गाईघाट । त्रियुगा नगरपालिका वडा नम्वर १२ का एकजना बालकलाई कुटपिट गरि गम्भिर घाईते बनाएको आरोपमा अधिवक्ता ईन्द्र तामाङ पक्राउ परेका छन । तामाङले आफ्नै छिमेकमा रहेका ७ वर्षीय नाबालक आयन लिम्बूको टाउको फुटाएको आरोपमा पक्राउ परेका हुन ।
खप्परमा ढुङ्गाले हानेर गम्भिर बनाएको आरोपमा कानून व्यवसायी इन्द्रबहादुर तामाङलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आरोपित तामाङलाई अनुसन्धानका लागि घट्नास्थलबाटै नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ । घाइते बालकको विराटनगरस्थित न्यूरो अस्पतालको सघन उपचार कक्ष (आईसियू) कक्षमा उपचार भईरहेको छ । हेरचाह गर्नेहरुकोअनुसार उनको टाउकोको हड्डी दबिएको देखिएको छ भने टाउकोमा ६ वटा टाका लगाइएको छ ।
नाबालक लिम्बूका आमा सम्झना तामाङ (योद्धा)का अनुसार बच्चा रोएको सुनेपछि कोठाबाट निस्केर हेर्दा आरोपित तामाङले आयनलाई झापडले हान्दै थिए । त्यसपछि उनले बचाउ गर्दै खोसेर ल्याएपछि वकिल तामाङले ढुङ्गा प्रहार गरी घाइते बनाएका हुन । नावालक आयनका साथी विवेक ठाकुरकाअनुसार ठूलो ढुङ्गाले हानेर झन्डै मारेको थियो । टाउको फुटेर रगतपच्छे भएका आयनलाई तुरुन्तै उपचारको लागि उदयपुर अस्पताल लगे पनि उपचार हुन नसक्ने भनेपछि बिराटनगर लगिएको हो ।
एक कानून व्यवसायीका अनुसार तामाङले मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १९१ (१) (क) को बमोजिमको अपराध गरेको देखिन्छ । नीजले ‘कसैले कसलाई कुटपिट गर्न हुँदैन’ भन्ने कुरालाई पूर्णतया उल्लघंन गरेका छन् । यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ भन्ने प्रावधान छ । त्यसैगरी आरोपित वकिल तामाङले बालबालिका सम्वन्धी ऐन २०७५ को दफा ६६ को उपदफा (घ) र (ङ) विरुद्धको कसुर गरेका देखिन्छन् । ती उपदफामा बालबालिकालाई घर, विद्यालय वा जुनसुकै स्थानमा शारिरीक वा मानसीक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने, त्यसैगरी उपदफा (ङ) मा शारिरीक चोटपटक वा असर पु¥याउने कामलाई अपराध मानिएको छ भने ५० हजार रुपैयासम्म जरिवाना र एक वर्षसम्म कैदको व्यवस्था गरेको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया