कृपया यो पेज Like गर्नु होला

गाईघाट । करदाता सेवा कार्यालयले गाईघाटले कर शिक्षा कार्यक्रम सुरु गरेपछि व्यवसाय दर्ता गर्ने संख्यामा बृद्धि भएको छ । जिल्लाका विभिन्न स्थानमा संचालन गरेको कर शिक्षा कार्यक्रमले गर्दा व्यक्ती तथा फर्महरु करमा दर्ता हुने संख्या बढेको हो ।
करशिक्षा कार्याक्रमको प्रभाव स्वरुप चालु आर्थिक बर्षको ९ महिनाको तुलनामा बैशाख र जेठमा मात्र १८ देखि २० प्रतिसत सम्म करदाता थप भएको करदाता सेवा कार्यालयले जनाएको छ । कर अधिकृत बुढाथोकीले कर शिक्षा कार्यक्रमहरु अघि बढाएपछि करको दायमा आउने करदाताको संख्यामा समेत बृद्धि भएको जानकारी दिए । ‘आर्थिक वर्ष ०७५÷०७६ को ९ महिनामा २ हजार ६ सयबाट करदाता थपिएकोमा बैशाख र जेठ महिनामा मात्र ६ सय ८५ करदाता थप भएको छ ।’ कर प्रमुख बुढाथोकीले भने ‘कर शिक्षा कार्यक्रम प्रभावकारी भएका करदाताको संख्या बढेको छ’ ।
उदयपुर जिल्लामा २० हजार ९ सय ७ व्यक्ति तथा फर्महरु कर कार्यलयमा दर्ता रहेर कारोबार गरिरहेको करदाता सेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आयकरमा ९ हजार ६ सय २० वटा फर्म, मुल्य अभिबृद्धि करमा १ हजार १ सय ५३ वटा, अन्त शुल्कमा ९ सय ८० वटा र ९ हजार १ सय ५४ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन ।
जिल्लाको ८ वटा स्थानीय तहहरु मध्ये ६ वटामा करदाता शिक्षा कार्यक्रम संचालन गरिसकिएको र आगामी दिनमा लिम्चुङ्गबुङ्ग र ताप्ली गाउँपालिकामा समेत कर शिक्षा कार्यक्रम सञ्चालन गर्ने कार्यालयको योजना रहेको छ ।
करदाता सेवा कार्यालय गाईघाटका अनुसार कटारीको घुर्मी बजार, रौतामाई गाँउपालिकाको मुकुर्ची, रौता बजार, त्रियुगा नगरपालिकाको साउने, गाईघाट, चौदण्डीगढी नगरपालिकाको बेल्टार, उदयपुरगढीको मुर्कुची बजार लगायतका बजार कर शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो ।
बेलका नगरपालिकाको रामपुरमा शनिबार आयोजना गरिएको कर शिक्षा कार्यक्रममा स्थानीय व्यवसायीहरुको बाक्लो उपस्थिती थियो । कार्यक्रममा कर कार्यालय प्रमुख बुढाथोकीले कुन व्यवसायीले कति कर तिर्ने ? कुन कुन व्यवसाय करको दायरामा आउनु पर्ने भन्ने प्रस्ट पारेका थिए ।
सामान्य किसिमका ब्यबसाय संचालन गर्नका लागि स्थानिय निकायमा सर्बप्रथम इजाजत लिनु पर्ने तथा विशेष किसिमका व्यवसायको हकमा सम्बन्धित निकायबाट इजाजत पत्र लिएर मात्र व्यवसाय संचालन गर्न सकिने नियममा उल्लेख छ ।
हाल आयकर ऐन २०५८ र नियमावली २०५९ अनुसार करका नियमहरु देशमा लागू छन । व्यवसाय संचालनका लागि साना व्यवसायीले प्यान र ठुला व्यवसायीकले भ्याटमा दर्ता हुनुपर्ने प्राबधान ऐनमा रहेको जानकारी गराईएको थियो । कार्यक्रममा नयाँ प्राबधान अनुसार व्यवसायी आफैले युजर आइडी मार्फत कर बिबरण भर्न सकिने तथा बैंक मार्फत आफ्नो कर रकम दाखिला गर्न सकिने ब्यबस्था समेत सुचित गरिएको थियो । कर दाताहरुले करबारे सेवा लिन अब कर कार्यालय धाउनु नपर्ने र घरमै बसी बसी व्यवसाय संचालन गर्न सकिने कर अधिकृत बुढाथोकीले जानकारी गराएका थिए । कार्यक्रममा बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा, बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर भट्टराई, रामपुर उद्योग बाणिज्य संघका अध्यक्ष पर्शुराम अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।
बेलका नगरपालीकाको सभा हलमा सम्पन्न कार्यक्रममा तपेश्वरी, मैनामैनी, कटुन्जे बबला, रामपुर, लालबजार, सुपाडे गुरुचौरीमा व्यापार व्यवसाय गर्ने करिब २०० जना करदाताहरुको उपस्थिती रहेको थियो ।

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया