पुन्य कार्की

एकजना नेताजी नारी सभामा कस्सिई कस्सिई भाषण गरेको सुनेँ– “नारी जाति उठ्नुपर्छ । नारी जाति जुटनुपर्छ । यो देशमा रामराज्य ल्याउनुपर्छ । अबको समाज नारीको निम्ति रामराज्य बन्नुपर्छ । नारीहरुले कति उत्पिडन सहेर बस्ने ? नारी जातिले कहिलेसम्म अपमान र अवहेलना सहने ? अब नारीहरु साँच्चै जाग्नुपर्छ र समस्त महिलाको रामराज्य स्थापना गर्नुपर्छ ।” मैले उनका एकध भाषण अन्य सभा समारोहमा पनि सुन्ने मौका पाएको छु । उनी यस समाजका एक राजनीतिक प्राणी हुन । सबैले उनलाई एक प्रबुद्ध अध्ययनशील व्यक्तिको श्रेणीमा राख्दछन् । कतिले त उनलाई सुझबुझपूर्ण व्यक्तिको रुपमा भारी प्रंशसा पनि गर्दछन् ।
कुनै विचार गोष्ठी या कार्यक्रममा बोल्न पाउँदा रामराज्यको आर्दशलाई पटकपटक दोहो¥याउछन् । उनको रामराज्यप्रतिको आस्था र भक्तिलाई नियाल्दा लाग्छ मानौँ उनी रामराज्यको अमनचैन आफँैले प्रत्यक्ष भोगेर आएका पात्र हुन् कि क्या हो ? र रामराज्यको परिकल्पनालाई अहिले यो समाजमा उतार्न उनी औधि कटिबद्ध छन् ।
अरु सभामा रामराज्यको रटान दिएको कुरा त मैले ठीक ठीकै ठानेको थिएँ । तर जब नारी जागरण सभामा उभिएर नारी जातिको मुक्ति र भलाइको निम्ति रामराज्य आउनुपर्छ । सबै नारी मिलेर रामराज्य ल्याउनुपर्छ भन्दा मेरो आङमा काँढा उम्रे । रामायण पढेको आधारमा रामराज्यमा नारीको हविगत के थियो ? भन्ने कुरा सम्झिँदा मलाई भयङ्कर त्रासदितिर लैजान्छ । रामराज्यमा नारीको स्थान के थियो ? खोतल्दा निराशामात्र फेला पार्छु ।
यी नेता नारी जातिको निम्ति रामराज्य ल्याउनुपर्छ भनेर भाषण गरिरहदाँ नारीको सुखदायी स्थितिप्रति इंगित गरेका हुन् कि दुःखदायी व्यवस्था तिर डो¥याउन खोजेका हुन्, स्पष्ट बुझ्न सकिराखेको छुइन । कि त यिनले रामायणको आद्योपान्त पृष्ठ केलाएका छैनन् कि त यिनले राममात्र पढे, सितालाई पढ्नै छुटाए ।
वर्तमान समयमा नारीको लागि रामराज्य ल्याउनुपर्छ भनेर नारीजातिको चिन्ता गर्नेहरुले साँच्चैको रामराज्यमा सीताको हविगत के थियो होला ? बुभ्mने कोसिस गर्नुपर्छ । सीताले कति कष्टका कहर काट्नु प¥यो, त्यसमा आखाँ लाउनुपर्छ ।
रामराज्यकी एक प्रमुख नारी पात्र हुन् सीता । सीता मर्यादा पुरुषोत्तम रामचन्द्रकी जीवन साथी । धर्मपत्नी या अध्र्याङ्गीनी पनि भन्न सकिन्छ । उनी विदेह मिथिला राज्यका राजा जनककी पुत्री । अयोध्यापति दशरथकी जेठी बुहारी । सीता सिंगो त्रेतायुगकै नारी जातिको प्रतिनिधित्व गर्ने प्रमुख नारी पात्र । उनी सर्वसाधारण जनताकी छोरी पनि होइन, त्यतिखेरै कहलिएका व्यक्ति राजर्षि महाराज जनककी छोरी । अयोध्याकी युवराज्ञी । जो महारानी हुने रोलमा थिइन् । यति उपल्लो दर्जा र श्रेणीमा कुन नारी थिए होला र ? उनलाई सामान्य नारीको श्रेणीमा राख्न कदापि मिल्दैन । तर यति विशिष्ट दर्जाकी नारीले भोगेको नारकीय जीवन सम्झिँदा आखाँ निचोरिन्छन् । मुटु आक्रोशले फुल्ने गर्छ । यिनले जति पींडा कसले भोग्यो होला ? यिनले जति अपमान कसले सह्यो होला ? यिनले जति लाञ्छना कसले सुन्यो होला ? यिनले जति अथाह वेदनाको भारी कसले बोक्यो होला ? यिनले जति सास्ती कसले सह्यो होला ?
रामराज्यमा सीताको अवस्था साँच्चै कहाली लाग्दो थियो । सुरुमै उनले आमाको कोखबाट सहजरुपमा जन्मिन पाइन्न । कथाले भन्छ– राजा जनकले हलो जोत्दा धर्तीबाट निकालिएको हो । भनिन्छ अहिले पनि एकसय पच्चीस प्रकारका अलगअलग रामायण छन् । तिनका पौराणिक कथाहरु आ–आफनै तालमा लेखिएका छन् । मुख्यपात्र त राम, रावण, सीता नै हुन् तर घटनाको वर्णन अलगअलग किसिमले पनि भएको छ । थाइल्याण्डमा प्रचलित थाइल्याण्ड रामायणले त सीताको वास्तविक पिता रावणलाई मानेको छ अरे । भवितव्यवश रावणपत्नी मन्दोरीले गर्भ बोकेपछि उनी तीर्थयात्रा अाँउदा गर्भपतन गरी बच्चा यतैकतै छाडेर उनी लंका फर्किन । तिनै बेवारिसे फालेकी बच्चालाई जनकले खेतमा हलो जोत्दा उत्खन्न गरे र धर्मपुत्रीको रुपमा पालेको आख्यान पनि पढ्न पाइन्छ ।
उनी जसकी छोरी भएपनि सहज सजिलो रुपमा आमाको गर्भबाट धर्तीमा अवतरित हुन पाइन्न । यो सत्य हो । जन्मदै यिनले बाधा व्यहोर्नुप¥यो । राजाले हलो चलाउँदा भेटिएकी भएपनि उनले दरबारमा राजकुमारीकै रुपमा पालनपोषण भेटिन् । उनी हुर्किन, बढिन् । जब बिहेको घडी आयो । जनकले घोषणा गरेका थिए, जुन वीरपुरुषले मेरो दरवारको शीवधनुषमा ताँदो चढाउँछ, त्यसैलाई छोरीको स्वयम्बर गरिदिन्छु ।
अयोध्याका राजकुमार रामले धनुष उठाए । एकलौटीरुपमा सीतालाई स्वयम्बरको माला पहि¥याउने सौभाग्य उनलाई मिल्यो । सोही घडी पर्शुराम बञ्चरो उज्याउँदै बखेडा झिक्न आयो । एक्काइस एक्काइस चोटि क्षत्रीबंश उन्मूलन गर्र्न बञ्चरो चलाएको पर्शुरामको शक्ति र दम्भ चानचुने खालको थिएन । आफूपनि शिवको परम भक्त हँु कसको आदेशले शीवधनुष तोडियो ? प्रश्न उठाउँदै स्वयम्बरमा ठिक्क परेका रामप्रति आक्रमक बन्यो पर्शुराम । एक त क्षत्रीले धनुष तोडेकोमा कुपित थियो ऊ । उसको नजरमा सकल क्षेत्रीगण ज्यानी दुस्मन थिए । हजार हात हुने कार्तविरार्जुनलाई समेत शीर कट्टा गरेको दम्भ थियो उसमा । आफूसित भएको विष्णुको धनुष तोड्न चुनौती दियो । पछि ऊ केही कारणवश मत्थर भएपछि मात्र स्वयम्बरमा रामलाई सीताले माला लगाउन पाइन् । यसरी स्वयम्वरमा पनि सहज ढंगले माला लगाउन पाइन्न ।
बेहुलीको रुपमा अन्मिएर अयोध्या त पुगिन् तर बेहुलीको घुम्टो राम्रोसित खोल्न नपाउँदै सौतेनी सासु कैकेयी र दासी मन्थराको षडयन्त्र सुरु भयो । राजारानी बन्ने रोलकोलमा रहेका राम र सीतालाई अनेकन तिकड्म र जालझेल रचना गरी चौध बर्ष वनबास लखेटियो । उनले दरवारमा रानी भएर या युवराज्ञी भएर राजसी वैभव र सुखसयल अलिकति पनि भोग गर्न पाइन्न ।
पतिसित पञ्चवटीको जंगलमा कहर काटिरहेको बखत फेरि एक दिन अपहरणको शिकार हुनुप¥यो । लंकाको राजा रावणले जवर्जस्ती हरण गरी लंका पु¥यायो । रामले अनेकौँ युद्ध र यत्नबाट अपहरणमुक्त त गरे । तर पतिव्रता धर्ममा चोखी छ छैन भनी जाँच्न अग्निकुण्डमा होमे । अर्थात् अग्निपरीक्षा लिए । रावणले अपहरण गर्नुको पींडा त छँदै थियो । आफ्नै आराध्य पतिदेवले पनि अविश्वास गरी आगोमा पस्न लाए । अयोध्या फर्केर पनि उनलाई कहिल्यै सुखशान्ति मिलेन । कहिले धोवीले बात लाँउछ । कहिले कसले लाञ्छना लाउँछ । धोवीले बात लाएकै आरोपमा रामले गर्भिणी अवस्थामा रहेकी सीतालाई राज्यबाट निकाला गरे । घनघोर जंगलमा लखेटे । दोजिया अवस्थाकी सीतालाई निर्जन जंगलमा कति ठूलो हुर्मत लिइयो ? कति ठुलो कष्ट दिइयो ? त्यो कष्ट, त्यो पीडा भनिसाध्य छैन, लेखीसाध्य छैन । बाघभालुको बिगबिगी रहेको त्यो अरण्य सागरमा जाडो, गर्मी, भोकतिर्खा कसरी दिन काटिन् होला ? गर्भमा दुईदुई बच्चा बोकेकी नारीको निम्ति लादिएको यहाँ भन्दा ठूलो अपराध के हुन सक्छ ? यति ठूलो सास्ती र पींडा बीच जंगलमै सुत्केरी भइन् । एउटा होइन, दुईदुई बच्चा जन्माइन् । दरवारमा हुर्केकी राजकुमारीको निम्ति थोपरिएको यातनाको विषयमा वर्णन गर्न अर्को ठेली रामायण लेख्दा पनि वर्णन अधुरो हुन्छ ।
जीवनको पूर्वाद्धपनि जंगलकै बास जीवनको उत्तराद्र्धपनि जंगलकै बास बनेर बित्यो सीताको जीवन । त्यो घोर जंगलमा के खाइन् होला ? के लाइन् होला ? बच्चा कसरी हुर्काइन् होला ? सोच्ताखेरि आङ जुर्किन्छ । धन्न वाल्मिकीले सहारा दिएर बाँचिन् ।
रामराज्यले सीता उपर थोपरेको उत्पीडन, नारीको रामराज्य ल्याउन वकालत गर्ने वक्तालाई थाहा छ कि छैन होला ? मेरो सन्देह त्यति मात्र हो । रामराज्यले एउटी नारी माथि लादेका किसिम किसिमका कष्टहरुको मनन यी वक्ताले गरेदेखि त्यस खालको वकालतबाट पछि पो हच्किन्थे कि ? एउटी राजमनिषी सीता उपर यो उत्पीडन र अपमान लादिएको थियो भने त्यो युगमा अन्य सर्वसाधारण नारी उपर कति ठूलो उत्पीडन थियो होला ? सहजै अनुमान गर्न सकिन्छ । राजाकी छोरी, राजाकी पत्नी माथि यत्रो अन्याय हुन्थ्यो भने अरु उपर कस्तो अन्याय थियो होला ? केही न केही सोच्न सकिन्छ ।
रामराज्यको बखान गाउनेहरुले अहिलेपनि रामराज्यको बेला कुबेला गुणगान गरेको सुन्छु । रामराज्यको प्रशंसामा गीत गाएको सुन्छु – रामराज्यमा अकालमा मान्छे मर्दैनथ्यो । रामराज्यमा मान्छेलाई रोग र दुःख विमार लाग्दैनथ्यो । रामराज्यमा सकल वृक्षहरु बाह्रैमास फुलिरहन्थे । फुलिरहन्थे । रामराज्यमा स्त्रीको जीवन अत्यन्त सुन्दर थियो । नारीलाई सुखैसुख थियो, आनन्दै आनन्द थियो । सबै नारी पुरुष एकअर्कामा तृप्त र खुशी थिए । सबैको हृदयमा करुणा भाव थियो ।
रामराज्यको यस बखानमा अतिशायोक्ति छ । एउटै सीताले पाएको हवाल दुःखबाट रामराज्यमा नारी जाति ठूलो सास्तीमा थिए, ठूलो ताडनामा पिल्सिएका थिए, रामराज्य नारीका निम्ति एकठूलो यातना गृह थियो भन्ने कुरा पुष्टि गर्दछ । हो अहिलेका नारीलाई सुख वैभव चाहिएको छ । अवसर र आरक्षण चाहिएको छ । साँचो अर्थमा तरहतरहका बन्धनबाट मुक्ति चाहिएको छ । त्यो त्रेता युगको रामराज्य जस्तो होइन । त्यो सीतालाई विना कारण दुःख दिने रामराज्य जस्तो होइन । एउटी नारीलाई एकचोटि होइन अनेकचोटि यातना गृहमा होम्ने रामराज्य होइन । अहिलेको युग अनुरुपको अहिलेको सामाजिक आवश्यक्ता अनुकूूलको, एक्काइसौँ शदीको चेतना र विज्ञान अनुरुपको, त्यो भन्दा बाहेकको रामराज्य खोज्याँै भने त्यो काल्पनिक मात्र हुनसक्छ । नारीको रामराज्य ल्याउने हर नेतृत्वले सीताको बेहाल अवस्था बेलैमा थाहा पाउनुपर्छ । समाप्त
मिति २०७६÷१०÷२४

तपाईको प्रतिक्रिया