उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १३ स्थित जनप्रेमी आधारभूत विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । २९ औं बाल दिवसको अवसर पारेर जाल्पा एकिकृत विकास समाज उदयपुरले सो विद्यालयमा अध्ययन गर्ने २ सय ३० बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । विद्यालयका सबै बालबालिकाले पाउने गरी कापी, डटपेनलगाएतका शैक्षिक सामग्री विद्यालयका प्रधानाध्यापक शैलेन्द्रकुमार खतिवडा मार्फत बालबालिकालाई हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष पुष्पराज पोखरेलले बताए । “कोरोना भाइरसको महामारी चलिरहेको र विद्यालय बन्द रहेको अबस्थामा बालबालिकाले घरमै बसेर अध्ययन गर्ने वातावरण निर्माण होस् भन्ने उद्येश्यले हामीले सामग्री हस्तान्तरण गरेका हौं” अध्यक्ष पोखरेलले भने,“ यसले बालबालिकामा सिकाई उपलब्धी हासिल गर्न केही सहयोग पुग्ने हाम्रो आशा छ ।” कोरोना भाइरसका कारण विद्यालयका सबै बालबालिका उपस्थित हुने र बाल दिवस मनाउने वातावरण नभएपनि विद्यालयका दुई दर्जन बालबालिकाको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको उनले बताए । विद्यालय खुलेपछि सबै बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरिने प्रधानाध्यापक खतिवडाले जानकारी दिए । “ बाल दिवसको अवसर पारेर करिव २ दर्जन बालबालिकालाई सामग्री हस्तान्तरण गरियो” उनले भने,“ बाँकीलाई विद्यालय खुलेपछि हस्तान्तरण गर्ने छौं ।” संस्थाले १ हजार ३ सय थान कापी र ४ सय ६० थान डटपेन विद्यालयलाई उपलब्ध गराएको जानकारी दिए । जाल्पा एकिृत विकास समाज उदयपुरले जिल्लाको दुर्गम क्षेत्रमा पर्ने ताप्ली र रौतामाई गाउँपालिकाका ५३ ओटा विद्यालयलाई शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ । कोरोना भाइरसको महामारी सुरु भएपछि संस्थाले रौतामाई गाउँपालिकाका दुर्गम क्षेत्रका १५ ओटा विद्यालय र ताप्ली गाउँपालिकाका दुर्गम ८ ओटा विद्यालयमा अध्ययनरत ६ सय बढी बालबालिकालाई घरमै बसेर अध्ययन गर्न सकिने गरी सम्पूर्ण शैक्षिक सामग्री उपलब्ध गराएको संस्थाका अनुगमन तथा मूल्यांकन अधिकृत रुद्र पोखरेलले बताए ।

 

कृपया यो पेज Like गर्नु होला

 

तपाईको प्रतिक्रिया