गाईघाट / उदयपुरको उदयपुरगढी गाउँपालिका-६ दनुवारबेसीको तिनटाट्ने पाखो खसेर बैद्यनाथ खोला थुनिंदा सात घर डुबेका छन् । खोला थुनिएर ताल बनिरहेको भन्दै स्थानीयले उद्दारका लागि अपिल गरेका छन् ।
खोला थुनिंदा नेपालटारको तल्लो भेग जलमग्न भएको छ भने घरहरु डुबेको स्थानीय विजय घिमिरेले जानकारी दिए । पाखामा रहेका चारवटा घरहरु समेत पहिरोले बगाएको जनाइएको छ । तर घरमा रहेका मानिसहरु भने सुरक्षित रहेको जनाइएको छ ।
खोला थुनिएपछि गोहिया र बकपतिमा रहेका घरहरु डुबेका छन् । थुनिएको खोला अहिलेसम्म पहिरो नाघेर नबगेका कारण जोखिम बढेको छ । पहिरो नाघेर एकैचाेटी खोलाको बहाव सुरु भएको खण्डमा कटारी नगरपालिकाका दर्जनौं बस्ती बगाउने अनुमान भइरहेको छ ।
पानी जमेर ताल बनेपछि गोहिया, बकपति, लामिदुवाली, सोमबारेमा नदि छेउछाउका बासिन्दाहरुलाई सुरक्षित स्थानमा सार्नुपर्ने स्थानीयले माग गरेका छन् ।खोला थुनिएर बाटोसमेत डुबेपछि उद्दारका लागि सुरक्षाकर्मी जान कठिनाई भइरहेको जनाइएको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया