- निबन्ध

पुण्य कार्की

नानीहरुलाई हामीले जुन कुरा जसरी सिकाइ गरिरहेका छौँ, त्यो देख्ता घरिघरि त यस्तो लाग्छ, उनीहरुलाई पराधिन बनाइरहेका छौँ, उनीहरुको मौलिक स्वतन्त्रता छिनिरहेका छौँ । शिक्षाले र ज्ञानले उनीहरुलाई स्वतन्त्र बनाउँदै लग्नु पर्नेमा हाम्रो तथाकथित ज्ञान र सिकाइले उनीहरुको काँधमा परतन्त्रताको जुवा कसिरहेका छौँ । असीम ज्ञानको समुद्रमा हेलिने बच्चाको अन्तहीन स्वतन्त्रतालाई एक दुष्कर सिकन्जामा कोचिरहेका छौँ । जाग्नु पर्ने, जगाउनु पर्ने मौलिक विवेकलाई उठ्न दिइरहेका छैनौँ । ढुँगाले थिचेको दुवोका टुसाको जुन गति हुन्छ, त्यही गतिमा बच्चाको ऊर्वर मस्तिष्कलाई थिचिरहेका छौँ ।
बच्चालाई संसार आफ्नै आँखाले हेर्न दिनुपर्छ । तर हामीले बच्चाका आँखा झिकेर त्यसको ठाउँमा हाम्रा आँखाबाट संसार चियाउन सिकाइ रहेकाछौँ । लादिएका आँखाले उसले कस्तो दुनियाँ देख्ला त्यसको विम्ब मस्तिष्कमा कस्तो, कसरी आरेखित गर्ला ? सिक्ने सिकाउने मान्छेको लागि यी भीमकाय यक्ष प्रश्नहरु हुन् । जुन बच्चाले आफ्नो आँखाले दुनियाँ देख्न पाउदैन, ऊ कति पराधिन छ सहजै अनुमान लगाउन सकिन्छ । जुन बच्चाले वस्तुजगत्को, विचारजगत्को, भावजगत्को विम्ब आफैँले आफ्नो मस्तिष्कमा कोर्न पाउँदैन, निक्र्योल गर्न सक्तैन । उसलाई कसरी अपाहिज बनाइएको छ, सजिलै अनुमान लगाउन सकिन्छ ।
बच्चाभित्र सीमाहीन सम्भावना छ । ऊभित्र सीमाहीन अंकुरणको क्षमता छ । सीमाहीन पल्लवित, पुष्पित र सुवासित हुने संभावना हुन्छ, त्यसको लागि उसले सीमाहीन स्वतन्त्रताको आलोकमा फैलिन पाउनुपर्छ, फुक्न पाउनु पर्छ । तर हामीले फैलिन र फुक्नबाट उसलाई रोकिरहेका छौँ । उसको मेधामा उसलाई चम्किन दिनुपर्नेमा, कथित काम नलाग्ने उज्यालो आरोपित गरेर उसलाई पङ्गु बनाइरहेका छौँ । उसलाई आफ्नै विचारले सोच्ने बनाउनु पर्नेमा हामी आफ्नो विचारले सोच्न सिकाइरहेका छौँ । उसलाई आफ्नै टाँगको वलमा दगुर्ने बनाउनु पर्नेमा काखीमा बैशाखी थमाएर त्यसको बलमा दगुर्न उत्प्रेरित गरिरहेका छौँ । सिकाउने र शिक्षित बनाउने नाममा प्रकारान्तरले उसलाई अपाङ्ग बनाइरहेका छौँ । जुन बच्चा आफ्नो मस्तिष्कले विचार पैदा गर्न सक्तैन, त्यो वच्चा मानसिक रुपलमा करिव करिव अपाङ्गकै कोटिमा पर्न जान्छ ।
जुन दिन बच्चालाई हाम्रो आँखाबाट होइन उसकै आँखाबाट संसार देख्ने बनाउँछौ, जुन दिन हामीले हाम्रो विचारबाट होइन उसको आफ्नै विचारबाट सोच्ने, चिन्तन गर्ने बनाउँछौ त्यो दिनबाट बच्चामा नव संभावनाको जादू प्रकट हुन्छ । उसले हामीले लगाइदिएका वैशाखी फाली दिन्छ र आफ्ना खुट्टालाई मजबुत गर्न थाल्दछ । हामीले थोपरेको बासी र उधारो ज्ञानभन्दा उसले कमाएको ताजा र हाताहाती ज्ञानमा उसको विश्वास बढ्छ । जान अन्जानमै हामी कथित गुरुवर्गले वच्चाको सिर्जनशील मस्तिष्कलाई कुठाराघात गरिरहेका छौँ ।
अक्सर हामी गुरुवर्गले कलिलो मन र मुटुको बच्चालाई आफ्नो विचारको दास बनाइरहेका छौं । उसको विचारको कुनै मूल्य छैन, उसको आकाँक्षाको कुनै कदर छैन, उसको इच्छाप्रति कुनै समादारको भाव छैन । प्रत्येकदिन बच्चालाई हामीले नजानिंदो रुपमा, अदृश्य रुपमा घायल बनाइरहेको हुन्छौं । उसको अन्तस् लोकलाई डाँवाडोल पार्दिरहेका हुन्छौं । उसलाई अनुशासन सिकाउने नाममा उसका जायज चाहनाहरुलाई सम्वोधन गर्न सकिराखेका छैनौँ । उसलाई स्व अनुशासनको सूक्ष्म झलक दिन सक्तैनौँ । डण्डा र दण्डको बलमा कथित अनुशासन लादिरहेक हुन्छाँै । जसले गर्दा फुल्ने सम्भावनाका अनन्त कोपिलाहरु वीचमै ओइली झर्छन । बच्चा हाम्रो रुग्ण र कठोर विचार वोक्ने भरिया बनेको छ आज । ऊ आफैँ विचार गर्न सक्ने बनाउनुपर्नेमा हामी आफ्नो विचार उसको कलिलो दिमागमा ठुसिरहेका छौँ । त्यसैले बच्चा साँच्चै नै भरिया बनेको छ । पाठशालामा गुरुवर्गको विचारको भारी वोकिदिने भरिया बन्छ ऊ । घरपरिवारमा अभिभावक, अग्रजहरुको विचार अनुसार चल्ने दास बन्छ । बच्चालाई मालिक बनाउने दिशातर्फ हाम्रा सोँच, व्यवहार र क्रियाकलापहरु पटक्कै अभिमुख छैनन् । निरीह बच्चाले कति भार थामोस् । फेरि भौतिक वस्तुको भारी भन्दा विचारको भारी हजारौँ गुना बोझिल हुन्छ । त्यो सत्यलाई हामीले अलिकति पनि ख्याल गरेका छैनौँ ।
बच्चालाई उसकै आँखाबाट संसार चियाउन दिऔँ । उसका आँखा निभाएर हाम्रा आँखा उसको निधारमा प्रत्यारोपण नगरौँ । उसकै कलिला पाउले ऊ ताते गर्न सिकोस्, टुकुटुकु हिड्ँन जानोस् । हाम्रा बैशाखीको बलमा दगुर्न नसिकोस् । ऊ आफ्नै दिमागले सोच्न, सम्झिन सक्ने होस् । हाम्रो विचारले उसको विचार गर्ने शक्ति नामेट नगरोस् । तर विडम्वना मुरली मकैका अनन्त दानाहरुलाई ठ्ेटना बनाइरहेका छौँ हामी । आजभोलि मकैको एक प्रजाति आएको छ यहाँ । जसको नाम मुरली मकै हो । मुरली मकैको एउटा विशेषता हाँडीमा समुचित विधिले भुट्ताखेरी सबै दानाहरु फूल उठ्छन् एउटा पनि ठेट्नो रहँदैन । सबै फूल बन्ने मकै मुरली मकै हो । हर बच्चा भित्र मुरली मकैको गुण सन्निहित छ । अर्थात् बच्चालाई समुचित शिक्षा र वातावरण दिने हो भने उनीहरु सबै फूल बन्छन् । कोही ठेट्ना रहनु पर्दैन । तर कठै ! कति फूल उठ्ने मुरली मकैलाई हामीले ठेट्ना बनाइरहेका छौँ । उसको फूल बन्ने गुणलाई नस्ट पारिरहेका छौँ । यो कुरा हामी पढाउने शिक्षक जमातलाई पनि थाहा छैन । अभिभावक वर्गलाई पनि थाहा छैन ।
बच्चाभित्र अन्तरर्निहित असीम संभावनाका विजहरुलाई उचित मलजल गर्ने कला हामीसित छैन । उचित पोषण दिने सीप हामी सित छैन । त्यो कला र सीप आर्जन गर्नपनि आतुर छैनौँ हामी । भएको सीप र कलालाई कार्यरुपमा उतार्न पनि तत्पर छैनौँ हामी । त्यसैले हाम्रा पाठशालाहरु बच्चाहरुलाई बासी ज्ञान कोच्याउने यातनागृह जस्ता बनेका छन् । सृजनाका नवनव उन्मेष प्रकट गर्न नसक्ने शुष्क कैदीखाना जस्तो बनेका छन् । नयाँ कलेवरमा पाठशालालाई प्रतिभा प्रष्फूटनको ज्ञानशाला बनाउन सकेनौँ भने हामी शिक्षाको इतिहासमा एक अपराधीको रुपमा दर्ज हुनेछौँ । र जसले बच्चाका बाआमाले तिरेको तिरोका माड चाटेर बच्चालाई विकलाङ्ग शुष्क पुङमाङ बनाइरहेछौँ । बच्चाभित्र गद्गद् भाव भर्न नसक्ने शिक्षकले कसरी खुशीको विज्ञान रच्ला ? कसरी आनन्दको अर्थमेटिक पिलाउन सक्ला ? सन्देहहरु उठेका छन् ।
एउटा बच्चा हमेशा बन्द कोठामा थुनिएको छ । उसलाई बाहिर निस्कन पाउने कुनै गुन्जाइस् छैन । वाहिरी आकाश हेर्न झ्यालको आकार चौकुने छ । त्यही झ्यालको चौकटबाट चौकटभरिको आकाश मात्र देख्छ ऊ । अर्काे बच्चा कोठाबाट खुल्ला आँगन र खुल्ला चौरीमा समेत निस्किन पाउँछ । खुल्ला आँगनबाट असीम आयाममा फैलिएको विशाल आकाश देख्छ । एउटाले सीमाभित्रको आकाश देख्छ, अर्काेले सीमाहीन आकाश देख्छ । यी दुइटै वच्चालाई एकै ठाउँ राखेर आकाश कस्तो छ ? भनी सोध्यो भने एउटाले भन्छ – आकाश चौकुने छ, अर्काेले भन्छ – आकाश सीमाहीन रुपमा टाढाटाढा फैलिएको छ । यसरी आकाशलाई देख्ने कुरामा दुवैको दृष्टि अलगअलग किसिमको बन्छ । जसले चौकटबाट चियाएर आकाश देखेको छ, उले चौकुने देख्नु स्वभाविक हो । अनि जसले खुल्ला आँगनमा निस्केर आकाश चियाउन पाएको छ, उसले असीम देख्नु पनि झन स्वभाविक हो ।
हामीले बच्चालाई बस्तुगत संसार हेर्नका लागि सुरुमा नै एक एक थान चौकट दिइरहेका छौँ । ऊ हरेक कुरालाई चौकटमा राखेर हेर्ने गर्दछ । अर्थात् चौकट भित्रबाट चियाएर बस्तुगत संसारलाई नियाल्ने गर्दछ । जसले गर्दा उसको बुझाइ एकसीमामा कैद हुन्छ । उसको अवलोकन एक आकारमा गएर खुम्चन्छ । उसको विहङ्गम दृष्टि सङ्कुचित पथमा पुगेर साँगुरिन्छ । उसको अनन्त संसार हेर्ने संभावना एउटा सानो झ्यालको प्वालमा पुगेर अन्त्य हुन्छ । आजका गुरुहरुको मूल चुनौती नै झ्यालको प्वालबाट आकाश चियाइरहेको बच्चालाई खुल्ला मैदानमा ल्याएर सीमाहीन सगर देखाउनुमा छ । विदित दुनियाँका चौकुने आकारबाट होइन अविदितका असीम द्वारहरुबाट जगत् चिनाउनु छ । चौकटमा राखेर उनीहरुको असीमतिर अवलोकन गर्ने आँखाहरुलाई पङ्गु बनाँउदैछौँ, ती चौकटलाई झिक्नु छ । सामाजले, मातापिताले, गुरुवर्गले दिएको आकारबाट मात्र संसार हेर्ने परिपाटीलाई नफेरेसम्म बच्चाहरुभित्रको अनन्त सृजन शक्ति प्रस्फुटन हुन सक्त्तैन । उसलाई हमेशा हात समातेर ताते गराइ राख्ता ऊ कहिल्यै दौडिन सक्तैन । उसलाई त आफैँ दौडिन दिनुपर्छ । उसलाई लड्न दिनु पर्छ । आफ्नै बलमा उभिन दिनुपर्छ । अनि त बच्चा मजबुत हुँदै जान्छ । आफू दगुर्नको लागि पर्याप्त शक्ति आफै सँगाल्न थाल्छ । लड्ने, उठ्ने, कुद्ने र विश्राम लिने सीप र शैली आफै आर्जित गर्न थाल्छ । आफ्नै सङ्घर्षको बलमा उभिएको बच्चाले मात्र भोलिका दिनमा कर्तव्य र जिम्मेवारीको सगर थाम्न सक्छ । आफ्नै आँखाले ज्ञानविज्ञानको क्षितिज चियाएको बच्चाले मात्र समाजमा उज्यालो पोत्न सक्छ । यस कुराको चेतना भया ।
समाप्त

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया