समाचार/लेखलाई सेयर गर्नुहोस् ।

उदयपुर :    उदयपुरमा निरन्तर वर्षासँगै आएको बाढीले भित्री मधेसमा पर्ने बस्तीका अधिकांश भुइँघर डुबानमा परेका छन्। काठ प्रयोग गरेर बनाइएका दुईतले भुँइघरभित्र पानी पसेर घर डुबानमा परेका हुन्।बजार क्षेत्रमा ढल नाली सफा नगर्दा डुबानमा परेका छन् भने ग्रामीण क्षेत्रमा खहरे खोलाभन्दा तल बस्ती भएकाले डुबानमा परेका हुन्। जिल्ला प्रशासन कार्यालय उदयपुरअन्तर्गत गरेको दैविक प्रकोप उद्धार समितिका अनुसार जिल्लाको गाईघाट, कटारी, बेल्टार, रामपुर, सुन्दर, खैजनपुर, मोतिगडा, जोगिदह लगायतमा सयौं घरमा पानी पसेको छ। ‘अन्य जिल्लाको तुलनमा मानवीय क्षति नभए पनि घरहरु डुबानमा परेको गुनासो आउन थालेको छ,’ जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी प्रकाशजंग कार्कीले भने, ‘निरन्तर वर्षा भए पनि मानवीय क्षति हुन नदिनका लागि उच्च सतर्कता अपनाइएको छ।’

कृपया यो पेज Like गर्नु होला

जिल्ला प्रशासन कार्यालयका अनुसार बाढी र पहिलोको उच्च जोखिम रहेको क्षेत्रमा अहिले सुरक्षा व्यवस्थान र उद्धार टोलीसमेत तयारी गरिएको छ भने नदीको कटान तथा बाढी बस्तीमा पस्न सक्ने क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ। यता, सडकसमेत बाढी आएकाले यातयात अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टले बजार क्षेत्रमा नाली साफ नगरेकाले घरभित्र पानी पसेको बातएका छन्।  ‘धेरैतिर घर बनाउने समयमा पानी बग्ने भागभन्दा तलको भागमा घर बनाएकाले पानी पसेको देखिएको छ।’ एसपी भट्टले भने, ‘अन्य जिल्लाको तुलनामा डुबान उदयपुरमा सामन्य, छ म पनि फिल्डमै गएर जानकारी लिने गरिरहेको छु।’ भट्टका अनुसार जिल्ला उच्च जोखिम रहेका क्षेत्रबाट आएको गुनासो आधार सुरक्षा व्यवस्था तथा उद्धारको तयारी गरिएको छ भने त्यस क्षेत्रमा प्रहरीलगायत पठाएर वास्तविक जानकारी लिने काम जारी छ।

सप्तकोसीको तटीय क्षेत्रमा पर्ने उदयपुरका भूभागसमेत डुबानमा परेको साबिकको तपेश्वरी गाविसका रेडक्रस सभापति धुर्व कोइरालाले जानकारी दिएका छन्। वर्षाले सप्तकोसी नदीमा पानीको बहाव बढेकाले त्रियुगा नदी र खहरे खोलाको पानी निकास रोकिँदा हालको बेलका नगरपालिका १ र ३ नम्बर वडाहरु डुबानमा परेका छन्। पथ्रा, खोला, भसुवालगायत बेनपा वार्ड नं १ को पुरन्दह बगाहा, भौडा, आम्बासीको तल्लो बेल्ट पूरै डुबान छ,’ सभापति कोइरालाले भने, ‘सुरक्षित रहन र आपतकालीन अवस्था आए तुरुन्त नजिकको प्रहरी कार्यलय र रेडक्रसमा सम्पर्क राख्न अनुरोध गरिएको छ।’

उदयपुरमा तीन नदीको कटान तीव्र

मुख्य गरेर उदयपुरमा तीन नदीको कटान तीव्र रहेको बताइएको छ। त्रियुगा, बरुवा र तावा खोलाले खेतीयोग्य जमिन तीव्र रुपमा कटान गरेको सर्वसाधरणको भनाइ छ। त्रियुगा नगरपालिमा नगरपालिकाको वडा नम्बर १२ मा त्रियुगा नदीले बोटटोल, बगरटोल, भुल्के, साधना टोलसहित नगरको वडा नं ७ को पोर्ताह, लक्ष्मीपुर र असारी क्षेत्रका झन्डै चार हजार घरपरिवारलाई जोखिममा पार्दै कटान गरेको स्थानीय भीमबहादुर बिकले बताए। ‘नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएको छ,’ उनले भने, ‘निरन्तर ठूलो वर्षा भएकाले पनि समस्या निम्त्याएको छ।’ त्रियुगा र बरुवा नदीले झन्डै १ हजार ५ सय बिघा नम्बरी जग्गा कटान गरिरहेको स्थानीयवासी सेतु चौधरीको गुनासो छ। यसैगरी, कटारी क्षेत्रमा पर्ने मुख्य नदी तावा खोलाले पनि कटारी नगर क्षेत्रको दुई सय रोपनी खेतीयोग्य जमिन कटान गरेको छ। नदी तथा खहरे खोलाको उच्चे जोखिममा पर्ने उदयपुरमा नदी नियन्त्रण गर्न सम्बन्धित निकायले समयमै चासो नदेखाउँदा कृषक समस्यामा परेका छन्। जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले उच्च रुपमा कटान भएको क्षेत्रमा प्रहरी परिचालन गरेर बाँध निर्माण कार्यमा जुट्ने बताएका छन्।

विद्यालय र यातयात पूरै ठप्प

चार दिन अघिदेखि निरन्तर परेको वर्षाको कारण उदयपुरको यातयात सेवा पूरै ठप्प भएको छ। छोटो तथा लोमो दूरीका यातयात सेवा पूरै ठप्प भएको यातयात व्यवसायीहरुले जानकारी दिएका छन्। वर्षाको कारण खहरे तथा खोलामा आएको बाढीको कारण सडकहरु पूरै अवरुद्ध बनेका छन्। हिमाली यातयात व्यवसायी संघका महासचिव भक्ति मैनालीले जिल्लामा कुनै पनि यातयात सञ्चालनमा आउन नसकेको बताए। ‘कतिपय खहरे खोलाले साना पुलसमेत भत्काएको छ,’ उनले भने, ‘पानी नरहेसम्म यातयात सुचारु हुने अवस्था छैन, पहाडी क्षेत्रका अधिकांश सडक पहिरोले एक दुई हप्तैसम्म बन्द हुने भएका छन्।’ निरन्तर वर्षाका कारण जिल्लामा सञ्चालित सबै सामुदायिक तथा निजी विद्यालय बन्द भएका छन्। अविरल वर्षाले उदयपुरका विभिन्न क्षेत्रमा विद्यार्थीको सुरक्षालाई मध्यनजर गर्दै बिदा दिइएको यहाँका विद्यालय प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया