समाचार/लेखलाई सेयर गर्नुहोस् ।

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकामा दोस्रो दिनसम्म ५ हजार ३ सय ७१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । पहिलो दिन २ हजार ३० जनाले लगाएका थिए भने दोस्रो दिन २ हजार ९ सय ४१ जनाले लगाएका छन् ।

कृपया यो पेज Like गर्नु होला

५५ वर्षमाथिका सवै, सार्वजनिक यातायातका चालक सहचालक, शिक्षक प्रधानाध्यापक, विद्यालय कर्मचारी, बैदेशिक रोजगारीमा जाने भिषा लागेका व्यक्ति, पहिलो डोज भेरोसिल खोप लगाएर दोस्रो डोज छुटेकाहरु, अत्यावश्यक काममा खटिएका वर्ग र कर्मचारीलाई चाइनिज खोप भेरोसेल खोप लगाएका हुन् । त्रियुगा नगरपालिकामा सवैभन्दा बढी त्रियुगा उच्च मावि प्राङ्गण गाईघाटमा लगाएका छन् । त्रियुगा मावि खोप केन्द्रमा पहिलो दिन ६ सय र दोस्रो दिन ९ सय २० जना गरी एक हजार ५ सय २० जनाले खोप लगाएको नगर स्वास्थ्य सहसंयोजक अवध नारायण चौधरीले बताए ।

यस्तै जोगिदह स्वास्थ्य चौकीमा ४ सय खोप लगाएका छन । जोगिदहमा समय अगावै खोप सकिएर धेरै लक्षित वर्गहरु विना खोप घर फर्किनु परेको थियो ।

यता साउने स्वास्थ्य चौकी खोप केन्द्रमा ३०३ जना, खाँबु स्वास्थ्य चौकीमा २९२ जना, चिलाउने स्वास्थ्य चौकीमा ५०७ जना, भुमरसुवा स्वास्थ्य चौकी खोप केन्द्र चुहाडेमा ६०३ जना, देउरी स्वास्थ्य चौकी खोप केन्द्रमा ८४४ जना र जिल्ला अस्पताल खोप केन्द्रमा ९०२ जनाले खोप लगाएको स्वास्थ्य सहसंयोजक चौधरीले बताए । उनका अनुसार त्रियुगा मावि, देउरी र चुहाडे खोप केन्द्रमा बुधबारसम्म चल्ने छ भने जिल्ला अस्पताल खोप केन्द्रमा बुधबार नियमित खोप भएकोले विहिबार मात्रै चल्ने बताए । त्रियुगा नगरपालिकामा करिव ८ हजार कोरोना विरुद्धको खोप लगाउने भएको छ ।

त्रियुगा उच्च मावि गाईघाटको खोप केन्द्रमा अधिकांश वृद्धवृद्धाले पनि खोप लगाएको पाइएको छ । बैंकका कर्मचारी, चालक सहचालक, यातायात व्यसायी संघका पदाधिकारी, सदस्य तथा कर्मचारी, क्याम्पस तथा विद्यालयका शिक्षक, कर्मचारी, ५५ वर्षमाथिका व्यक्तिहरुले खोप लगाएका थिए । यस्तै त्रियुगा माविको खोप केन्द्रमा लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिकामा कार्यरत शिक्षकहरुले पनि सिफारिस ल्याएर खोप लगाएका थिए ।

उदयपुरको त्रियुगा, चौदण्डीगढी नगरपालिकामा अधिकांश निजी विद्यालयहरुले गैर शिक्षकहरुलाई खोप लगाउन सिफारिस गरेको पाइएको भने बेलका नगरपालिकामा पनि त्यस्तै देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपर भाइजर चिरन्जिवी निरौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया