- गृहमन्त्री बिमलेन्द्र निधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र कृषिमन्त्री गौरीशंकर चौधरी घटनास्थलमा जाने

काठमाडौं– भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपालीको मृत्य भएको १६ दिनपछि नेपाल सरकारका तीन मन्त्री आज घटनास्थलमा जाँदैछन् । गृहमन्त्री बिमलेन्द्र निधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र कृषिमन्त्री गौरीशंकर चौधरी घटनास्थलमा जान थालेका हुन् ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजार छेउको बाटोमा पुलेसा निर्माणको विषयमा विवाद झिक्दै भारतीय सुरक्षा अधिकारीले चलाएको गोली लागेर गत फागुन २६ गते गोबिन्द गौतमको मृत्यु भएको थियो । उनलाई सरकारले सहीद घोषणा गरिसकेको छ ।

कृपया यो पेज Like गर्नु होला

कंचनपुरको पुनर्बासमा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट मृत्यु भएका सहिद स्व. गोबिन्द गौतमप्रति श्रद्धाञ्जली व्यक्त गर्न र सरकारकोतर्फ बाट घोषणा गरिएको १० लाख रुपैयाँ प्रदान गर्न मन्त्रीहरु त्यहाँ जान थालेका हुन् । घटनास्थलको निरीक्षणपछि सहिद परिवारको सम्मानमा आयोजित कार्यक्रममा मन्त्रीहरु सहभागी हुनेछन् ।
कार्यक्रममा काँग्रेस नेता समेत रहेको मन्त्री निधि र लेखकले सहीद गौतमको परिवारलाई पार्टीको तर्फबाट ७ लाखको चेक हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्री लेखकका स्वकीय सचिव जनक भट्टले बताए । यस अघि सहीद परिवारलाई माओवादीले ६ र एमालेले पाँच लाख रुपैयाँ सहयोग गरिसकेका छन् ।
अधिकारीले गौतमसँगै भारतीय सुरक्षा अधिकारीको कुटपिटबाट घाइते भई उपचाररत रहेका पुनर्वासकै टीकाराम चापागाईंका परिवारलाई पनि काँग्रेसले सहयोग गर्ने भट्टले बताए ।

हिजो मात्र गौतमका परिवारलाई बर्दिया जिल्ला बढैया तालका समाजसेवी दामोदरप्रसाद अधिकारीले जग्गा प्रदान गरेका थिए । काठमाडाँै चन्द्रागिरि–१४ घर भई हाल बर्दिया बढैयाताल–३ बस्ने अधिकारीले कञ्चनपुर पुनर्वास नगरपालिका–११ मा आफ्नो नाममा रहेको करिब आठ लाख मूल्यबराबरको १२ धुर जग्गा स्व गौतमकी पत्नी लक्ष्मीलाई उनकै घरमा पुगेर प्रदान गरेका थिए ।
नेपाली सेनाका पूर्व सुवेदारसमेत रहनुभएका अधिकारीले आफूले पाउने एक महिनाको ‘पेन्सनबापत हुने १५ हजार समेत प्रदान गरेका थिए ।
घटनापछि आनन्द बजारदेखि पारी रहेको भारतको बसई बजारसम्मको आवागमन बन्द भई व्यापारिक कारोबार ठप्प रहेको छ । अप्रिय घटना हुन नदिन घटनास्थल नजिकैको नेपाली भूमिमा सशस्त्र प्रहरीको अस्थायी पोष्ट स्थापना गरिएको छ ।

तपाईको प्रतिक्रिया