अन्जनी कुमार अधिकारी
उदयपुर, जिल्लाको सुन्दर नगरी चौदण्डीगढीको मुटुमा रहेको बेल्टारमा तेस्रो संस्करणको बेल्टार मिनी गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ।
‘स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद’ भन्ने मुलमन्त्रका साथ यस प्रतियोगिता गर्न लागिएको आज चौदण्डीगढी दरबार पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएको छ।
आगामी फागुन १५ गतेदेखि २२ गतेसम्म चौदण्डिगढी नगरपालिकाको वडा नम्बर ७ स्थित रामप्रसाद राई खेलमैदानमा प्रतियोगीताको आयाेजना गर्न लागिएको हो ।
प्रतियोगितामा आयोजक बेल्टार युनाइटेड युथ क्लब लगायत खोटाङ्ग, सुनसरी, बेलका, गाइघाट, बसाहा, बोक्से, भागलपुर गरी आठ टिमको सहभागिता रहने समेत आयोजकले जानकारी दिएका छन।
प्रतियोगीतमा विजेता र उप विजेता टिमले क्रमश नगद रु १ लाख र ५० हजार रुपैयाँ नगद सहित ट्रफी,मेडल तथा प्रमाण पत्रद्वारा सम्मान गरिने आयोजक कमिटीका सचिव पिटर राईले जानकारी दिनु भएको छ।
बेल्टार जस्तो फुटबलको उर्वर भूमीमा राम्रो फुटबल प्रतियोगिता नभइरहँदा खेलाडी तथा खेलप्रेमी महानुभावहरुमा नै नैराश्यता छाइरहेको अवस्थामा युवाहरु फेरि एकपल्ट जुर्मुराएको देखिन्छ।स्थानीय युवाहरुले खेल खेलाउने पहिले देखिको सोच बनाएको भएता पनि विश्वव्यापी रुपमा फैलिएको कोभिडको कारणले उनीहरुको सोचविचारलाई पछाडि धकेलेको स्थानीय युवाहरूले बताएका छन।
पूर्व ए डिभिजन फुटबल खेलाडी तथा यस प्रतियोगिता आयोजना कमिटीका संयोजक जेवी राईले युवाहरुलाई खेलकुदको क्षेत्रमा पनि सक्रियता बढाउन यस प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
प्रतियोगीताको लागि अनुमानित ८ लाख रुपैयाँ बजेट व्यवस्थापनमा लाग्ने आयोजकले जानकारी दिँदै त्यसको प्रमुख स्रोत देशविदेशमा रहेका खेलप्रेमी शुभचिन्तक, विभिन्न संघसंस्था लगायत स्थानीय तह नै भएको बताए।
प्रतियोगीताबाट बचेको केहि रकम ७ नं. वडाका स्थानीय बोनम्यारो रोगबाट पीडित लेखकुमार राईको उपचार्थ समेत सहयोग गरिने बताइएको छ।
आज आयोजित पत्रकार सम्मेलनमा बेल्टार युनाइटेड युथ क्लवका कप्तान शरद राई(आसन),क्लब मेनेजर सागर राई, युवा समाजसेवी ज्ञानेन्द्र प्रधान,हिरण बस्नेत,राजेन्द्र विद्रोही,गणेश कटुवाल, निरज घिसिङ,अञ्जन किराती लगायतको उपस्थिती रहेको थियो ।
पत्रकार सम्मेलनमा यस प्रतियोगितालाई भव्यरुपमा सम्पन्न गराउनका लागि खेलप्रेमी, व्यपार व्यवसायी, विभिन्न संघसंस्था लगायतलाई आग्रह गरिएको छ ।
आयोजित पत्रकार सम्मेलन युवा समाजसेवी तथा स्थानीय कलाकार प्रेमजङ्ग किरातीले सञ्चालन गरेका थिए ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया