resmi-lamichhne
रेश्मी लामिछाने

‘‘तपाईं के लिने खाजामा ?” भर्खरै वेटरले छोडेर गएको मेनु हेर्दै उसले मलाई सोधी । ‘‘खै खाजा त केही नखाऊँ होला, आज खाना नै ढिलो खाइयो ।” उसको प्रश्नको उत्तर उसलाई हेर्दै दिएँ । मेरो उत्तरको पर्खाइमा उ मेरै अनुहारतिर सोझिएकी थिई । ‘‘कफी लिने त ?” आँखा अलि चञ्चल पार्दै उसले सोधी । मैले टाउको हल्लाएँ । ऊ ब्यागबाट पर्स झिकेर भित्र काउन्टरतिर लागी ।
हट चिल्ली क्याफे काठ्माडौं मलको दोस्रो तल्लामा म एउटी युवतीको साथमा केही क्षण अगाडि आइपुगेको थिए । भर्याङ उक्लनासाथ बाहिरपट्टि २ वटा टेबलको साथमा ३, ३ वटा कुर्सी थिए । भित्रपट्टि निकै टेबल सजिएका थिए । हामी बाहिरै बस्यौँ । यो उसको मनपर्ने क्याफे हो । ऊ प्रायः यस क्याफेमा आउने गर्छे रे । म भने पहिलो पटक आउँदैथिएँ । अगाडिपट्टि एनएसीमा गाडीका लावालस्कर देखिन्थ्यो, मान्छेको चहलपहल पनि त्यस्तै ।
दिउँसोको १ बजिसकेको थियो । ऊ काउन्टरबाट कफी अर्डर गरेर आई । हामी कुनापट्टिको टेबलमा थियौँ । छेवैको टेबल तीनजना केटाले भरिएको थियो ऊभित्र जाँदा । ऊ र म एकदमै आमनेसामने बसेका थियौँ ।
अप्रिशा, उसको नामै अनौठो । नयाँ धारको शब्दले बनेको तर पुरानै शब्दको मिठास । ऊ साच्चै राम्री लाग्छ । साधारण पहिरनमा ऊ राम्री देखिन्छे । विछट्टै राम्री त भन्दिनँ तर उसका हरेक अङ्ग प्रिय लाग्छन् । उसका केही मिलाएका आँखीभौँ निकै काला छन् । गोरी वर्णकी ऊ ठूला अनि गोला आँखामा केही लगाउदिन । मैले आजै उसलाई नियालेँ उसका परेला पनि कति लामा अनि माथि फर्किएका, सानो छँदा बहिनीले च्यापी हिँड्ने गुडियाको जस्तो । पीपलपाते ओठमा उसले ओठ रङको लिपिस्टिक लगाएकी छे । यो सहरको भीडमा कैयौं केटीसँग मेरो कुम ठोकिन्छ जो भन्दा ऊ धेरै फरक छे । ओठभरी रातो, आँखा नै पुरिनेगरी गाजल, कपालमा राता कैला रङ । छि.. कत्ति नि राम्रा लाग्दैनन् मलाई ती केटीहरु ।
सदाझैँ उसले पाइन्ट टिसर्ट नै लगाएकी छे । आधुनिक पहिरनमा पनि उसमा सादगी छ । कस्सिएको कालो पाइन्ट जुन कम्मरभन्दा माथिसम्म पुगेको र सेतो रङको टिसर्टलाई भित्रपट्टि च्यापेकी छे । सर्लक्क मिलेको छ उसको जिउडाल ।

कृपया यो पेज Like गर्नु होला

‘‘अनि नयाँ खबर सुनाउनुस्” उसले मन्द मुस्कानका साथ पीपलपाते ओठ थोरै तन्काउँदै सोधी । ‘‘खासै केही छैन, काम नै छैन भनौँ, कसैले बोलाइहाले दौडिहालिन्छ, यस्तै छ ।” म हाँसे उसले पनि हाँस्दै टाउको तलमाथि गरी । अलि लाज पनि लाग्यो, कस्तो बेकामे पो सोची कि भन्ने । ऊ जति साधारण छे, कुरा पनि खुलस्त गर्छे । ऊ राम्रो कामको प्रशंसा अनि नराम्रो कामको विरोध गर्छे ।
उसँग म रातविरात पनि कुरा हुन्छ कहिलेकाहीँ तर ऊ आफ्नो दायरालाई कहिल्यै नाघ्दिन । केटो मान्छे न हुँ कुनै न कुनै बेला कुरा बटार्न मन लाग्छ तर उसले मलाई सोझ्याएर उसकै बाटोमा ल्याएर छाड्ने । मलाई उसको यो बानी मनपर्छ ।

ऊ जस्तो परिवेशमा पनि आफूलाई ढालेर अगाडि बढ्न सक्ने आजकी नारी हो । सोच्छु यो भिडभाडमा गिद्धे नजरबाट हरेक दिन कसरी बचेर हिँडेकी होली । ‘‘ओहो मुटु नै चिसो हुने कुरा” अगाडि बसेकी अप्रिशालाई झस्किँदै हेर्छु । एक किसिमको ऐठनले थिच्छ मलाई । ‘‘गिद्दे नजर” कति डरलाग्दो शब्द लाग्यो आज मलाई । तर ऊ हाँसिरहेकी छे मेरो अगाडि मानौँ यो सबबाट बेपर्वाह बाँचिरहेकी छे यो दुनियाँमा । ‘‘के सोच्नुभाको ?” कफी मतिर सार्दै उसले सोधी । ‘‘कफी लिनुस्” भन्दै आफूले पनि लिई । हत्तेरी कस्तो गहिरो सोचमा डुबेछु, वेटरले कुन बेला कफी ल्याएछ पत्तो नै पाइन । ‘‘खोई बेलाबेला यस्तै हुन्छ मलाई” कप उठाउँदै उतिर हेरेँ । उसको अनुहारमा कुनै भाव भेटिनँ । उसको नजर कपतिरै थियो । मेरो कुरा सुनेर निधार खुम्च्याउँदै मलाई हेरी । लाज लाग्यो उसँग नजर जुध्दा अनि डर पनि । खिसिक्क हाँसे, उसले पनि बायाँ गालामा खाल्डो पारी ।

हामी बसेको टेबलबाट भृकुटीमण्डपको फनपार्क पनि केही हदसम्म देखिन्थ्यो । विशेष त्यहाँबाट देखिने भनेकै रोटेपिङ थियो । ‘‘तपाईंले त्यो पिङ खेल्नुभाछ ?” बडो उत्सुकताकासाथ उसले सोधी, मानौ पिङै खेल्न लागेजस्तो । मैले पनि खेलेको छु भनिदिएँ । ‘‘उसो भए डर लाग्दैन तपाईंलाई ?” बढी नै उत्सुकतामा थिई ऊ । मैले टाउको हल्लाएँ । ‘‘छिटो कफी सकौं अनि खेल्न जाम ।” म एकछिन अलमलिएँ । ‘‘जाने नै होर ?” एकचोटि सोधिहेरेँ बा नजाने भन्छे कि भनेर । ‘‘अब काम के छ त, जाम न, कफी पनि सकियो ।” यति भनेपछि मेरो पनि के सीप लागोस् र ? ‘‘लौ जाम न त ।”

दिउँसोको २ बजेर १० मिनेट भइसकेको थियो फनपार्क पुग्दा । प्रवेश टिकट लिन म अगाडि तम्सिएँ उसलाई छोडेर । दुईवटा टिकट मागेँ, पछाडिबाट कोट्याएर उसको विद्यार्थी कार्ड दिई । दुवैको कार्डको छुट पनि भयो । भित्र छिर्नासाथ ऊ कतै नहेरी सीधै रोटेपिङतिर लागी । आफूलाई भने पसिनै छुटेको थियो । खेलेको छु भनिहालेँ तर उचाइदेखि चाहिँ अलि डर लाग्छ भनेर पनि भनिसकेको त थिएँ अलि बाठो भएर । टिकट उसैले किनी खै कति तिरी थाहा पनि भएन । अरु केही खेलिएछ भने मै काटुँला टिकट भनेर सोच्दै उसलाई कुरेँ । चर्को घाममा पसिना चिटचिट देखेँ उसको निधारमा पनि । भीडलाई पन्छाउँदै छेउमा आई अनि ङिच्च हाँसी ।

आधा घण्टापछि हाम्रो पालो आयो । एकअर्कातिर मुख सोझ्याएर हामी बस्यौँ । विस्तारै मान्छे भरिए । पिङको चाल पनि विस्तारै बढ्यो । पिङ दौडियो । त्यो ट्याङकाभित्रका हामी हल्लिन थाल्यौँ । ‘‘चिच्याउनुपर्छ है धेरै” भनेकी थिई उसले । मलाई पनि डर भगाउने बहाना फेला परेको थियो । पिङले धेरै जोडले गोल चक्कर लायो । हावाले फिरिरी उडायो । अब त पछार्लाजस्तै भो, गाला ताता भएका थिए । चिच्याउन पनि सकिरहेको थिइनँ । तर मेरो ठीक सामु हावालाई खुलेर महशुस गर्दै थिई ऊ । खुला हात आकासमा फिजाउँदै रमाइरहेकी थिई । उसको अनुहारमा डर होइन खुशीले पिङ खेल्दैथियो ।

उसको यस्तो निडरपनाले मलाई अचम्मित पार्यो । ६, ७ फन्का पछि पिङ रोकियो । मुटुको चाल पनि विस्तारै कम हुन थाल्यो । उसको अनुहारमा असन्तुष्टिको भाव मैले पढ्न सकेँ । ‘‘अब के खेल्ने ?” उसले कोलम्बसतिर हात तन्काई । म टिकट लिन गएँ ।

१५ मिनेटको भीडपछि कोलम्बसमा बस्यौँ, सबैभन्दा माथि । ‘‘यहाँ बस्दा अलि रमाइलो हुन्छ ।” ऊ ब्याग मिलाउँदै यस्तै भन्दै थिई । कोलम्बसको गति विस्तारै बढ्यो । जतातिर कोलम्बस उक्लिन्थ्यो त्यो साइडका सबै बस्थे अनि अगाडि पट्टि बस्नेहरु हुटिङ गर्दै उठ्थे । त्यसो गर्दा ज्यादा डर लाग्छ रे उसैले भनेकी यो कुरा पनि । ऊ त उठेको उठै चिच्याउदै थिई । कस्तो डर पनि नलागेको । उठ्दा त सर्लक्कै खसिएला जस्तो हुँदोरैछ । यसो के उठेको थिए सातो नै गयो । बसिरहे लाजै पचाएर । कोलम्बसको गतिले पनि बिट मार्यो । उसलाई रमाइलो लागेको थियो तर मलाई चिन्ता, फेरि खेलौं भन्ने हो कि भनेर । कोलम्बस खेलेर सकिनासाथ मैले भने ‘‘अब घरतिर लाग्नुपर्ला” । उसको अनुहार थोरै अँध्यारो भयो तर उसले हाँसोले लुकाई । गेटबाट निस्किनेबेला फ्याट्ट एउटा हरिलन्ठु मतिर हुत्तिँदैथियो । त्यसलाई पनि आजै यता मर्न परेको । यसो हात उठाएर इसारा गरे उसले अप्रिशालाई देख्यो अनि रोकियो । ‘‘अब यसले बबाल गर्ने भो कलेजमा ।” दिमागमा सल्बलायो यो कुरा ।

बाहिर निस्केपछि खाजा खाने सुरमा एउटा खाजा पसल छिरेर मम अर्डर गरेँ । उसले भेज खाने भनी मैले बफ । बाहुनको छोरो भएर केटीको अगाडि राँगाको मासु पनि चपाएँ । एक दिन त नखाको भए पनि हुने जस्तो लाग्याथ्यो । मम आइ त सक्यो टेबलमा, खाएँ ग्वामग्वाम ।
१५ मिनेट पैदल हिँडेर हामी एनएसी आइपुग्यौँ । ऊ मलाई गाडी चढ्ने ठाउँसम्म छोड्न आई । ‘‘हवस्त जान्छु ।” भन्दै दुई हात जोडी मैले पनि दुवै हात जोडेँ । ऊ सरासर न्युरोड गेटतिर लागी, हरेक पाइलाले मलाई पछाडि पार्दै । मैले उसलाई हेरिरहेँ तर ऊ न एकचोटि फर्की न त उसको गतिलाई रोकी । एकनासको गतिमा मोडिएको बाटो पछ्याउँदै ऊ मेरा आँखाबाट हराई ।

तपाईको प्रतिक्रिया