कृपया यो पेज Like गर्नु होला

उदयपुर, उदयपुरका वरिष्ट पत्रकार कौशल चेमजोङद्वारा लिखित ‘उदयपुरको इतिहास’ पुस्तक बजारमा आएको छ । बिहीबार काठमाडौंको सत्यमोहन जोशी लोकसाहित्य भवन बखुम्बहालमा आयोजित एक कार्यक्रममा शताब्दी पुरुष संस्कृतविद सत्यमोहन जोशीले पुस्तकको लोकार्पण गरे । उदयपुर अनुसन्धान केन्द्रले प्रकाशनमा ल्याएको पुस्तकमा उदयपुरे इतिहासको खोजमुलक अध्ययनलाई सचित्र उतारिएको चेमजोङले दावी गरेका छन् । उनका अनुसार पुस्तकमा उदयपुरको ऐतिहासिककालदेखिको जनजीवन, सामाजिक रहनसहन, बसोबास, समुदाय र जातजाति तथा समाज विकासक्रमसँगै जिल्लाको पर्यटन, राजनीति, कृषिलगायत बिभिन्न विषयमाथि खोज अनुसन्धान बिबरण पढ्न पाइने छ । चेमजोङ उदयपुरमा ३ दशक बढी समयदेखि निरन्तर मोफसलको पत्रकारिता र साहित्य तथा पुस्तक लेखनमा कलम चलाउँदै आएका ब्याक्ती हुन। यसअघि उनका ‘उदयपुरको पर्यटन’, ‘उदयपुर सिमेन्ट उद्योग लि. जलजलेको चिनारी’लगायत बिभिन्न आधादर्जन पुस्तक प्रकाशित भईसकेका छन् ।

चेमजोङ झर्रा शब्द लेख्ने साहित्यकारसमेत हुन् । ‘डुकुरे साँईला’को साहित्यिक नामबाट चिनिने उनी नेपाल सरकारबाट नगद पुरस्कारसहित ‘वरिष्ट पत्रकार’को उपाधि प्राप्त हुन् भने नेपाल पत्रकार महासंघबाट ‘प्रेस स्वतन्त्रता सेनानी’को उपाधिसमेत प्राप्त गरेका चेमजोङ  नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष र उदयपुर शाखाका संस्थापक सदस्य हुँदै सचिव, उपाध्यक्ष र दुई कार्यकाल अध्यक्षसमेत भईसकेका वरिष्ट पत्रकार हुन।

 

तपाईको प्रतिक्रिया