काठमाडौं : १३ ‌औं दक्षिण एसियाली खेलकुद (साग) मा कराँतेतर्फ नेपालको प्रदर्शन प्रशंसा गर्न लायकको छ। तीन दिनयता नेपालले कराँतेबाट १० वटा स्वर्ण जितिसकेको छ। नेपालले कराँतेका सबै इभेन्टमा पदकविहीन हुनु परेन। स्वर्ण विजेतामध्ये एक खेलाडी हुन् अनुपमा मगर। उदयपुरको कटारी ११ मयँङखु घर भएकी अनुपमाले पहिलो पटक दक्षिण एसियाली खेल प्रतियोगिताबाट नेपालको लागि स्वर्ण पदक जित्न सफल भएकी हुन् ।

कृपया यो पेज Like गर्नु होला

आफ्नो खेलभन्दा अघि नेपालका अन्य खेलाडी स्वर्ण जितेपछि उनलाई स्वर्ण जित्नैपर्ने बाध्यता र दबाब थियो। उनी भन्दै थिइन्, ‘दुई दिन भयो नसुतेको। आजचाहिँ मजाले सुत्छु।’ उदयपुरकी मगरले सागमा स्वर्ण जित्ने सपना पुरा भएको बताइन्। जिन्दगी जिउने क्रममा ठूला ठूला संघर्षका पहाड चढेकी उनी शरीरको तौल घटाउन ११ वर्षअघि कराँतेमा आएकी थिइन्। विस्तारै कराँतेमा रस बसेपछि उनले सागमा खेल्ने सपना देखिन्। त्यो सपना पुरा हुनु नै आफ्ना लागि गौरवको कुरा रहेको उनले सुनाइन्। स्वर्ण जितेपछि सपनाबाट व्युँझे जस्तो भएको उनले बताइन्। खेल दुई कुराले जितिन्छ। एक विपक्षीको कमजोर खेलले। अर्को खेलको नियममा बसेर अब्बल क्षमता देखाएर विपक्षीलाई हराएको खण्डमा। उनी आफ्ना प्रतिद्वन्द्वी कमजोर नभएको बताउँछिन्। ‘प्रतिस्पर्धीहरुले यसअघि पदक जितेका थिए। यसकारणले केही नर्मसचाहिँ पक्कै थिएँ,’ उनी भन्छिन्, ‘उहाँहरू कमजोर हुनुहुन्थ्यो। मैले आफुले सक्दो मिहिनेत गरेँ। सफलता हात पारेँ।’ उनले पहिलो खेलमा श्रीलंकाकी कुलाथुंगा बान्द्रलाई ७-४ ले हराएकी थिइन्। फाइनलमा पाकिस्तानकी खेलाडी नर्गिसलाई हराइन्। जसलाई उनले ६-३ ले हराउँदै स्वर्ण जितिन्। उनको अब ओलम्पिक खेल्ने रहर छ। यो रहर पुरा गर्न आफूले सक्दो मिहिनेत गर्ने उनले बताइन्। स्वर्ण प्राप्त गरेको यो पल उनको जीवनको स्वर्णीम पलमध्येको एक हो। यो पल उनले आमासँग साझा गर्न चाहन्थिन्।  छोरीको सफलतामा आमा कति खुसी हुन्थिन्, होला। सबैले अनुपमाको सफलतालाई तालीले स्वागत गरिरहँदा आमा कतै कुनामा बसेर थपडी मार्थिन् होला। छोरीको सफलतामा दुनियाँ रमाइरहँदा, प्रशंसा गरिरहँदा आमाको छाती गर्वले फुल्दो होला। तर, अफसोश उनकी आमा यो दुनियाँमै छैनन्। सायद कतै छिन्, अनि छोरीको यो सफलतामा मुस्काउँदै होलिन्। अनुपमाले आफ्नो पदक आफ्नी बहिनीलाई समर्पण गर्न चाहेको बताइन्। उनको यो सफलता पछाडिको कथा खोज्दा जनयुद्धसम्म पुग्नुपर्छ। कुनै बेला उनी ग्रिनेड बोकेर देश परिवर्तनको युद्धमा होमिएकी थिइन्। सामाजिक असमानतनाविरूद्ध बन्दुक बोकरे लडेकी थिइन्। गोली र बारूदसँग मितेरी गाँसेकी उनी शान्ति सम्झौतापछि खेल क्षेत्रमा आएकी थिइन्। उनले आफ्नो विगत भूलेकी छैनन्। नत आफ्नो भविष्यप्रति त्यति ठूलो चिन्ता नै छ। ‘संघर्षका पहाड धेरै चढेँ। अझै संघर्ष गर्छु। देशको नाम विश्वभर चम्काउँछु’, उनको सपना यही हो।

तपाईको प्रतिक्रिया