निजी दूरसञ्चार सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमले आगामी दसैँसम्म फोरजी सेवा सुरु गर्न आवश्यक तयारी अगाडि बढाएको छ । काठमाडौंबाट फोरजीको अनुमति पाइसकेको कम्पनीले सेवा सञ्चालन गर्न भने केही समय लगाउने भएको हो ।

कृपया यो पेज Like गर्नु होला

स्मार्ट टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणबाट गत जेठ ७ मा १८ सय ब्यान्डमा फोरजी सेवा सञ्चालनका लागि प्रविधि तटस्थताको अनुमति पाएको थियो । सेवा सुरु गर्न ५० वटा साइटका लागि आवश्यक उपकरणको सिफारिस स्मार्ट टेलिकमले लिएको थियो । तर, सो उपकरण अपर्याप्त हुने भन्दै थप आयातको सिफारिसका लागि प्राधिकरणमा माग गरेको छ ।

कम्पनीका प्रशासकीय अधिकृत सविन श्रेष्ठका अनुसार दुई साताअघि थप १ सय ६३ उपकरणका लागि सिफारिस माग गरिएको हो । कम्पनीका २ सय १३ वटा साइटमा कार्ड र सफ्टवेयर अपग्रेडपश्चात् सेवा सञ्चालनमा ल्याइने उनले जानकारी दिए । ‘नेपाल टेलिकम र एनसेलको अनुभवले ५० वटा साइटले मात्र सेवा प्रभावकारी नहुने देखिएपछि थप उपकरण आयात गर्नुपरेको हो,’ श्रेष्ठले भने, ‘सिफारिस प्राप्त भए त्यसको २० दिनमा उपकरण नेपाल ल्याइसक्छौँ । त्यसको ३ हप्तामा जडान सम्पन्न गरी सेवा सञ्चालनमा ल्याइनेछ ।’ प्राधिकरणबाट स्वीकृत भएको रोलआउट प्लानअनुसार उसले दुई चरणमा ठूला सहरमा फोरजी विस्तार गर्नेछ ।

हाल कम्पनीसँग सो ब्यान्डमा १२ मेगाहर्ज फ्रिक्वेन्सी छ । त्यसमध्ये ५ मेगाहर्जमा फोरजी सेवा सुरु गर्ने गरी प्राधिकरणबाट रोलआउट प्लान स्वीकृत भएको छ । पश्चिमाञ्चल विकास क्षेत्रबाट जिएसएम सेवा सुरु गरेको कम्पनीले हाल ४५ भन्दा बढी जिल्लामा आफ्नो नेटवर्क विस्तार गरिसकेको छ । आगामी पुससम्ममा पूर्व–पश्चिम राजमार्गले जोडिएका जिल्लामा समेत नेटवर्क विस्तार गरिसक्ने कम्पनीको योजना छ ।

प्राधिकरणको तथ्यांकअनुसार हाल कम्पनीले १५ लाख १ हजार २ सय ६९ ग्राहकलाई टेलिफोन सेवा र १ लाख १९ हजार ७ सय ७१ ग्राहकलाई मोबाइल इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया