समाचार/लेखलाई सेयर गर्नुहोस् ।

 हामी केटाकेटीलाई गोरु जुधेको हेर्न खुब रहर लाग्ने । हाम्रो घरमा एउटा राघे गोरु थियो, एकदम जुधार । छिमेकीको पनि जुध्ने स्वभावको अर्को गोरु थियो – फुर्के ।

कृपया यो पेज Like गर्नु होला

फुर्के राघे गोरुसँग चौरमा खुब जुध्न खोज्थ्यो। एकपटक फुर्केले तारे गोरुको सहायताले राघे लगायतका गोरुहरुलाई जितेको दम्भ जो थियो उसमा । त्यसपछि केहि समय फुर्केसँग कुनैपनी गोरु फेरि जुध्न तम्सिएनन ।

फुर्केले पनि तारे गोरुसँग हल बाँध्यो । दुइटै एकै जुवामा नारिए । दम्भी र अहंकारी फुर्केलाई उ एक्लैले सबै राइफाँडो लाएको निकै ठूलो अहम् थियो । उसले आफ्नै हल तारे र बथानका अन्य बाछाबाछीलाई समेत फाँफाँ र फुँफुँ गर्न थाल्यो । आफुलाई मन नपर्नेलाई त छानिछानी हान्न समेत बाँकी राखेन ।

समय सधैं फुर्केले सोचे जस्तो भएन । एउटै गोठमा बसेपनी तारेगोरु र अन्य बाछाबाछीले अबदेखि चौरमा जुध्नेबेला फुर्केको पक्ष लागेर धुरा पसेर जिताउन छोडे ।

अब भने फुर्के चौरमा हुने जुधाइमा हार्न थाल्यो । हारेपछि फुर्के छेर्दैछेर्दै भाग्थ्यो । तर अलिक पर गएर राघे गोरुलाई हेर्दै डुक्राँ डुक्राँ गर्न र आफ्नै गोठका तारेगोरु, बहर र बाछाबाछीलाई फाँफाँ र फुँफुँ गर्न चाहिँ छोड्दैन थियो । मानौँ कि जुधाइ उसैले जितेर आएको छ ।

एकपटक हारिसकेपछि फुर्के गोरु फेरि दुइचार दिन चौरमा जुध्न आउँदैन थियो । दुइचार दिन पछि फेरि चौरको डिलमा आएर फुर्के राघेसँग जुध्न तम्सिन्थ्यो, खुट्टाले भुइँ खोस्रेर डुक्राँ डुक्राँ गर्दै ।

जब राघेलाई देख्थ्यो जुध्ने हिम्मतै नगरी पुच्छर ठाडो पारेर उसैगरी छेर्दै भाग्थ्यो । डुक्राँ र फाँफाँ फुँफुँ त पहिले भन्दा झन धेरै हुन्थ्यो । आखिर फुर्के गोरु न पर्‍यो । फुर्के असाध्यै जिद्दी थियो ।

जसरी पनि जित्नै पर्ने स्वाभावको, तर जित्न चाहिँ नसक्ने । कतिसम्म भने राघे जुवामा नारिएको बेला र गोठमा बाँधेको बेला समेत जुध्न आउँथ्यो ।

निति नियम फुर्केलाई के मतलब ? बस् उसले जित्न पर्‍यो । फुर्केको मालिक थिए बिद्यापति पाण्डे । हामीलाई ती बडो अचम्म र बुझिनसक्नुका लाग्थे । बिद्यापति पनि फुर्केकै तालमा हिँड्ने खालका थिए ।

जसरी पनि आफूलाई मनपरेको फुर्केलाई जिताउन खोज्ने । फुर्केलाई झैँ तिनलाई पनि निति नियम काइदा कानुनको कुनै मतलव थिएन । फुर्के त सन्की गोरु भयो, विवेक शुन्य पशु, जे पनि गर्ने भैहाल्यो ।

तर, बिद्यापति त पशु झैँ हुनुहुँदैन थियो नि, हाम्रो बाल मस्तिष्कमा समेत त्यस्तो सोचाइ आउँथ्यो । तर ती बिद्यापति फुर्के गोरुलाई जिताउन अरु गोरुलाई हाटहाट हुटहुट र पिटपाट गर्न समेत पछि नपर्ने, नैतिकहीन र निर्लज्ज थिए । कतिसम्म भने त्यही गोठका वस्तुभाउ बिचमा पनि विभेद गर्ने । चाहिने नचाहिने सबै गर्ने ।

र, फुर्केलाई गलत तरिकाले पनि जिताइदिने । गोरुकै जस्तो व्यबहार बिद्यापतिमा समेत देखेर हामी केटाकेटी पनि तीन छक्क पर्थ्यौँ । फुर्के गोरु हारेपछि पुच्छर उठाएर छेर्दै भाग्दा हामीलाई कहिले लाज लागेन ।

हामीलाई यसको बानी भैसकेको थियो । गोरु नाङ्गै हिँड्दा लजाउन पर्दैन भन्ने उखान त हामीले उबेलै सुनेका थियौँ । तर, बिद्यापति पनि फुर्के गोरु झैँ नाङ्गिएको देख्दा हामीलाई साँच्चिकै लाज लाग्थ्यो ।

ती बिद्यापतिले किन त्यसरी लोकलाजको वास्ता नगरेको होला ? भन्ने जस्तो लाग्थ्यो । हामीलाई पनि गोरु जुधेको हेर्न उत्पात मन लाग्ने । छेउमा बसेर हाहा र होहो गर्दै, ताली पिटेर हामीले गोरु जुधाइको मज्जा लिएको देखेर गाउँका बुढापाका हामीलाई त्यसो नगर्न सुझाउनु हुन्थ्यो ।

गोरुको जुधाइमा किचिएर मरौला नि भन्दै सावधान पनि गराउनु हुन्थ्यो । केटाकेटी मन न हो, आफ्नो घरको राघे गोरुले नै जितोस भनेजस्तो लाग्थ्यो, जुन स्वाभाविक पनि थियो । हामी गोरु जुधाइको मज्जा लिइरहेको बेला कहिलेकाहीँ बिद्यापति बिचमा आइपुग्थे र फुर्के गोरुको तर्फबाट धुरा पसेर राघेलाई हराइदिन्थे ।

हामी छेउमा बसेर हेर्ने केटाकेटी खिन्न हुन्थ्यौँ, केहि गर्न र भन्न सक्दैन थियौँ । खुला चौरमा गोरु जुद्धा र बिद्यापतिले धुरा पस्दा धेरैपटक त सहेर पनि बस्यौं । तर हालसालै त बिद्यापतिले हदै गरे ।

हामी आफ्नै बारीको छेउछाउ गाइवस्तु चराई रहेको बेलामा फुर्के राघेसँग जुध्न भनी कांधमा बाँधेको दाम्लो चुटाएर आयो । गोरु जुध्न थाले, हामी हाहा र होहो गर्दै थियौँ ।

यतिसम्म त ठिकै थियो, यत्तिकैमा बिद्यापति पनि त्यहीँ आए । अब त बिद्यापतिले उन्मत्त भएको आफ्नो गोरुलाइ लिएर जालान् र ठेगानमा राख्लान भन्ने लागेको थियो ।

तर, अहँ ! बिद्यापति सधैझैँ फुर्के गोरुकै पक्षमा लागेर धुरै पसे र फुर्केलाई नै जिताउन सघाए। सधैं कति सहनु ? हाम्रो सहनशीलताको बाँध यसपटक टुट्न पुग्यो । यसपटक भने हामी चुप लागेर बसेनौँ । पञ्चभलाद्मी गुहार्न गयौँ ।

पञ्चभलाद्मीका पनि टाउके मुखियाको बारेमा हामीले वल्लो गाउँ-पल्लो गाउँमा भाको-नभाको, राम्रो-नराम्रो, गाइँगाइँ-गुईँगुईँ हल्ला नसुनेको कहाँ हो र ? तर हामीसँग अरु विकल्प पनि त थिएन । गयौं ।

घघडान छलफल, बहस र चर्काचर्कीपछि पञ्चभलाद्मीबाट फैसला भयो :

१. फुर्के गोरुलाई राम्रो दाम्लोमा बाँधेर राख्नु ।

२. बिद्यापति आफ्नै थान्कामा बस्नु र अब आइन्दा कुनै एउटा मात्रै गोरुतिर लागेर धुरा पस्ने काम नगर्नु, नगराउनु ।

३. केटाकेटीहरुलाई उचित खानपिन र अन्नपात उब्जाउ गर्न, हलीहरुले अर्‍हाए-खटाए अनुसार गोरुहरुले बैमान नगरी हलो जोत्ने काम गर्नु, गराउनु ।

४. एउटा बाली नथन्क्याईकन त्यही बाली माथी जोत्ने काम कसैले नगर्नु, नगराउनु ।

यत्ति फैसला पञ्चभलाद्मीको मुखबाट फुस्केको के थियो, हामी चरीझैँ फुरुङ्ग । उफ्री पाफ्री सानो हैन । आलाकाँचा केटाकेटी न परियो । फुर्के गोरुलाइ राम्रो दाम्लोमा बाँधे नबाँधेको हेर्नुछैन, बिद्यापतिलाई कसरी थान्कामा राख्ने ? सोच्नु छैन ।

उल्टो लड्डु किनेर एक अर्कालाई खुवाउन थालियो । सबैजना मुतको न्यानोमा नै मक्ख परिएछ । बैमान र अहंकारको गुँड फुर्के गोरुलाई पञ्चभलाद्मीको फैसलाले के छुन्थ्यो र ?

त्यही पहिले चुट्टाएको दाम्लोमा खिस्रिक्क बाँधेझैँ गरेका रैछ्न बिद्यापतिले । हामी भुरा लड्डु र ताराबाजी खेलमा नै अलमलिँदै थियौँ ।

फुर्केले कमजोर दाम्लो फेरि चुट्टाएर पाक्न बाँकी रहेको बालीमा रैँदलो गर्न थाल्यो, त्यो पनि पञ्चभलाद्मीको आदेश विपरीत । मैदानमा राघेसँग जुध्ने फुर्के योपाली त मैदान छोडेर बाली नै मास्न जुवामा नारिएको छ ।

सधैं तारे गोरुसँग हल बाँधिने फुर्केले त बाली मास्न चाहिँ नौलो प्वाँले गोरुसँग हल कसेछ । हल पनि मिल्ने खाले हो र ?? असुहाउँदो । पञ्चभलाद्मीको उर्दीमा के गर्ने ? के नगर्ने ? र कसरी गर्ने ? भन्ने बिस्तारमा आदेश आउनै बाँकी हुँदा, बाली नै मास्न त बिद्यापतिले कहाँ देलान् र ? भन्ने सोचेको थियौँ हामीले त ।

तर सारा दुनियाँलाई चकित पार्दै बिद्यापति त हलो लिएर जुवामा बेमेल हलगोरु फुर्के र प्वाँलेलाई नार्दै हि..हि.. गर्दै फेरि बाली मास्न पो तम्सिए त ! यस्तो बेला हामी बबुराको सहारा अरु को नै हुन सक्छ र ?

तीनै पञ्चभलाद्मीको शरणमा हामी लाइन लागेर पुगेका छौँ । हामीले यसपाली भने पञ्चभलाद्मीसँग तपशील बमोजिमको माग गरेका छौँ : तपशील :

१. त्यो पाकिनसकेको बाली अब हामीले नै पकाएर खान पाउँ,

२. फुर्के गोरुलाई फेरि राम्रोसँग बाँधी पाउँ र,

३. बिद्यापतिलाई नाथीपाउँ ।

हामी अहिले एकोहोरो पञ्चभलाद्मीलाई हेरी बसेका छौँ । फुर्के गोरुलाई र बिद्यापतिलाई त केहि गरिसक्नु भए पो । घरीघरी झस्किन्छौँ पनि, कतै पञ्चभलाद्मी पनि बिद्यापति र फुर्केसँगै साँठ्गाँठ पो गर्ने हुन कि ?? फेरि पञ्चभलाद्मीलाई त हामीले मात्रै कहाँ हो र ?? सारा दुनियाँले हेरिरहेको छ ।

बाली र गरीखाने खेतखल्यान नै त कसरी मास्न देलान् र ? जे भएपनि पञ्चभलाद्मी हुन हामीले विश्वास त गर्नै पर्छ नि । हामी अहिले फैसला कुरेर बसेका छौँ । एकोहोरो पञ्चभलाद्मीलाई हेरेर ।  न्यायको एउटै आशा राखेर ।

 

 

तपाईको प्रतिक्रिया

%d bloggers like this: