काठमाडौं – प्रतिबन्धित एक हजार र पाँच सय दरका भारतीय नोट साटिदिने भन्दै ठगी सुरु भएको छ । पान पसलदेखि चिया पसलसम्म सजिलै कारोबार हुने एक हजार र पाँच सय दरका भारतीय नोटमा एक्कासि प्रतिबन्ध लागेपछि त्यसको असर नेपालमा समेत परेको छ । नेपाली बजारमा परेको असरको फाइदा उठाउँदै केही दलालले सटही गर्ने भन्दै ठगी धन्दा नै थालेका छन् । अहिले एक हजार भारतीय रुपैयाँ बराबर एक हजार नेपाली रुपैयाँ लिने–दिने गरिएको छ । तरकारी पसलेले जतिको त्यतिमै पैसा साट्न थालेका छन् ।
उता, नेपालमै बसेका भारतीय नागरिक पनि यसमा सक्रिय हुन थालेका छन् । भारतको पश्चिमबंगाल घर भएका एक भारतीय नागरिक पाँच सय र हजारका प्रतिबन्धित नोटसँग नयाँ नोट साटिदिने भन्दै एकै व्यक्तिबाट ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा टेकुका अनुसार भारतको पश्चिमबंगाल शीतलकोची कोचविहार घर भई हाल कलंकी बस्दै आएका ४१ वर्षीय हरेकृष्ण साहले प्रतिबन्धित नोट साटिदिने भन्दै एकै व्यक्तिबाट ५० लाख ठगेका हुन् । साहले रौतहटको झुनखुनुवा गाविस घर भई काठमाडौं बस्दै आएका अब्दुल रहिमबाट ५० लाख ठगी गरेको महाशाखाले जानकारी दिएको छ ।
अपराध महाशाखाका अनुसार साहले नेपालमा ५० लाख दिने बताउँदै २० लाख भारु भारतमा र बाँकी १६ लाख ५० हजार नेपाली रुपैयाँ नेपालमै दिन भन्दै ग्लोबल बैंकमा विभिन्न व्यक्तिका नामका खातामा हाल्न लगाएर ठगी गरेका हुन् । प्रतिबन्धित भारु साटिदिने भन्दै ठगीमा संलग्न भएका साहलाई अपराध महाशाखाले पक्राउ गरी थप कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा पठाएको छ ।
त्यस्तै, सीमावर्ती क्षेत्रमा समेत भारतीय नोट सटहीमा ठगी हुन थालेको छ । केही दिनअघि इलामको पशुपतिनगरमा नेपालीहरू ठगिन थालेपछि भारतीय रुपैयाँको सटही काउन्टर स्थापनाका लागि स्थानीयवासीले माग गरेका थिए । सटही काउन्टर नहुँदा सीमावर्ती क्षेत्रमा आएका पर्यटक र सर्वसाधारण स्थानीय व्यापारीबाट ठगिने गरेका छन् ।
स्थानीय व्यापारीले एक हजार नेपाली रुपैयाँको भारतीय ६ सय २५ रुपैयाँ पाउनुपर्नेमा स्थानीय व्यापारीले ६ सय रुपैयाँ मात्र दिने गरेपछि उनीहरू ठगिएका हुन् । त्यस्तै, सीमावर्ती क्षेत्रमा व्यापारमार्फत संकलन हुने भारतीय रुपैयाँ खरिद बिक्रीका लागि झापाका स्थानीय बासिन्दा पनि ठगिने गरेका छन् । भारतीय पाँच सय र एक हजार रुपैयाँका नोट कारोबार गर्न प्रतिबन्ध गरे पनि पशुपतिनगरमा खुलेआम सामान खरिद गरेझैं भारतीय नेपाली र भारतीय रुपैयाँको खरिद बिक्री हुने गरेको छ । भारतमा बैंक खाता हुनेहरूका लागि केही सहज भए पनि सर्वसाधारण नेपालीका लागि भने निकै कठिन बनेको छ । आजको राजधानी दैनिकमा खबर छ ।