कता भन्न सकिन्न । यात्राको दौरान कसै कसैको जीवनमा भयानक आँधीवेहरी,हुण्डरी र सुनामी आउँछ । यही बिद्रुप आँधी हुरीले मनभरि सजाएर राखेका सपनाहरु भताभुङ्ग बनाईदिन्छ । जीवनमा अकल्पनिय दुर्घटना घट्न पुग्छ । प्रकृति र भवितब्यको अगाडि कसैको केहि लाग्दैन । आज यो कटुसत्यलाई मानिसले अंगिकार गर्नुको साटो उल्टो प्रकृतिलाई हाँक दिंदै भन्न थाल्छए कर्मचण्डाल्नी ! पोइ टोकुवाई !! आदि । त्यस्तै पाशविक घटनाको शिकार म बन्न पुगें ।

मेरो श्रीमानको दुर्घटनाबाट निधन भयो त्यसको सबै दोष ममाथि थोपरियो । अलच्क्षिनी,पापिनी,अनेक उपाधि भिराएर शोकमा रहेकी नारीको मनोबल गिराउन यो समाज पछि परेन । पहिला घर परिवारले नै म माथि क्रुर एवं आततायी ब्यवाहार देखाए,मेरो खोइरो खन्न शुरु गरे ,अनि यो पितृसत्तात्मक समाज एकल महिलामाथि जाईलाग्यो,तगारो बनेर तेर्सियो । बालककालमा विहे गरेर श्रीमानको महत्व नै नबुझी श्रीमान गुमाउनुपर्दाको पीडा कति हुन्छ शायद त्यो भोग्नेलाइ मात्र थाहा होला । गल्ती नै नगरिकन समाजबाट बहिष्कृत हुनुपर्दाको कारुणिक अवस्था झन् बयान गरि साध्य थिएन । श्रीमानको मृत्यु अगाडि परिवारले मलाई चरणकी दासीको दर्जामा राखेको थियो भने मृत्यु पश्चात् मलाई अलच्क्षिनी को उपाधिले बिभुषित गरियो । सीमित ठाउँ बाहेक मलाई घरको अन्य कोठामा जान समेत प्रतिबन्ध लगाइयो । मलाई पलङमा सुत्न समेत अनुमति दिइएन । यहाँ सम्मकि मलाई कसैको चाडवाड विहे ब्रतबन्ध आदिजस्ता शुभकार्यमा जान प्रतिबन्ध लगाइयो । गएमा अनिष्ट हुन्छ भनेर सबैले मलाई तर्साउने,घृणाको नजरले हेर्ने गर्दथे । मलाई मन्दिरभित्र प्रवेश गर्न रोक लगाइयो,मेरो हातको पुजा समेत चल्दैनथ्यो । कोहि मानिस साइतको बेला म सँग जम्काभेट भयो भने मेरो मुख हेर्दा साइत पर्दैन भनेर देखेपनि नदेखेझैं गरी अर्कोतिर मुन्टो बटार्थे । कलिलो यौवन र बैंसलाई भित्रभित्रै मारेर एउटा जिउँदो लाश सरी मैले मेरो जीवनको कहालिलाग्दा क्षणहरु बिताएकी थिएँ । श्रीमान साथमा हुँदादेखि सुकुल ओछ्याएर जमिनमा सुतेकी म मेरो यौवनावस्था समेत जमिनमै बिताएँ । उहाँको अनुपस्थितिमा मलाई मेरो परिवारले समेत स्विकारेन । सासुआमा छोराको मृत्युको भागिदार मलाई बनाउथिन् भने जेठानी दिदी मलाई घरबाट लखेट्न पाए सिँगो अपुताली हत्याउने दाउमा थिइन् । अन्तत सबैले मलाई तिरस्कार गर्नथाले । माइत जाउँ बिधवाको लागि कुनै स्थान थिएन । छिः छिः र दुरदुर सहनु र हालतको सामना गर्नु बाहेक अरु कुनै बिकल्प थिएन ।
०००००००

(केहि महिना पछि )

पौषको महिना,एकान्त ठाउँमा घर थियो ,बाघ भालुको डरले मानिसहरु सबेरै खाना खाएर सुत्ने गर्दथे । श्रीमानको निधन पश्चात् मलाई घरबाहिर बाँसले बारिएको खोपिमा सारियो । त्यहाँ सुकुल ओछ्याएर एक्लै सुत्नुपर्दथ्यो । म बिस्तार बिस्तार जवानीमा प्रवेश गर्न थालिसकेको थिएँ । एकल महिला भनेर गाउँ टोलका आवारा केटाहरु समेत म माथि गिद्धेदृष्टि लगाउँथे । भाईको अनुपस्थितिमा जेठाज्युले पनि म माथि आँखा लगाउन थालेका थिए । एक्लै भएको मौका छोपी म सँग जिस्कीने,छिल्लीने,चिमोट्ने अनि जानाजान टाँसिने जस्ता अभद्र ब्यवाहार गर्ने गर्दथे । जतिसुकै प्रतिकार गरेपनि कुनै न कुनै बाहाना गरेर नजिकिन खोज्थे । म भने परपर भाग्दथें । जीवन रक्षार्थ अरु कुनै चारा थिएन । परिवारलाई भनौं भने आफुले हानेको तिर आफैंलाई फर्किने त्रास थियो । तसर्थ मनको पीडा मनभित्रै गुम्स्याएर चुपचाप बाँचेकी थिएँ ।

एकरात म साँझको घरधन्दा सकेर खोपिमा सुस्ताउन पुगेकी थिएँ । चकमन्न अँध्यारो थियो,किरा फट्याँग्राको किरकिर आवाज मात्र सुनिन्थ्यो । किन किन आज अज्ञात अनिष्टको शंका लागेर आयो । घरभित्र सबै परिवारहरु सिरकभित्र गुटमुटिएर गहिरो निद्रामा मस्त थिए । म भने चिसो जाडोमा कठ्याँग्रिएर लुगलुग काम्दै पातलो ओढ्ने ओढेर सुकुलमा निदाउने कोशिस गरिरहेकी थिएँ । तर पटक्कै निदाउन सकिन । अकस्मात् एउटा अज्ञात कालो छायाँ आएर ढोका अगाडि ठिङ्ग उभियो । मेरो होश हवाश उडिसकेको थियो । चिच्याउँ भने मलाई नै सबैले नकारात्मक दृष्टिकोणले हेर्ने गर्दथे । तसर्थ भगवान सम्झी मौन बस्नु बाहेक अरु कुनै बिकल्प थिएन ।चारैतिर आँखा डुलाउँदै त्यो कालो छायाँ सरासर मेरो ओछ्यानमा पुग्यो । म जडवत् रुपले त्यो छायाँलाई नियालिरहेकी थिएँ । एक्कासी जोडले मुटु हल्लिन थाल्यो, श्वास प्रश्वास छिटो छिटो चल्न थाल्यो । त्यो कालो छायाँले आपूmले ओढेको बाक्लो सिरक मलाई ओढाइदियो । अनि आहिस्ता आहिस्ता चिसा हातले मलाई के सुम्सुम्याउन लागेको थियो भएभरको शक्ति लगाएर बचाउ…..बचाउ……भन्दै चिच्याउन थालें । मेरो चिच्याहटले के भयो ? भन्दै बार्दलिमा सुतेका ससुरा बा हतार हतार टर्च लाईट बाल्दै खोपिभित्र पसे । टर्च लाइटको उज्यालोमा अपराधिको असली आकृती देखियो । काशः ! मेरो अस्मिता लुट्नको लागि अरु कोहि होइन मेरो जेठाज्यू आएका रहेछन् । ससुराबा ले छोराको गालामा कसेर दुई झापड के हिर्काएका थिए सासुआमा हाम्फाल्दै रोक्न आइपुगिन् ।

‘छोडिदिनुस् यसलाई….. सब यो नकचरीको काम हो । यसले मेरो छोरालाई बल नदिई कसरी मेरो छोरा यस्को कोठाभित्र पस्ने हिम्मत गर्न सक्छ ? तसर्थ यो कुलंगार्नीलाई तुरुन्त यो घरबाट निकाल्नुपर्दछ नत्र अनर्थ हुन सक्दछ……पोइलाई खाई हाली अब मेरो जेठो छोरासँग लागेर मेरो परिवार नै सखाप पार्ने दाउमा छ’
सासु आमाको क्रुर शब्द सुनेर सुँक्क सुँक्क गर्दै रोइरहेको मेरो कोमल मन छियाछिया भयो । अनायस झन् भक्कानिएर रुनथालेँ । मेरो ललाटमा खाँदै नखाएको विष लागेको थियो । बाबु सरहको जेठाज्यु बुहारीको खोपिभित्र छिरेर पाशविक रुपले बुहारी बलात्कार गर्ने दाउमा थियो तर परिवारबाटै बचाएर उसको थप मनोबल बढाउने काम भएको थियो ।

आवेगमा मैले मन थाम्नै सकिन एक्कासी चिच्याउन थालें,
‘भो ! म ज्यादै थाकें,कसैले अब मलाई दोष नथोपर्नु किनकी यसमा मेरो केहि गल्ति छैन । बाबु समानको जेठाज्युसँग गलत सम्वन्ध गर्न त परै जाओस् म सोच्नपनि सक्दिन । मेरो श्रीमानको मायाँ त मैले पाईन भने अब अनैतिक सम्वन्ध गाँसेर अरु बदनाम बन्नु छैन मलाई । यहि घरको इज्यत सम्झेर सधैं एक दासीको रुपमा मैले मेरो अमुल्य जीवन समर्पित गरें । मेरो कलिलो उमेर,चाहनार रहरहरु कुल्चेर हरहमेशा यहि घरको ईज्यतका खातिर लडें । यदि म गलत थिएँ भने आज मेरो अस्मिताको रक्षार्थ हार गुहार लाउनपर्ने कुनै जरुरत थिएन…..’
शयद विहे पश्चात् मेरो मुखबाट निस्केको पहिलो प्रतिकार थियो यो । आफ्नो बचाउको लागि हिम्मत गरेर आज यो सब भन्न सकेकी थिएँ । मेरो बोलि भँुइमा झर्न नपाउँदै जेठानी दिदी आएर मेरो कपाल जगल्ट्याउन लागिन् । उनि क्रोधले थरथर काँपिरहेकी थिइन्,
‘के भनिस् ? सिधासादा देवर खाईस् अब मेरो श्रीमानसँग सल्किइस् बाइफाले ?अझै तेरो धित मरेको छैन ? मेरो श्रीमानलाई पनि खाने बिचार छ ? हे भगवान ! आज यो के तमासा देख्नुप¥यो नि ! कलि बौलायो…….ओछ्यानमै कसरी बोलाउन सकेकी ? यौवन र बैंस धान्न नसक्नेले त बरु झुण्डिएर मर्नु नि ! कर्म नै फुटेपछि के को अर्काको लोग्ने ताक्ने ?’

सासुआमा र जेठानी दिदीको बज्रबाणले मेरो कलिलो मुटु छियाछिया पारिसकेको थियो । म विवश थिएँ । प्रतिकार गर्नसक्ने हिम्मत थिएन । तथापि मनलाई बलियो गरेर जेठानीतिर फर्केर भन्न थालें ,‘बस् ! मलाई पुग्यो,अरु आरोप लगाउन भन्दा आफ्नो श्रीमानको असली अनुहार हेर्नु नि ? आज मैले प्रतिकार नगरेको भए मेरो अस्मिता लुटिने थियो,म कहिँको रहने थिइन । ससुरा बा को साहाराले बल्ल बल्ल ईज्यत जोगिएको थियो ।’

म रोएँ …….कराएँ……. मेरो पवित्रतामाथि प्रश्न नउठाउन अनुरोध गरें तथापि मेरोे निर्दोषितालाई साथ दिने यस परिवारमा कोहि भएनन् । अलिकति सपोर्ट गर्ने ससुरा बा थिए उनलाई पनि हप्कीदप्की गरेर पाखा लगाइएको थियो । सफाईको लागि अरु कुनै चारा थिएन ।अन्ततः म एक्लो बृहस्पति झुटो बन्न पुगें । मध्यरातमा मलाई लछार पछार पारियो,गाउँटोल छिमेकको नजरमासमेत म गिर्न पुगें । सबैले मलाई छिः छिः र दुरदुर गर्न थाले । हातमा जे आयो त्यहीले प्रहार गर्न थाले । कतिले त जमिनबाट ढुङ्गा निकालेर बर्साउन लागे । कसैले हानेको एउटा ढुंगो परबाट आएर जोडले मेरो निधारमा ठोकियो अनि रगतको फोहोरा छट्न थाल्यो । मेरो शरीर पुरै रक्ताम्य हुनथाल्यो । आँखा तिरमिर तिरमिर हुन थाल्यो । म भुईँमा थुचुक्क बसें अनि जोडले चिच्याउन थाले । मैले घँुडा टेकें,हात जोडें,पाउ परें, दयाको भिख मागें तर कसैकोपनि मप्रति दया मायाँ पलाएन । मेरो लाख विन्तीको वावजुद मलाई मध्यरातमा घरबाट खेदियो ।

मैले सबुत प्रमाण दिँदापनि आखिर मलाइ नै दोषी ठह¥याइयो । अब परिवारले मलाई स्वीकार्ने कुनै गुन्जाइस थिएन । पापीहरुको भिडमा म एक्लो भइसकेकी थिएँ । कता जाउँ के गरुँ?शुन्य दिमागले केहि सोच्नै सकेको थिएन । चारैतिर चुक घोप्टिएझैं अन्धकार थियो । माइत जाउँभने छिमेकीले मलाई बदनाम गराउन कुनै कसर बाँकिराखेका थिएनन् । जसबाट मेरो भाई र आमा आत्मग्लानीले मरेतुल्य थिए । अन्त आश्रय लिने कुनै ठाउँ थिएन । सोचें,मेरो आफ्नो भन्ने श्रीमान नै म सँग नरहेपछि म बाँचेको के अर्थ रह्यो र ? परिवारले गरेको पटक पटकको दुब्र्यवाहार बाट आफ्नो जीवन आफैंलाई निकै बोझलाग्न थालिसकेको थियो । दुनियाँले म प्रति गरेको घृणा,तिरस्कार र अपहेलना सहनुभन्दा त एकमुठी सास टुङग्याउने नै निधो गरें । जसको एकमात्र समाधान आत्महत्या नै थियो । अचानक मेरो मनमा रहेको डर त्रास सबै हरायो । मेरो मन एकोहोरिइसकेको थियो । पराजित मन अनि रक्ताम्य शरीर लिएर बलिन्द्रधारा आँसु चुहाउँदै अर्धबिछिप्त रुपमा म घरबाट निस्कें ।

अँध्यारोमा छामछाम छुमछुम गर्दै तल बजारसम्म आईपुगें । चकमन्न रातमा पुरै बजार निदाएझैं देखिन्थ्यो । भुस्याहा कुकुरहरु अजीवसँग भुकिरहेका थिए । नजिकै ठूलो खोला थियो । एकोहोरो खोलालाई नियाल्न पुगें । खोला स्थिर रुपले बगिरहेको भान हुन्थ्यो । अँध्यारोले खोला वरिपरिका काला बुट्यान र ढुङ्गाहरु सजीव आकृतिझैं यत्रतत्र उभिएर रहेकोजस्तो महशुस गर्न पुगें । ति ढुङ्गाहरुले मेरो दयनिय अवस्था देखेरकताकता खित्का छोडेर खिसी उडाएको जस्तो भान हुन्थ्यो । केहि पर्वाह नगरी खोलातर्फ अगाडि बढ्दै गइरहेकी थिएँ । अविरल रुपमा अगाडि बढेका मेरा पाइतालाहरु मसानघाट नजिकैको जलाशय अगाडि पुगेर टक्क रोकिए । त्यहाँबाट खोलामा पुग्न चार पाइलामात्र बाँकि थियो । अब मेरो अन्तिम गन्तब्य मेरो सामु थियो । जहाँ मेरो जीवन समाप्त पार्न म अगाडि बढिरहेकी थिएँ । मेरो मन एकाहोरिइसकेको थियो । अनौठो उन्मुक्तीको लागि म लगातार अगाडि बढिरहेकी थिएँ । अब खोलामा पुग्न चार पाइलामात्र बाँकी रह्यो । खोलामा हाम्फाल्नुभन्दा अगाडि ओढेको पछ्यौराले आँखा टम्म बाँध्न पुगें । चारैतिर कहालीलाग्दो अन्धकार थियो । अन्तिम पटक मैले मेरी जन्मदिने आमा सम्झें,मेरो भाई सम्झें,बाल सखीहरु सम्झें,विहेपछि परिवारले ममाथि गरेको ज्यादती सम्झें,श्रीमानको मृत्यु,अन्तिम क्षणमा ढुंगामुढा गरेर घरबाट निकालिएको घटना,एकसे एक गरेर चलचित्रको पर्दा झैं मेरो आँखा अगाडि आईरहेका थिए ।

सबैसँग क्षमायाचना माग्दै मनमनै अन्तिम बिदाई मागें । अब मेरो अन्तिम गन्तब्य अगाडी थियो । खोलामा हाम्फाल्नुभन्दा अघि मेरो श्रीमानको कलिलो भर्भराउँदो अनुहार वरिपरि आउन थाल्यो । आँखाबाट बलिन्द्रधारा आँसु झरिरहेका थिए । मनमनै भने,
‘हृदयेश्वर ! म यो पापी समाजमा अटाउन सकिन,यस समाजका दुष्ट नरपशुहरुबाट म ज्यादै थाकें, अब अरु संघर्ष गर्नसक्ने हिम्मत मसँग छैन । म तिम्रो शरणमा आउँदैछु,प्रिय मलाई माफ गरिदेउ……. तिम्रो अनुपस्थितिमा मेरो जीवन नरकतुल्य छ । हे गंगे…….. मलाई तिम्रो शरणमा लेउ……..’
यतिभन्दै आँखा चिम्लेर खोलामा हाम्फाल्न के लागेकी थिएँ अचानक कुनै बलिष्ठ हातहरुले मलाई च्याप्प समात्यो । म झसंग भएँ । उम्कने कोशिस गर्दै अनायस चिच्याएँ,
‘छोडिदेउ मलाई…….म बाँच्न चाहन्न …………….प्लिज मलाई मर्न देउ ।’
उसले मेरो आँखामा बाँधिएको पछ्यौरा फुकाल्यो । जोडले तानेर खोलाभन्दा अलिपर ल्यायो । अनुहारभरी लागेको रगतको दाग पखालिदियो । खल्तीबाट सफेद रुमाल झिकेर घाउमा बाँधिदिंदै आफ्नो न्यानो बाहुपाशमा कस्यो अनि सम्झाउँदै भन्यो,
‘जीवन भनेको एकपटक मात्र पाइने सृष्टिको अमुल्य उपहार हो, तसर्थ यसलाई भरपुर उपयोग गर्न सिक्नुपर्दछ बैनी ! समाधानको उपाय आत्महत्या होइन । त्यो त एक कायरले मात्र गर्दछ । कलिलै उमेरमा आत्महत्या गरेर तिमीले यस समाजका दुष्ट धमिराहरुलाई जित्न सक्दिनौ । हिम्मत गरेर बाँच्न सिक । भोलिको कुरा कसलाई के थाहा ? फुटिसकेको भाग्य बदलिन पनि सक्छ ,बिश्वास गर बैनी ! अँध्यारोपछि उज्यालो अवश्य हुन्छ ।’

भगवानको दुतको रुपमा आएको त्यो ब्यक्तिको घर बजार नजिकै रहेछ । मेरो कृयाकलापको निगरानी गरिरहेको त्यो ब्यक्तीले जीवन र मृत्युको दोसाँधमा रुमल्लिइरहेकी मलाई मृत्युको मुखबाट निकालेर नयाँ जीवन दिएको थियो,आततायीहरुको भीडबाट बचाएर मेरो मुर्झाएको शरीरमा नयाँ आशाको रक्तसञ्चार गराएको थियो अनि यस समाजमा उभिन लायक बनाएको थियो । त्यो ब्यक्ति अरु कोहि नभएर मेरो बर्तमान श्रीमान थियो । हो मैले पुनर्विवाह गरेकी थिएँ । यो मेरो रहर थिएन बाध्यता थियो ।स्वार्थी समाजबाट मुक्ती पाउन विहे बाहेक म सँग अरु कुनै चारा थिएन । बाँकि जीवन गुजार्न पनि त कोही न कोहीको सहाराको जरुरत पर्ने रहेछ । फलतः मैले मेरो जीवन उसैलाई सुम्पेकी थिएँ ।
०००००००

केहि बर्षपछि नयाँ जीवनको शुरुआत गर्न हामी शहरतिर छिरेका थियौं । शहरमा हामिले धेरै संघर्ष ग¥र्यौं । ऋण काढेर ब्यवसाय थाल्यौं अनि सफलता पनि प्राप्त ग¥र्यौं । आज हामी स–परिवार काठमाण्डौंमा बस्छौं । साथमा २ बटा छोराछोरी छन् । मेरो परिवार म सँग ज्यादै खुशी छ ,म पनि खुशी छु ,आज मसँग सबथोक छ,कुनै कुराको कमि छैन तथापि कहालिलाग्दो बिगतले कहिलेकाँही मलाई ज्यादै सताउने गर्दछ । यसै छट्पटाहटमा म रातभर निदाउन सक्दिन अनि विहान अवेरसम्म ओछ्यानमा घोत्लिरहन्छु ………..

कथाकार

तपाईको प्रतिक्रिया