• नन्दलाल आचार्य

सगरमाथा अञ्चलको ओखलढुङ्गामा जन्मे–हुर्केका सर्जक इन्द्रकुमार श्रेष्ठ जीविकोपार्जनको पेशा शिक्षण हो । जनसेवामा दक्ष बन्ने क्रममा बालबालिकाको संसारको अध्ययन गर्न पुगे । अनुभवले खारिएको व्यक्तित्व विकास गर्दै गए । पटक–पटक राजधानीमा समेत छिरेर शैक्षिक जगत्को अध्ययनमा समय व्यतित गरे । विविध ठाउँका शैक्षिक क्षेत्रका सूक्ष्म कुराहरूको जानिफकार बने । राजनीतिका नाममा देश ठगिएको भेटे । र, निमुखा बालबालिकाले आँखा खोल्ने स्थान विद्यालयमा भद्रगोल कार्यकलाप, व्यापार र राजनीति हुने गरेको भेटे । थरीथरीमा विकृत पाटाहरूको साक्षी भए । भित्री दिलैदेखि विकृति पाटाका विरुद्ध विषवमन गर्ने चाह पलाएर आयो । अनि, उनले ‘भक्कानिँदो मन’ (गजल सङ्ग्रह २०६२), ‘म एकलव्य’ (कविता सङ्ग्रह २०६२), ‘हामी ज्ञानी’ (बालकविता सङ्ग्रह २०६९) र ‘बाल सौगात’ (कविता सङ्ग्रह २०७२) जस्ता कृतिहरूमार्फत् साहित्यको मन्दिर निर्माणमा ठोस योगदान दिँदै अघि बढ्दै गए ।
उनको सद्य कृति ‘बाल सौगात’ बालकविता सङ्ग्रहभित्र ३५ थान छोटा र मझौला प्रकृतिका कविताहरू सङ्ग्रहित छन् । यस आलेखमा तिनलाई नै चिन्ने प्रयास हुने छ–
‘बाल सौगात’ बालकविता सङ्ग्रहभित्र ‘सार्थक पढाइ’, ‘हलीदाइ’, ‘फाइदा हुन्छ भन्दैमा’, ‘आफ्नो नाम चलाऊ’, ‘म कसरी फेल ?’, ‘चोर्ने बानी’, ‘राम्रो काम खोज’, ‘कागदाइ’, ‘शिशिर–वसन्त’, ‘पढाइको अर्थ’, ‘पढ दुःख गरेर’, ‘विद्यालय जाऊ’, ‘भन्न बाँकी रहेकै छ’, ‘गर्छौँ काम हामी’, ‘आफ्नै प्रश्नोत्तर’, ‘निराश नहोऊ’, ‘आफ्नै लागि’, ‘कलम’, ‘जिन्दगीको सार’, ‘हामी पनि अरूजस्तै’, ‘मान्छे हुन पायौँ’, ‘फटाहाको रङ’, ‘नेपाली विषय’, ‘बाँस’, ‘यस्तो मौका’, ‘तपाईं पनि हामीजस्तै’, ‘प्रकृतिको पाठ’, ‘खीर खाने हजुरबा’, ‘बहाना’, ‘पढ्नैपर्ने हुन्छ’, ‘राम्रो हुन बाँकी’, ‘फरक हुनुपर्छ’, ‘झन् माथि पुग्नू है’, ‘काम र बानी’ र ‘बाल सौगात’ जस्ता शीर्षकहरूमा कविता लेखिएका छन् ।
सबै जसो कविताले कुनै न कुनै रूपमा बाल आवाज मुखरित गरेका छन् । हक अधिकारका बारेमा बोलेका छन् । बालसुलभ मनोविज्ञानलाई समेटेका छन् । कतै अभिभावकलाई कर्तव्यबोध गराएका छन् । कतै भने शिक्षकवर्गको बेहोसी चालामा असन्तोष प्रकट गरेका छन् । अझ कतै बाटो बिराएका साना नानीबाबुहरूलाई होसियार बनेर कर्तव्यपथमा लाग्न सचेत पारेका छन् । कतै स्वभाविकपन अनुभूत हुन्छ । कतै भने आदर्शपनको झल्को मिल्छ । बालबालिका पनि समाजका अभिन्न अङ्ग भएका कारण उनीहरूको अधिकार कुण्ठित पार्दा भविष्यमा पूरै समाज दलदलमा फँस्न सक्ने अभिमत जाहेर गरेर आजका अभिभावकहरूको व्यवहार बालमैत्री हुनुपर्ने कुरामा जोड दिइएको छ ।
अब भने यहाँ समेटिएका तिनै ३१ कविताको सङ्क्षिप्त सार खिच्ने जमर्को गरिएको छ– कृतिको पहिलो कविता ‘सार्थक पढाइ’ मा आजका सिकारुले आफूले पढे र बुझेजस्तै व्यवहार गरे मात्र उसले सार्थक पढाइ गरेको ठहर्छ भन्ने अभिमत व्यक्त भएको छ । हलीदाइको मार्मिक दिनचर्यालाई बाललवजमा प्रस्तुत गरिएको ‘हलीदाइ’ कवितामा परिश्रमी बन्नुपर्ने धारणा व्यक्त भएको छ । ‘फाइदा हुन्छ भन्दैमा’ शीर्षकमा भने आफ्नो फाइदाको काममा मात्र दृष्टि दिए स्वार्थी भइन्छ भन्ने अवधारणा जाहेर भएको छ ।

कृपया यो पेज Like गर्नु होला

त्यसै गरी ‘आफ्नो नाम चलाऊ’ भन्ने कवितामा राम्रो बानीले राम्रो मान्छे बन्न सघाउँछ भन्ने कुरा गरेर बालबालिकालाई आदर्शको पाठ पढाइएको छ । ‘म कसरी फेल ?’ कविताले बालबालिकाको प्रतिभा अनेक ठाउँ र अनेक क्रियाकलापमा झल्कने हुँदा शिक्षक÷अभिभावकले सोचेर निर्णय लिनु वा अवधारणा बनाउनुपर्नेमा खबरदारी गरेको छ । समाजलाई मन नपर्ने बानीमा लत बसाएर अनमोल जीवन ध्वस्त पार्नु जीवनकै भूल हुने कुरा सम्झाउने काम ‘चोर्ने बानी’ कविताले गरेको छ । ‘राम्रो काम खोज’ कवितामा आफ्नो जिम्माको काममा दत्तचित्त लगाई समस्या समाधानमा बालबालिका स्वयम् अग्रसर हुनुपर्ने कुरामा जोड दिइएको छ । प्रकृतिलाई सन्तुलनमा राख्ने कागको आनिबानी र दिनचर्यालाई समेटेको ‘कागदाइ’ कविताले कागलाई माया गर्नुपर्ने र त्यसबाट होसियार रहनुपर्ने कुरा गरेको छ ।
‘शिशिर–वसन्त’ कवितामा भने प्रकृतिको अनुपम सौन्दर्यताका साथै अद्भूत लीलाको चर्चा गरिएको छ । ‘पढाइको अर्थ’ कवितामा चाहिँ करले हैन रहरले पढ्न अग्रसर हुनुपर्ने कुरा अघि सारिएको छ । ‘पढ दुःख गरेर’ कवितामा दुःख गर्न सके सुख आफ्नै पोल्टामा आउने विचार राखिएको छ । वैयक्तिक सरसफाइ र कार्यमा सचेत हुन आह्वान गरिएको कविता हो– ‘विद्यालय जाऊ’ । जीवनमा भन्न र गर्न बाँकी रहेको कुरा ‘भन्न बाँकी रहेकै छ’ कविताले गरेको छ । ‘गर्छौँ काम हामी’ शीर्षकको कविताले भने अरूको मनमा सकारात्मक प्रभाव पार्ने खालको कार्य गर्ने उत्कट अभिलाषा आजका नानीबाबुले राख्नुपर्छ भन्ने विचार प्रेषण गरिएको छ । अझ ‘आफ्नै प्रश्नोत्तर’ कवितामा भने हरेकले पहिले आफूलाई चिनेर र बुझेर कर्मपथमा अग्रसर हुनुपर्ने दृष्टिकोण व्यक्त भएको छ ।
त्यसै गरी ‘निराश नहोऊ’ कवितामा आत्मविश्वासका साथ बाधा–अडचन पन्छाउँदै जीवनमार्गमा दौडने व्यक्तिले नै विजयको सुवास लिन पाउने उद्घोष गरिएको छ । ‘आफ्नै लागि’ कवितामा भने मान्छेले दस नङ्ग्रा खियाउने र संसारसँग पौँठेजोरी खेल्ने काम केवल आफ्नै लागि गरेको हो भन्ने सोच राखिएको छ । ‘कलम’ कवितामा कलमको महत्त्व र आवश्यकताका बारेमा चर्चा गरिएको छ । उपकारी भएर बाँच्ने मान्छेले नै जिन्दगीको मूल तात्पर्य बुझेको हुन्छ भन्ने विचार ‘जिन्दगीको सार’ कवितामा प्रकट भएको छ । ‘हामी पनि अरूजस्तै’ शीर्षकको कवितामा प्रयास गर्दै गए संसारमा असम्भव प्रायः कार्यहरू पनि चुट्की भरमा गर्न सकिने मत सार्वजनिक भएको छ । अर्को ‘मान्छे हुन पायौँ’ कवितामा भने धर्तीमा सर्वश्रेष्ठ प्राणी हुन पाएकोमा गर्व गरी सर्वश्रेष्ठ कर्म गर्न सक्नुपर्ने विचार आएको छ । ‘फटाहाको रङ’ कविताले फटाहाहरू समाजका अभिसाप भएको र तिनलाई बेलैमा चिनी पाखा लगाउनु पर्ने सान्दिर्भक विचार समेटिएको छ । ‘नेपाली विषय’ कवितामा भाषाप्रेमको कुरा गरिएको छ ।
‘बाँस’ कविताले बाँसको बहुपयोगिताका बारेमा रसिला कुरा अघि सारेको छ । ‘यस्तो मौका’ कवितामा चाहिँ बालजीवन सधैँ नआउने भएकोले यसको उपयोग गरी जीवनको आधार मजबुत पार्नुपर्ने कुरा आएको छ । अर्को ‘तपाईं पनि हामीजस्तै’ कवितामा आजको समाजका ठूलाबडाहरू हिजोका बालबालिकाझैँ चञ्चले भएकाले आफ्नो त्यस जीवनलाई सम्झेर आजका नानीबाबुहरूसँग व्यवहार गर्नुपर्ने मत व्यक्त भएको छ । ‘प्रकृतिको पाठ’ कवितामा भने प्रकृतिको प्राकृतिकपनमा रमाउन सक्नेले अथाह आनन्दानुभूति अनुभूत गर्न सक्ने कुरा गरिएको छ । ‘खीर खाने हजुरबा’ कविताले समाजमा हुने गरेका आडम्बरी चालचलनलाई सुधार गर्नुपर्ने कुरा उठाएको छ । विभिन्न बहाना बनाएर कर्तव्यबाट च्युत भए त्यसको घातक परिणामको भोग स्वयम्ले गर्नुपर्ने कुरा गरेर स्वावलम्बी बन्नुपर्ने प्रेरणा दिइएको कविता हो– ‘बहाना’ । ‘पढ्नैपर्ने हुन्छ’ कवितामा भने बालबालिकाले लेखपढमा कन्जुस्याइँ गर्न नहुने सोच राखिएको छ ।
शरीरका अङ्गप्रत्यङ्ग राम्रा भएझैँ हाम्रो चालचलन, सोच र क्रियाकलाप पनि राम्रो हुनुपर्ने विचार सम्प्रेषण भएको कविता हो– ‘राम्रो हुन बाँकी’ । ‘फरक हुनुपर्छ’ कवितामा हामी दिनानुदिन सप्रँदै र उत्तम हुँदै जानुपर्ने कुरा गरिएको छ । असल काम गरी सबैको लोकप्रिय हुनू भनेर ‘झन् माथि पुग्नू है’ कवितामा बालबालिकालाई आशीर्वचन दिइएको छ । आजका बालबालिकाले कसैको करकापमा परेर हैन केवल आफूलाई बुझ्न र संसारलाई चिन्न लेखपढमा चित्त लगाउनुपर्ने आवश्यकता औँल्याउने काम ‘काम र बानी’ कवितामा गरिएको छ । कृतिको शीर्षक जुराइएको अन्तिम कविता ‘बाल सौगात’ मा लेखपढ गर्ने साधनहरू (विशेषतः पुस्तक) लाई बालबालिकाले बाल सौगातका रूपमा लिएर लेखपढ गरी समाजका होनाहार नागरिक बनेर लेखकको सोच, समझको कदर गरिदिऊन् भन्ने मनोकाङ्क्षा व्यक्त भएको छ ।
उदाहरणार्थ प्रस्तुत छन् केही हरफहरू–
नबिसाई हिँडिरहे मात्रै पुग्छौँ छिटो
परिश्रम गरी खाँदा हुन्छ साह्रै मीठो ।
बानी राम्रो भए मात्रै पढाइ सार्थक बन्छ
जति पढोस् फटाहालाई कसले राम्रो भन्छ ?
(पृष्ठ– ५)
बुझेको कुरा मनमा राखी काम गर्ने काइदा
त्यो मनलाई काबुमा राखे झन धेरै फाइदा ।
पढाइभन्दा बुझाइ ठूलो बुझाइभन्दा काम
सबैमा बानी बसाए मात्रै रहन्छ तिम्रो नाम ।।
(पृष्ठ–४४)
उनी नवरङ सम्मान–२०५८, धनहाङ भैरव कविता–२०५९, मातृभूमि साहित्य समाज सम्मान–२०६५ जस्ता पुरस्कार र सम्मानले विभूषित छन् । एम. ए., बी.एड. सम्मको औपचारिक अध्ययन गरेका श्रेष्ठको स्वाध्ययनको दायरा निक्कै फराकिलो छ । उनी हाल श्री सरस्वती मावि, खानीभञ्ज्याङ, ओखलढुङ्गामा शिक्षणरत् छन् । कवि इन्द्रकुमार श्रेष्ठका कवितामा कसिलो अभिव्यक्ति सशक्तरूपमा व्यक्त भएको पाइन्छ । हरेक कवितामा दमदार साङ्गीतिक लयात्मकता भेटिन्छ । एकाध कवितामा उनले शिष्ट सामाजिक आदर्शलाई समेत स्थान दिएका छन् । उनका कविताहरू आम अग्रजहरूको बुझाइ र सरोकारभन्दा फरक तेस्रो दृष्टि राखेर बालमनोविज्ञान अनुकूल पारी लेखिएका छन् ।
बालबालिकाकै बीचमा रहेर जीविकोपार्जन गर्ने पेशा रोजेका हुनाले पनि उनको सोचसमझ बालबालिकामै बढीभन्दा बढी केन्द्रित हुन्छ । उनी विविध साहित्यिक रचनाका अतिरिक्त सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक विषयवस्तु केन्द्रित समसामयिक रचनाहरू ‘शिक्षक मासिक’, ‘आजको शिक्षा साप्ताहिक’, ‘कान्तिपुर दैनिक’, ‘गोरखापत्र दैनिक’ जस्ता राष्ट्रिय पत्रपत्रिकाहरूमा पनि लेख्छन् । उनी देखेका, भोगेका, चित्तमा छाप राखेका र अनुभूतिले भिजाएका कुराहरू रिठ्ठो नबिराई लेख्ने गर्छन् । मुलतः उनी उज्ज्वल भविष्यका पक्षमा छन् । आजका बालबालिकाको उज्ज्वल भविष्यको चाहना र कामनामै उनका कविताका हरेक हरफहरू निर्मित छन् भन्दा अतिशयोेक्ति नहोला ।
कृति : बाल सौगात÷विधा : कविता÷कवि : इन्द्रकुमार श्रेष्ठ÷संस्करण : प्रथम, २०७२÷प्रकाशक : शब्दार्थ प्रकाशन, काठमाडौँ, सर्वाधिकार : लेखकमा÷मूल्य रु. ८०, पृष्ठ : ४+४४=लेखक सम्पर्क– मो.नं.९७४१०६२८३२
–श्री जनसेवा माध्यमिक विद्यालय, कर्जन्हा–४, सिरहा । मो. नं. ९८४२८२९२०६
nandalalacharya@gmail.com

तपाईको प्रतिक्रिया