• दीपक घिमिरे

‘कहानी घर–घर कि’ हिन्दी च्यानलबाट प्रसारित हुने यो सिरियल त्यो बेला खुबै हेर्थें । बुझेर त हैन, नबुझेरै सेन्टी भइन्थ्यो । कलाकारहरुको पीडामा आँसु खस्लाझैं भएर आँखा रसाउँथे । अनि उनीहरुको खुशीमा आफै ओठसम्म मुस्कान आइपुग्थ्यो ।
ठ्याक्कै त्यस्तै घरघर कि कहानी बन्छ आजभोलि हाम्रो समाजमा । तर कसैलाई कसैको मतलब छैन । पल्लो घरमा भैंसी ब्याउँदा सबै टोलवासी खुशीले रमाउने समाज हो हाम्रो तर अहिले मथिल्लो घरमा मान्छे मर्दासमेत ओल्लो घरमा मुन्नी बदनाम हुई बोलको गीत घन्केको हुन्छ, निसंकोच ।
कथा लेख्दा लेख्दा थाकेँ म, तर व्यथा सकिएका छैनन् । कति लेख्नु तिनै व्यथाहरु मात्र । अब त कथामा ट्विस्ट पनि भेटिन छाड्यो । सबै उस्तै कथा । पढ्नेहरु पनि थाके, लेख्ने म त झन उतिबेलै थाकेँ जतिबेला कथा उल्टिन थाले । समस्या उनै भएपछि कथा पनि उनै आउन थाले । अनि आज सुरू गर्दैछु, समग्र समाजको कथा । जुन कथा हिजोका दिनमा समाजमा घटे ।

कृपया यो पेज Like गर्नु होला

कहानी नं. १
पढाइमा एक नम्बर थियो लक्षु । पूरा नाम लक्ष्मण भए पनि हामी माया गर्दै लक्षु भन्थिम् । आमा सानैमा मरेकी भए पनि बाआमा दुवैको माया बा एक्लैले दिएका थिए । पढाइमा एक नम्बर भनेपछि आफै कुरा बुझ्नुस् । फेल हुने कुरै भएन । बिहानभर काम अनि स्कुल अनि फेरि स्कुलबाट फर्केर घरको काम गर्ने लक्षु पैसाको अभावमा पढाइ छाड्यो । पढाइ छाडेकै वर्ष लाहुर पस्यो । आजभोलि सुद्ध लाहुरे हो ऊ ।
कहानी घर–घरकी छ । पढाइमा अब्बल लक्षुले पढाइ छाड्यो, यो उसको घरको कहानी हो । तर नबुझ्नेहरु लक्षुलाई नै दोष दिन थाले । लक्षु बिग्रियो भन्नेहरु धेरै जन्मिए । तर ऊ बिग्रिएको थिएन, घरको अवस्था बिग्रिएको थियो । स्कुल फिस तिर्न नसकेर रिजल्ट रोक्का हुने हाम्रो स्कुलमा ऊ पढ्न चाहेको भए उसका बाको राम्रो आम्दानी हुनुपथ्र्याे । त्यो थिएन अनि पढ्न सकेन । उसलाई पनि थाहा थियो, पढेर ठूलो मान्छे बनिन्छ भन्ने । तर सकेन ठूलो मान्छे बन्न । अग्लो भयो, पहिलेभन्दा अझ धेरै मोटायो । ठूलो पनि भयो तर हुने बिरुवाको चिल्लो पात देखाएको लक्षु लक्ष्यमा पुग्न सकेन । उसको घरको कहानी यस्तो थियो ।

कहानी नं. २
पञ्चायती व्यवस्थाको अन्त्य भए पनि गाउँमा पञ्चको ठाँटमा सजिएर बस्ने मान्छे हुन्– कुले प्रधान । गाउँभरिकाले प्रधान साप भन्दै पाई लाग्थे । ठूलो भुँडी अनि अग्लो जिउडाल देखेर हामी केटाकेटी टाढैबाट भाग्थ्यौं । तीनवटी बिहे गरेका प्रधान बाजे बहुदल आएसँगै राजनीतिबाट निष्क्रिय बसे तापनि गाउँमा उनकै राज थियो । यता आइबक्सियोस् प्रधान साप, उता गइबक्सियोस् प्रधान साप ! राजखानदानकै सम्मान थियो प्रधान बाजेलाई ।
उनका तिनवटी स्वास्नीबाट चौध जना छोराछोरी । तीमध्ये आठ भाइ छोरा । गाउँ–टोल ढपक्कै ढाक्ने । ऊ बेला बुढापाकाको आशीर्वाद छ नि ‘सन्तानले डाँडाकाँडा ढाकून्’ भन्ने । त्यो प्रधान बाजेले खुबै पाएका रहेछन् । सन्तानले टोल छिमेक पूरै ढाक्ने ।
कान्छोभन्दा मथिल्लो छोराको नाम थियो वीरे । वीरबहादुर मल्ल हो पूरा नाम । तर यसलाई पनि हामी छोटकरीमा वीरे बनाइदेका थिइम् । वीरे पढ्नमा लद्दु । मतलब कमजोर । मिश्रा सरको कुटाइ नखाको दिनै नहुने । कुटाइ खाएर क्लास सकिने वित्तिकै घमण्ड झार्दै वीरेले भन्थ्यो ‘यो साले मधिसेको जागिर चट गराइदिन्छु बुबालाई भनेर ।’
भरे स्कुलबाट फर्किंदा उल्टै उसका बाले कुटेको हामी देख्थ्यौं । स्कुलमा कमजोर भएसी घरमा बाआमाले पनि कुट्थे । त्यो बेलाको चलन हो । आजभोलि जस्तो ‘मेरो छोरालाई किन कुटिस् ?’ भनेर उजुरी गर्थेनन् हाम्रा बाआमाले । उल्टो ‘यसलाई कुटेर भए पनि पढाइमा तगडा बनाउनुहोला है सर !’ भन्दै हात जोड्न जान्थे सबैका बाआमा ।
वीरे पढाइमा कमजोर थियो तर हिम्मती । चिट चोरेरै भए पनि पास हुन्थ्यो । ऊ पास भएसी स्कुलका मास्टरहरु जम्मै अचम्म पर्थे । ‘ओ माई गड ! वीरे पनि उत्तीर्ण ?’ सबै यस्तै प्रश्न गर्दै बस्थे अफिसमा । वीरेका बा प्रधान पनि खुशीले गदगद ।
वीरे पैसाको बलमा पढ्थ्यो । लक्षु पैसाको अभावले पढाइ छाडेको हाम्रो समाजमा वीरे पढाइमा अगाडि बढ्दै गयो । हेर्दाहेर्दै वीरे साइन्स विषय लिएर कठमाडौंमा कलेज पढ्न थाल्यो ।
आजभोलि गाउँकै हेल्थपोस्टमा वीरे डाक्टर भएर आएको छ । कहिलेकाहीँ गाउँ जाँदा यी दुई पात्रलाई सम्झिन्छु । एउटा लक्षु अनि अर्को वीरे । हुने बिरुवाको चिल्लो पात देखाउँदै पढाइमा अगाडि बढेको लक्षु लाहुरबाट दशैं बिदा लिएर घर आउँछ, वीरे चैं घाँटीमा आला झुण्डाएर बिरामी जाँच्दै बस्छ ।
पैसाको बलमा रसियामा डाक्टरी पढेको वीरेको दस क्लाससम्मको परीक्षा चिटकै भरमा चलेको हो । लक्षुको उत्तरपुस्तिकाबाट उत्तर सारेर पास भएको वीरे आजभोलि डाक्टर वीरबहादुर मल्ल भएको छ ।

कहानी नं. ३
रने दाइकी बूढी सुन्तली पल्लो गाउँकी जुठे दमाइको छोरी हुन् । धनका लागि गरिब भए पनि रनेदाइ हाम्रो टोलकै इज्जतिलो र आदरणीय दाइ हुन् । भाउजु सुन्तली पनि त्यस्तै इज्जतिली । जुठे दमाइ गरिब छन् तर लोभी र पापी छैनन् । उनकी छोरी सुन्तली बत्तीस लक्षणले युक्त । जोडी खुबै जमेको ।
मेला पात, पानी पँधेरो गर्दा जोडी ढुकुर बनेर हिँड्थे रनेदाइका जोईपोइ । हामी सानै थियौं । हामी पनि गाउँलेका कुरा सुन्थ्यौं, गाउँले रनेदाइ र सुन्तली भाउजुको मायापिरतीको डाहा नै गर्थे ।
बिहे गरेको अर्को साल सुन्तली भाउजु दोजिया भइन्, मतलव गर्भवती । हजारौं पटक कान लगेर सुन्तली भाउजुको पेटमा सुन्दै आउनेवाला नयाँ मान्छेसँग रनेदाइ गफिन्थे रे । उनका साथीभाइ यसै भन्दै खिजाउँथे उनलाई । धनले गरिब भए पनि मनले निक्कै धनी थिए रनेदाइ । दिनभर सिलाइकटाई गरेर आएको पैसाले मज्जाले घर चलाउँथे रनेदाइले ।
एक दिन एक्कासि बेथा लाग्यो सुन्तलीलाई । गाउँ टोलका आइमाई जम्मा भए, सुडेनी अन्टी पनि आइन् । रने दाइ आँगनमा बसेर जिम्दार बाका लुगा सिलाउँदै थिए । भित्र आइमाई हल्ला गर्दै थिए ‘ओए ! बच्चा उल्टो छ । गाह्रै पर्छ है बचाउन । भगवान भरोसा ।’
आइमाईका कुरा सुनेर रनेदाइको मुटुले ठाउँ छाड्यो । उसले भगवानलाई पुकार्दै भन्यो ‘हे भगवान ! सुन्तलीलाई बचाइदेऊ ।’
एकजना अन्टी आएर भनिन् ‘रने ! स्वास्नीलाई सहर अस्पताल लैजा । बाँच्दिैन नत्र ।’
रनेदाइ झन डराए । घरमा खाने अन्नबाहेक एक सुको थिएन । सहर लाने रुपियाँ नभएसी ब्याजे ऋण खोज्न रनेदाइ जिम्दारका घरतिर लागे । यता सुन्तली भाउजुले प्राण त्यागिन् । पन्द्र मिनेट छटपटिएर सुन्तली भाउजु मरिन अनि पेटमा भएको रनेदाइको सन्तान पनि मर्यो । त्यो घटना अहिले सम्झिँदा पनि मेरा आँखा रसाउँछन् । कहानी घरघर कि जस्तै ।

कहानी नं. ४
लाहुरे बा थिए हाम्रो गाउँमा । दोस्रो विश्वयुद्ध ताका फ्रान्सको आर्मी भएर युद्ध लडेको कहानी खुब सुनाउँथे । कथा कहानी भन्नमा उनलाई कसले जितोस् । ब्रिटिस पाउन्डमा पेन्सन बुझ्ने लाहुरेबाका दुई भाइ छोरा थिए । जेठा काठमाडौंमा बस्थे । कान्छो चैँ गाउँमै बस्थे । गाउँमा पनि आलिसान महल थियो । कमारा–कमारी राखेर खानदानी पोजमा बसेका थिए लाउरेबा । परार साल कान्छो छोराले बिहे गरे, दोस्रो बिहे । पहिलोबाट सन्तानै नभएसी फेरि दोस्रो बिहे । आफू पचास कटेका डिभिड कान्छाले पच्चीस पनि नपुगेकी नेवार्नी ल्याए सहरबाट ।
हेर्दै अप्सरा जस्ती च्वाँक नेवार्नीलाई सहरमा स्विटी भन्थे रे तर गाउँघरमा कुरा काट्ने आइमाई बगाल चम्चुरी भन्थे । मुखैमा चैँ कान्छी मैया भन्थे । कालो कपाललाई मेहन्दी लगाएर खैरो बनाकी कान्छी मैयालाई गाउँका बोका ठिटाहरु सेक्सी भन्थे । एक दिन लालेले बाटोमा नचिनेर सिट्टी बजाउँदै ‘ओ हेल्लो सेक्सी’ भनेछ अनि बेलुका खायो कुटाई लाउरेबाका ग्याङबाट । जीवनमा भुलेर पनि जिस्काउँदैन भन्दै थियो लाले ।
चार वर्षपछि कान्छी गर्भवती भई । प्रत्येक हप्ता अस्पताल लगेर कान्छा आफै कुदे । गर्भवती महिलाले गर्न हुँदैन, खान हुँदैन भनेर डाक्टरले बारेका च?ीज केही बारिनन् कान्छीले । पेट पढ्दै गए पनि नक्कल पारेर झन् सेक्सी देखिनु कान्छीको रहर थियो । दुनियाले कुरा काटे बालै छैन भन्दै कान्छी सातौं महिनामा टेकिन ।
एक दिन चट्ट उठेर भेस्ट अनि फरियामा सजियर कान्छी माइत हिँडिन् । नाति आफ्नै घरमा जन्मिनुपर्छ भन्ने सपना पालेका लाहुरेबाले कान्छीलाई रोक्न निक्कै कोशिस गरे । तर फतफताउँदै कान्छीले भनिन् ‘आमा र बच्चाको सुरक्षा अनि सुरक्षित डेलिभरीको लागि सहरमै बस्छु ।’
जति रोके पनि कान्छीले मान्नेवाला थिइन । अन्ततः कान्छी सुरक्षा र अस्पतालको सजिलोको कारण देखाउँदै सहर बस्न थाली । वर्षौं पछाडि लाहुरेबाको घरमा नयाँ मान्छे जन्मँदै थियो, त्यो पनि पैसा र आधुनिकताको नाममा सहरमा डेरा सर्यो अनि डेराबाट अस्पतालमा कान्छाको घोर्ले छोरो जन्मियो ।
यी र यस्तै कहानी धेरै छन् हाम्रो समाजमा पनि । कोही कस्ता कहानी बोकेर बसेका छन् त कोही कस्ता । आगामी दिनमा यस्तै घर–घरका कहानी लिएर आउने छु ।

तपाईको प्रतिक्रिया