समाचार/लेखलाई सेयर गर्नुहोस् ।

अन्जनी कुमार अधिकारी
उदयपुर। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको आज बुधबार चौदण्डीगढी काङ्ग्रेसले स्मरण गर्दै विपी स्मृति दिवस मनाएको छ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका दूरदर्शी नेता कोइरालाको वि.स. २०३९ साल साउन ६ गते निधन भएको थियो । प्रत्येक वर्षको साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा नेपाली काङ्ग्रेसले विभिन्न कार्यक्रम गरेर देश भर मनाउने प्रचलन रहेको छ।
सोही क्रममा आज विपी स्मृति दिवसको अवसरमा चौनपा काङ्ग्रेसले दिवस मनाएको हो।
क्षेत्रीय सभापति भोजराज खतिवडाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको नगर सभापति राजेन्द्र पौडेलले सभापतित्व ग्रहण गरेका थिए भने नगरी प्रमुख खगेन्द्र राई, पुराना काङ्ग्रेस नेता अर्जुन कुमार दाहाल, पार्टीका स्थानीय नेता कार्यकर्ता, विभिन्न संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
विश्वेश्वरप्रसाद कोइराला वि.सं. २००५ सालमा बनारस, २००९ सालमा जनकपुर र २०१७ सालमा काठमाडौंमा भएका काँग्रेसको महाधिवेशनबाट नेपाली काङ्ग्रेस पार्टीको सभापतिको जिम्मेवारी प्राप्त गर्न सफल नेता हुन।
२०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित संसदको निर्वाचनमा विराटनगरबाट विजयी बनेका विपी २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १ गतेसम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।
राजनीतिका साथै साहित्यका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याएका कोइरालाका तीन घुम्ती (२०२५), नरेन्द्र दाइ (२०२६), सुम्निमा (२०२७), मोदीआइन (२०३६), हिटलर र यहुदी (२०४०), बाबु,आमा र छोरा (२०४५), उपन्यास एवम् कथातर्फ-मेरो कथा (२०४०), दोषी चश्मा (२०३९) र श्वेत भैरवी (२०३९) प्रकाशित छन।
विश्वेश्वरप्रसाद कोइरालालाई नेपाली राजनीतिमा महामानवको रुपमा समेत विश्लेषण गर्ने गरिएको छ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया

%d bloggers like this: